२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यभिडियो रिपोर्टः किन झर्छ कपाल ? कसरी गर्न सकिन्छ उपचार ?

भिडियो रिपोर्टः किन झर्छ कपाल ? कसरी गर्न सकिन्छ उपचार ?


साधारणतयाः हाम्रो एक दिनमा ५० देखि १०० वटा कपाल झर्छ । यदि त्यो भन्दा बढी कपाल झरेको अनुभव भएमा वा आफूलाई सामान्यभन्दा बढी कपाल झरेको महसुस भएमा छाला रोग विशेषज्ञ कहाँ गएर देखाउनुपर्ने हुन्छ ।

कपाल झर्ने कारण

कपाल झर्ने कारणहरुमध्ये सबैभन्दा प्रमुख कारण ‘एन्ड्रोजेनेटिक एलोपेसिया’ हो । यो चाहिँ कपाल झर्ने समस्या लिएर आएकामध्ये लगभग ५० जना महिलामा यो समस्या देखिन्छ भने ८० प्रतिशत पुरुषहरुमा यो समस्या देखिन्छ ।

पुरुषहरुको जुन एन्ड्रोजेनेटिक एलोपेसिया हो, त्यसलाई हामी साधारण भाषामा तालुपना भन्दछौं । तालुपना सुरु—सुरुमा टाउकोको अगाडिपट्टीको हेयरलाइन पछाडि हुँदै जान्छ । त्यस्तै, टाउको दायाँ बायाँबाट पनि कपाल पछाडि सर्दै जान्छ, जसलाई हामी ‘टेम्पोरो पराइटल रिसेसन’ भन्छौं ।

तालुको माथिल्लो भाग जसलाई हामी टुप्पी भन्छौं, त्यहाँको कपाल पनि पातलिँदै जान्छ । अगाडिको भागमा पछि गएर चिल्लैजस्तो देखिन्छ भने पछाडिको भाग जसलाई ‘अक्सिपेटल’ भनिन्छ, त्यहाँको कपाल भने रहिरहन्छ ।

‘एन्ड्रोजेनेटिक एलोपेसिया’मा फिमेल प्याटर्न हेयर लस छुट्टै प्रकृतिको हुन्छ । महिलाहरुमा फरक तरिकाले कपाल झर्ने हुन्छ । महिलाहरुको अगाडिको भागको कपाल भने रहिरहने हुन्छ । तर, बीचको तालुको भागमा चाहिँ कपाल पातलिदैं जान्छ । पछाडिको भागमा पनि त्यसै गरी बाक्लो रहिरहन्छ । यो कारण सबैभन्दा मुख्य कारणमा पर्दछ ।

फिमेल प्याटर्न हेयर लस किन हुन्छ ? अरु केही कारण जोडिएका छन् कि छैनन्? भन्ने कुरा बुझ्न जरुरी हुन्छ । फिमेल प्याटर्न हेयर लस भएको महिलाहरुमा हाइपर एन्ड्रोजेनिज्म अर्थात् एन्ड्रोजन भन्ने हर्मोनको मात्रा बढी देखिएको पाइएको छ । यो धेरै कारणले हुनसक्छ । पिसिओएस, ओभरियन ट्युमर, एड्रिनल ट्युमर, हाइपर प्रोल्याक्टिनेमियाजस्ता कारणहरुले पनि हाइपर एन्ड्रोजेनिज्म गराउन सक्छ ।

त्यो बाहेक यस्तो समस्या हुने महिलाहरुमा डन्डीफोर बढी आउने, कपाल नचाहिने अंग जस्तैः गाला, चिउँडो, छाती, पेटमा, खुट्टामा बाक्लो कालो रौं आउनेजस्ता लक्षणहरु देखिन्छ । त्यस्ता समस्या आउने बित्तिकै तुरुन्तै छाला विशेषज्ञ कहाँ देखाउनुपर्छ । छाला विशेषज्ञहरुले त्यस सम्बन्धी धेरै रगत परीक्षणहरु गराउँछन् र त्यसअनुसार नै उपचार अघि बढ्छ ।

कपाल झर्ने दोस्रो प्रमुख कारणमा ‘टेलोजेन एफ्लोभिएम’ आउँछ । यो चाँही कुनै इन्फेक्सन जस्तैः टाइफाइड, मलेरिया, टिबी, डेंगु, कोभिडपछि पनि कपाल झर्ने समस्या देखिन्छन्, जसलाई हामी ‘टेलोजेन एफ्लोभिएम’ भन्छौं । उच्च ज्वरोका कारण, ट्रमा, ठूला सर्जरीका कारण पनि कपाल झर्ने गर्दछ, त्यसलाई हामी ‘टेलोजेन एफ्लोभिएम’ भन्दछौं । कुनै औषधिको सेवन जस्तैः थाइराइडसम्बन्धी समस्याका औषधिहरु, हर्मोनल गर्भनिरोधक चक्की, प्रेसरको औषधी, छारे रोग सम्बन्धी औषधी तथा डिप्रेसनसम्बन्धी औषधिहरुको सेवन गरिराख्नुभएको छ भने पनि कपाल झर्ने गर्दछ ।

न्युट्रिनल अर्थात भिटामिनको कमीले पनि कपाल झर्ने गर्दछ । जस्तैः भिटामीन डी, बी१२, बी२, जिंक, आइरनको कमी यस्तो छ भने पनि कपाल झर्ने गर्दछ । किटो तथा अन्य किसिमका डाइटिङ गर्दा पनि पोषणको कमी हुन जान्छ र कपाल झर्न थाल्छ ।

साधारण फिजियोलोजिकल कारणले पनि कपाल झर्ने गर्दछ जस्तैः गर्भावस्थापछि पनि झर्छ । यसलाई हामी पोष्टपार्टम टेलोजिएन एफ्लोभिएम पनि भन्दछौं । महिलाहरुको बच्चा जन्मिएको दुईदेखि तीन महिनापछि कपाल झर्ने गर्दछ । त्यसमा पनि पहिलो बच्चा हुँदा धेरै झर्ने देखिन्छ भने दोस्रो, तेस्रो हुँदा अलि कम झर्ने देखिन्छ । २/३ महिनाका बच्चामा पनि कपाल झर्ने समस्या देखिन्छ । उनीहरुको टाउकोको पछिल्लो भाग अर्थात अक्सिपिटल भागको कपाल झरेको देखिन्छ, त्यो पनि सामान्य कारण हो ।

त्यस्तै, तेस्रो सामान्य कारण भनेको एलोसेपिया एरियाटा हो । यसलाई सामान्य भाषमा किराले खाएको पनि भन्ने गरिन्छ । हेर्दाखेरी टाउकाको एउटा गोलो भागमा कपाल हुँदैन । कतै कपाल काट्न जाँदा या कसैले कपाल कोरिदिँदा याद गर्ने गर्नुहुन्छ । यो एक अटो इम्युन समस्या हो अर्थात यो समस्या देखिएको छ भने अन्य अटो इम्युन रोगहरु जस्तैः थाइराइड, दुबी, सुगर, जोर्नीसम्बन्धी समस्या हुनसक्छ । त्यो देखिएको खण्डमा घरेलु उपचारको साटो नजिकैको छाला रोग विशेषज्ञ कहाँ गएर देखाउनु राम्रो हुन्छ ।

कसरी गर्ने उपचार ?

हामीले माथि भनेका कपाल झर्ने कारणहरुले दीर्घकालीन रुपमा असर गर्दै कपाल झरेपछि पुनः आउँछ । तर, कहिलेकाहीँ अरु कारण पनि हुन्छन्, जसका कारण कपालको जरामा खत बस्छन् र हेर्दाखेरि चिल्लो टल्केको देखिन्छ र जराहरु देखिँदैन् । त्यस्तो अवस्थामा तुरुन्तै छाला रोग विशेषज्ञ कहाँ देखाउन जरुरी हुन्छ किनकी त्यस्तो खत बसेपछि त्यहाँ कपाल उम्रिदैन् र जति छिटो हामीले कारण पत्ता लगाउन सक्छौं त्यति छिटो नै उपचार गर्न र त्यो रोगलाई बढ्नबाट रोक्न सकिन्छ ।

उपचारको कुरा गर्दा चाहिँ हामीले बजारमा माइनक्सिीडील लोसन पाउँदछौं । यो लोसन पुरुषहरुमा ५ प्रतिशत १ एमएलका दरले बिहान बेलुका लगाइन्छ र महिलाहरुमा ५ प्रतिशत दिनमा एक चोटी वा २ प्रतिशत बिहान बेलुका लगाइन्छ । त्योबाहेक पुरुषहरुमा फिनास्टेराइड, ड्युटास्टेराइडजस्ता औषधिहरु पाइन्छन्, जसले मूल कपाल झर्ने कारण (तालुपना)लाई समाधान गर्दछ । यो महिलाहरुमा प्रयोग गरिँदैन् ।

त्यो बाहेक अरु धेरै उपचार पद्धती हामी प्रयोग गर्दछौं जस्तैः प्लेटलेट रिच प्लाज्मा थेरापी (पिआरपी), यसमा तपाईंको आफ्नै रगत लिएर मेसिनमा राखेर पिआरपी भन्ने तत्व छुट्याइन्छ र जरामा हालिन्छ, यसले जराहरुको वृद्धिलाई बढाउँछ र केही असर गर्दैन् ।

अर्को उपचार भनेको लो लेवल लेजर थेरापी (एलएलएलटी) यो एक किसिमको लेजर हो । यसमा लेजरलाई कपालको जराहरुमा हालेर कपालको जराहरु उमार्न सहयोग गर्दछ ।

माइक्रोनिड्लिङ भन्ने अर्को उपचार पनि हुन्छ । जसमा हामी कपाललाई मसिनो खालको घाउहरु बनाउँछौँ र जब ती घाउहरु निको हुन खोज्छन् र त्यहाँ ग्रोथ फ्याक्टरहरु उत्पन्न हुन्छन् र त्यसले पनि कपाललाई उम्रन मद्धत गर्दछ ।

कहिलेकाहीँ हामी भिटामिनहरु पनि दिन्छौं किनकी धेरै भिटामिनको कमीले गर्दा पनि कपाल झर्छ । भिटामिन सप्लीमेन्टले पनि केही हदसम्म कसै—कसैको कपाल झर्नबाट रोक्न मद्धत गर्छ । औषधिहरु सेवनका कारणले भएको कपाल झर्ने समस्या रोक्न भने औषधिहरु नै परिवर्तन गर्नुपर्ने हुन्छ ।




क्याटेगोरी : जनस्वास्थ्य, भिडियाे



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ