२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यहड्डीसँग सम्बन्धित समस्याहरू हटाउन यी सरल उपाय

हड्डीसँग सम्बन्धित समस्याहरू हटाउन यी सरल उपाय


उमेर जुनसुकै भए पनि स्वस्थ शरीरका लागि बलियो हड्डी आवश्यक हुन्छ । क्याल्सियम बाहेक, हाम्रो हड्डी धेरै प्रकारका खनिजहरू मिलेर बनेको हुन्छ । अनियमित जीवनशैलीका कारण वा बढ्दो उमेरका कारण यी खनिजहरू कम हुन थाल्छन् । हड्डी कमजोर हुन थाल्छ । बिस्तारै बिरामी काम गर्न असमर्थ हुन्छ ।

सामान्य चोटपटकले पनि भङ्ग हुने सम्भावना बढाउँछ । हर्मोनको सन्तुलन बिग्रने, असन्तुलित खानपान र बढ्दो उमेरका कारण पनि हड्डी कमजोर हुन्छ । तर यदि उचित हेरचाह गरियो भने, हड्डी कमजोर हुनबाट जोगाउन सकिन्छ । त्यसैले सतर्क रहनुहोस् ।

कम्मर वा जोर्नी दुख्नु, सामान्य चोट लागे पनि हड्डी भाँच्नु, लगातार असह्य पीडा हुनु, थिच्दा हड्डीमा कोमलता र दुखाइ यी सबै अस्टियोपोरोसिसका लक्षण हुन् । यो हड्डीको यस्तो समस्या हो, जसका कारण हड्डी बिस्तारै कमजोर हुँदै जान्छ । सुरुमा थाहा हुँदैन । भाँचिएको अवस्थामा मात्रै पत्ता लगाउन सकिन्छ । यस्ता लक्षण देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनुपर्छ ।

बच्चाहरूलाई बचाउनुहोस्
नवजात शिशुदेखि बढ्दो बच्चाहरूसम्म क्याल्सियमको आवश्यकता बढी हुन्छ । हड्डी बलियो बनाउन भिटामिन डी आवश्यक हुन्छ । यसको कमीले बालबालिकामा रिकेट्स र स्कर्भी जस्ता रोग लाग्न सक्छ । साना बालबालिकाको हात खुट्टा बाङ्गो हुनु र ठुलो निधार हुनुले भिटामिन डीको कमी देखाउँछ । सूर्यको किरण भिटामिन–डीको सबैभन्दा राम्रो स्रोत हो । बच्चाहरूलाई सीमित राख्नुको सट्टा बाहिर खेल्न प्रोत्साहन दिनुहोस् । बच्चाहरूलाई जंक फूड दिनु हुँदैन  र तिनीहरूलाई दैनिक रूपमा दूध खुवाउनु पर्छ ।

महिलामा पनि देखिन्छन् यसको समस्या 
महिलालाई बढी क्याल्सियम चाहिन्छ । रजोनिवृत्ति पछि, उनीहरूको हड्डी कमजोर हुन थाल्छ । ओस्टियोपोरोसिसजस्ता रोगमा उमेरसँगै हड्डीहरू नरम हुन्छन् । यो समस्यासँग लड्न नियमित व्यायाम गर्नुका साथै महिलाहरूले आफ्नो आहारमा डाइ फ्रुट्स, दूध, हरियो सागसब्जी र क्याल्सियम सप्लिमेन्ट समावेश गर्नुपर्छ । लापरबाहीले मेरुदण्डलाई असर गर्न सक्छ । मध्यम उमेरका र सुत्केरी महिलाले यी कुरामा विशेष ध्यान दिनुपर्छ ।

युवाहरू पनि अछुतो छैनन्
२० देखि ३५ वर्ष उमेर समूहका युवाहरू पनि हड्डीसम्बन्धी रोगको सिकार भइरहेका छन् । घरभित्रको काम, असन्तुलित जीवनशैली, खानपान, धूम्रपान र मदिराको सेवन आज जीवनको अभिन्न अङ्ग बन्दै गएको छ । शारीरिक गतिविधि र व्यायामको कमीले मांसपेशीहरू कमजोर हुन थाल्छ र हड्डीहरू संवेदनशील हुन थाल्छन् । विशेष गरी मेरुदण्ड सबैभन्दा बढी प्रभावित हुने भएकाले युवामा स्लिप डिस्कको समस्या देखिने गरेको छ । ढाड दुख्ने कुरा सामान्य भइसकेको छ ।

बुढेसकालमा दुखाइ
काँध, कम्मर वा घुँडा; जोर्नी दुख्ने समस्या वृद्ध वृद्धालाई बढी हुने गरेको छ । धेरै मानिसहरू आर्थराइटिसका बिरामी छन् । गठिया एक आनुवंशिक रोग हो, जसलाई नियन्त्रणमा राख्नु धेरै महत्त्वपूर्ण छ, किनकि यसले शरीरका अन्य भागहरूलाई पनि असर गर्न सक्छ । दैनिक व्यायामलाई प्राथमिकता दिनुहोस् र सम्भव भएमा कम्तीमा दुई किलोमिटर हिँड्ने प्रयास गर्नुहोस् ।

जैतुनको तेलको प्रयोग गर्नुहोस्
जैतुनको तेलले तपाईँको हड्डीको लागि सुरक्षा कवचको रूपमा काम गर्न सक्छ । एक नयाँ अनुसन्धानले दुई वर्षसम्म फलफूल, तरकारी र जैतुनको तेलयुक्त खानेकुरा खाँदा हड्डी बलियो हुने देखाएको छ । जैतुनको तेल खानु पनि उमेरसँगै बढ्दो अस्टियोपोरोसिसको जोखिमलाई कम गर्न सहयोगी मानिएको छ ।

एजेन्सीको सहयोगमा


क्याटेगोरी : जनस्वास्थ्य, टिप्स



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ