२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमुख र श्वास किन गन्हाउँछ ? कसरी पाउने छुटकारा ?

मुख र श्वास किन गन्हाउँछ ? कसरी पाउने छुटकारा ?


मुख तथा श्वास गन्हाउने समस्या धेरैमा हुने हुन्छ । श्वास गन्हाउने एउटा रोग मात्र होइन्, यसले गर्दा आत्मविश्वासमा पनि आँच आउन सक्छ । कोही बोल्दा हाँस्दा कोहीसँग नजिकै बस्दा आफ्नो श्वास गन्हाइरहेको छ कि भन्ने मनमा लाग्न सक्छ । त्यसले गर्दा अप्ठ्यारो महसुस भएर मानसिक तनाव हुन सक्छ ।

श्वास गन्हाउने समस्या किन हुन्छ त ? कुनै न कुनै खाने कुरा जस्तैः प्याज, लसुन, मुला, खाँदा श्वास गन्हाउँछ । यो समस्या नै होइन् । यस्तो समस्या साधारणतयाः केही बेर वा एक दुई दिनमा हराउँछ । तर, प्याज, लसुन, मुलाजस्ता खानेकुराहरु नखाँदा पनि श्वास गन्हाउनुलाई शारीरिक समस्याको रुपमा लिइन्छ ।

  • दाँतमा किरा लागेको छ भने श्वास गन्हाउन सक्छ ।
  • गिजाको भागमा फोहोरहरू जम्मा भएर गिजा पाकेको अवस्थामा श्वास गन्हाउने गर्छ ।
  • जिब्रोमा काइ लागेर जम्मा (एक्युमुलेट) भएको छ भने श्वास गन्हाउँछ ।
  • पेटको समस्या (जस्तैः ग्यास्ट्रिक), पिनास, टन्सिल छ भने पनि श्वासबाट दुर्गन्ध आउन सक्छ ।
  • मुख सुख्खा हुने रोग जसलाई xerostomia भन्छौं त्यसमा हाम्रो थुक थोरै मात्रमा उत्पादन हुन्छ । यसका कारण पनि मुख गन्हाउने समस्या हुन सक्छ ।

श्वास गन्हाउने समस्याबाट कसरी छुटकारा पाउने ?

  • दन्त चिकित्सक कहाँ गएर मुख स्वास्थ्यको परीक्षण गराउने ।
  • कम्तीमा वर्षमा एक पटक दन्त चिकित्सकको गएर स्केलिंङ मेसिनबाट दाँत सफा गराउने ।
  • दाँत किराले खाएको छ भने चाँडोभन्दा चाँडो दन्त चिकित्सक कहाँ गएर दाँत भर्ने ।
  • दिनमा दुई पटक राम्रोसँग ब्रस गर्ने ।
  • ब्रस गर्दा जिब्रो पनि सफा गर्ने ।
  • पानी प्रशस्त पिउने ।
  • फाइबरयुक्त खानेकुरा र भिटामिन ‘सी’ पाइने खानेकुराहरु खाने ।

मुख तथा श्वास सम्बन्धि समस्या हुँदा अन्य रोगको जोखिम कति हुन्छ ?

हामीलाई मुख तथा सास सम्बन्धि समस्या छ भने बेलैमा यसको उपचार गर्नुपर्छ नत्र हामी अन्य रोगले ग्रसित हुन सक्छौं ।

सामान्य किरा लागेको दाँतको बेलैमा उपचार गरेनौ भने मुख सुनिने, इन्फेक्सन फैलिने, मुख खोल्न नसकिन अवस्था आउन सक्छ ।

दाँत र गिजामा फोहोर जमेको छ तर बेलैमा त्यसलाई सफा गराएनौं भने दाँतहरु हल्लिने, दाँत निस्किने, इन्फेक्सन हुने, श्वास गन्हाउने, ब्रस गर्दा गिजाबाट रगत आउनेजस्ता समस्याहरु आउँछन् ।

कस्तो दिनचर्या वा खानपान अपनाउँदा श्वास गन्हाउने समस्याबाट टाढा रहन सकिन्छ ?

  • दिनको दुईपटक ब्रस गर्ने ।
  • ब्रस गर्दा जिब्रो पनि सफा गर्ने ।
  • बेला—बेलामा आफ्नो मुखको स्वास्थ्य परीक्षण गराउने ।
  • कम्तिमा वर्षमा एक पटक अथवा सकिन्छ भने ६ महिनामा एक पटक दन्त चिकित्सकको गएर दाँत सफा गराउने ।
  • गुलियो खानेकुराहरु कम गर्ने । गुलियो खानेकुराहरु खाएपछि कुल्ला गर्ने बानी बसाल्ने ।
  • फाइबरयुक्त खानेकुरा र भिटामिन ‘सी’ भएका खानेकुराहरुले दाँतका लागि फाइदा गर्छ ।
  • प्रशस्त मात्रामा पानी पिउने ।
  • काब्र्रोनेटेड ड्रिङ्स दाँतका लागि हानिकारक भएकाले नखाने ।
  • धुम्रपान मद्यपान नगर्ने ।

यसबाहेक जिब्रोमा आउने घाउहरुले पनि कहिलेकाही हामीलाई सताइरहेको हुन्छ । जिब्रोमा घाउ कसरी आएको हो ? कुन खालको हो भनेर जान्न जरुरी हुन्छ । त्यसका लागि पहिले चिकित्सकलाई देखाउन आवश्यक हुन्छ । शरीरलाई चाहिने खानेकुराहरूको कमी, तनाव, ग्यास्ट्रिक वा पेटको अन्य समस्याका कारण आएको समस्या हो भने त्यो विस्तारै १ देखि २ हप्तामा विस्तारै कम हुँदै जान्छ ।

सूर्तिजन्य पदार्थहरु सेवन गरेका कारण आएको घाउ हो भने त्यसमा डराउनुपर्ने हुन्छ । त्यो बेला चाँडोभन्दा चाँडो चिकित्सक कहाँ गएर परामर्श लिनुपर्ने हुन्छ । यस्ता घाउँहरु पछि गएर क्यान्सर हुन सक्ने पनि हुन सक्छन् ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ