२०८१ मंसीर २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यकोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर

कोशी अस्पतालको ढल नालामा प्रकरणः पत्र काटेर झारो टार्दै महानगर


विराटनगर–सडकको नालामा ढल मिसाउनेबाट लाखौं रुपैयाँ जरिवाना असुल्दैं आएको विराटनगर महानगरपालिका कोशी अस्पतालप्रति उस्तै प्रकृतिको घटनामा भने पत्र काटेर झारो टार्ने काम मात्रै गरेको छ । विराटनगरको गोल्डेन अस्पताल र मोर्डन एरा स्कुलले नालामा ढल मिसाएको आरोपमा ५० हजार रुपैयाँसम्म जरिवना गरेको महानगरपालिकाले कोशी अस्पतालको हकमा सुधारको लागि पत्र लेखेर झारो टार्ने काम गरेको हो ।

त्यो पनि हेल्थआवाजमा शौचालयको ढल नालामा हाल्ने कोशी अस्पताललाई कारवाही गर्न महानगर उदासीन भनेर समाचार प्रकाशित गरेको थियो । त्यसपछि विराटनगर महानगरपालिकाले कोशी अस्पतालको शौचालयबाट निस्किने फोहोर व्यवस्थापनको लागि २० दिनको समयसीमा दिएको छ । महानगरपालिकाले पत्र लेखेर मंसिर मसान्तसम्म अस्पतालबाट निस्किने फोहोर व्यवस्थापन नभए फोहोर मैला व्यवस्थापन कार्यविधि–२०८१ बमोजिम कारवाहीको प्रक्रिया अगाडी बढने जानकारी गराएको हो ।

‘कोशी अस्पतालको फोहरमैला तथा शौचालयबाट निस्कने फोहोरका विषयमा विभिन्न संचारमाध्यमले समेत विषय उठान भएको हुँदा अस्पतालबाट निस्कने विविध प्रकारका फोहर तथा शौचालयबाट निस्कने फोहर व्यवस्थापन गर्न र नाला तथा सार्वजनिक स्थानमा विषर्जन नगर्न/नगराउन अनुरोध गर्दछु । अतः २०८१ मंसिर मसान्त सम्ममा दुवै प्रकारका फोहोर व्यवस्थापन नभएमा फोहोर मैला व्यवस्थापन कार्यविधि–२०८१ बमोजिम कारवाहीको प्रक्रिया हुने व्यहोरासमेत अनुरोध छ,’ महानगरपालिकाले अस्पताललाई काटेको पत्रमा उल्लेख छ ।
महानगरपालिकाका प्रमुख नागेश कोइराला सञ्चालक समितिका सदस्य भएकै कारण कोशी अस्पतालले कयौं महिनादेखि सडक नालामा शौचालयको फोहोर बगाउँदा कुनै कारवाही गर्न चासोसमेत देखाएको थिएन । महानगरपालिकामा शौचालयबाट निस्किने फोहरजन्य वस्तुको अनुगमन वातावरण तथा विपद् व्यवस्थापन समिसतले गर्दछ ।

यसअघि अनुगमनको क्रममा शौचालयजन्य फोहोर नालामा सिमाएको भेटिए सम्बन्धित निकायलाई सिधैँ जरिवना गर्दै आएको छ । तर, विराटनगर महानगरपालिकाले दोस्रो पटक भन्दै पत्र काट्दा कर्मचारी पनि आश्चर्यमा परेको बताए । ‘शौचालय जन्य फोहोर सिधैँ नालामा हाल्दा यसअघि ५० हजारभन्दा बढी जरिवाना गरिएको छ । गत वर्षमात्रै मोर्डन एरालाई ४५ हजार रुपैयाँ जरिवाना गरिएको छ । अनुगमनको क्रममा कोशी अस्पतलाले शौचालयजन्य फोहोर नालामा हालेको भेटिएपछि यसअघि नै सचेत गराएको थियो । अहिले तत्काल जरिवना गर्नुपर्नेमा समयसीमा दिएर सुधारको पत्र लेख्नुपर्ने जरुरी नै थिएन,’ महानगरपालिकाका एक जना कर्मचारीले भने ।

अस्पतालको यस्तो लापरवाहीविरुद्ध भने विराटनगर महानगरले कुनै कारवाही नगरी उन्मुक्ति दिँदै आएको छ । कोशी अस्पतालमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला पदेन सञ्चालक समिति सदस्य छन् । सोही कारणले मानव स्वास्थ्यमा गम्भीर असर हुने गरी अस्पतालको शौच नालामा हालेको जानकारी पाएर पनि महानगरले कारवाही गर्नुको साटो झारो टार्ने पत्र लेख्ने गरेको छ ।

यस विषयमा विराटनगर महानगरपालिका सरसफाइ महाशाखाका प्रमुख पुनम दाहालले दुई दिनभित्रमा अस्पतालको शौचालयबाट निस्किने फोहोरजन्य वस्तुको व्यवस्थापन नगरे कारवाही गरिने बताए । ‘समाचार आएपछि अस्पतालको मंगलबार आकस्मिक बैठक बसेको छ । दीर्घकालीन रुपमा समस्या सावधान गर्ने भनिएको छ । फेरि पनि अनुगमन गर्दा नालमा शौचालयजन्य फोहोर मिसाएको भेटिए जरिवाना गरिनेछ,’ उनले भने ।

अस्पतालभित्रको विभिन्न भवनमा रहेको शौचालयको दिसा पिसाब सिधैँ सडक नालामा बगाउँदा जनस्वास्थ्यमा असर परिरहेको छ । सडक दुर्गन्धित हुनुका साथै विभिन्न संक्रमणहरु फैलिनाले स्थानीय र सेवाग्राहीहरु प्रभावित भइरहेका छन् । कोशी अस्पतालमा करिब आधा दर्जन संख्यामा रहेको भवनमा जोडिएका १० वटा सेफ्टी ट्यांकी छन् । जसमध्ये आकस्मिक कक्ष, मेडिकल भवन, हाडजोर्नी तथा नसा रोग विभाग र आईसीयु रहेको भवनका शौचालयबाट निस्किएको दिसा पिसाब सिधैँ सडकको नालामा बगाइने गरिएको छ ।

आकस्मिक कक्षदेखि पछाडितर्फ र कोशी अस्पतालको क्यान्टिन भएको ठाउँबाट करिब पाँच मिटर पश्चिमको नालामा शौचालयको फोहोर मिसाउने गरेको पाइएको हो । जनस्वास्थ्यलाई गम्भीर असर पर्ने दिसाजन्य फोहोर नालामा फाल्दा अस्पताल परिसर र बाहिरी वातावरण प्रदूषित छ । सरसफाइ र त्यसका लागि नियुक्त गरिएका सफाइ कर्मचारीका लागि वार्षिक दुई करोड रुपैयाँभन्दा बढी खर्च गरिरहेको अस्पतालले दिसा, पिसाब व्यवस्थापनका लागि मात्र वर्षेनी लाखौं रुपैयाँ खर्च गर्दै आएको छ ।

तर, सेफ्टी ट्यांकी सफाइका लागि कति खर्च भएको छ भन्ने विवरण भने अस्पतालले उपलब्ध गराएको छैन । दैनिक ३ हजारभन्दा बढी बिरामी, कुरुवा र कर्मचारीहरुको उपस्थिती हुने अस्पतालबाट निस्किने दिसाजन्य फोहोर बगाउन विराटनगर महानगरपालिकाको व्यवस्थित ढल प्रणाली कोशी अस्पतालसम्मै पुगेको छ ।


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ