२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यप्रा.डा. सविना भट्टराईको सल्लाहः यसरी गर्न सकिन्छ जाडोमा छालाको सुरक्षा

प्रा.डा. सविना भट्टराईको सल्लाहः यसरी गर्न सकिन्छ जाडोमा छालाको सुरक्षा


शरीरमा कुनै पनि किसिमका रोगहरु लागेमा यसको प्रतिक्रिया छाला, नङ र कपालबाट पनि थाहा पाउन सकिन्छ । तसर्थ शरीरको बाहिरी भागमा रहने छालालाई शरीरको ऐनाको रुपमा पनि लिइन्छ । छाला हाम्रो स्वास्थ्यसँग मात्र नभई सौन्दर्य र व्यक्तित्वसँग पनि जोडिएको हुन्छ । त्यसैले हामीले सदैव यसको विशेष ध्यान राख्नु पर्दछ ।

जाडोमा छालाको स्याहार गर्नुपर्ने हुन्छ । अधिकांश व्यक्तिलाई जाडोमा छाला सम्बन्धि विभिन्न समस्याहरु देखा पर्ने हुन्छ । उनीहरुमा विशेषगरी छाला सुख्खा हुने, फुस्रो देखिने, फुट्ने र चिलाउनेजस्ता समस्याहरु देखा पर्छन् । तसर्थ, यस्ता समस्याहरु नदेखियोस् भन्नका निमित्त अन्य समयभन्दा यस समयमा फरक किसिमले आफ्नो छालाको हेरचाह गर्नु पर्दछ ।

कारणहरु

जाडोयाममा हावामा आद्रताको कमी हुने भएकोले हावा सुख्खा हुने गर्छ । जसको प्रभाव शरीरमा पनि देखा पर्दछ । यस्ता समस्या देखा पर्नुको अन्य मुख्य कारणहरुः

  • शरीरमा पानीको कमी हुनु
  • तातो पानीले नुहाउनाले
  • एसी र हिटरको बढी प्रयोग
  • छालालाई सुख्खा तथा खुल्ला राख्नाले
  • रसायनयुक्त साबुन तथा क्रिमहरुको प्रयोग
  • उचित खाद्यान्नको अभाव
  • थाइराइड तथा मधुमेह रोगका कारण ।

कसरी गर्ने जाडोमा छालाको हेरचाह 

जाडोयाममा हामीले गर्ने विभिन्न क्रियाकलापकै माध्यमबाट पनि छालाको उचित केयर गर्न सकिन्छ । यसको निमित्त सर्वप्रथम हामीले छालालाई सुख्खा हुन नदिन छालाको प्रकृतिअनुसारको क्रिम तथा लोसनहरुको प्रयोग गर्नुपर्दछ ।

यसका लागि छाला सुख्खा हुनेहरुले बढी पानी भएको लोसन तथा क्रिमहरुको प्रयोग गर्नुपर्छ भने ओइली स्कीन हुनेहरुले जेल बेस मोस्चराइजर क्रिमहरुको प्रयोग गर्नुपर्दछ । यसबाहेक जाडो महिनामा अधिकांश व्यक्तिहरुले पानी कम पिउँछन् । यस समयमा अधिकांश व्यक्तिहरु आफ्नो प्रायजसो समय एसी तथा हिटरहरुमा बिताउने भएकाले यस्तो क्रियाकलापले पनि हाम्रो शरीरको पानी सोस्छ । जसबाट पनि छाला सुख्खा हुन जान्छ । र, यस्तो हुन नदिनको निमित्त पनि हामीले शरीरलाई आवश्यक पानी प्रशस्त मात्रामा पिउनु पर्दछ । तर, धेरैजसोले जाडोयाममा पानी धेरै खान रुचाउँदैनन् । तसर्थ, उनीहरुले भने पानीको सट्टामा समय समयमा ग्रीन टी, लेमन टी र अन्य घरेलु सुपहरु पिउनाले पनि पानीको कमी पूरा गर्न सक्छन् ।

जाडोमा देखिने अर्का समया छाला फुट्ने तथा चिलाउने पनि एक हो । यसो हुन नदिन हामीले आफूले प्रयोग गर्ने साबुन परिवर्तन गरी रसायनहिन तथा लाइट साबुनको प्रयोग गर्दै युरियायुक्त मोस्चराइजर क्रिमको उपयोग गर्नु पर्दछ । र, शरीरमा सिधै ऊनजन्य कपडाले छुदा यसले शरीर चिलाउने र फुस्रो बनाउने भएकोले हामीले शरीरको भित्री भागमा प्रकृतिकजन्य कटनको कपडा लगाई शरीरको सन्तुलन मिल्ने मनतातो पानीले शरीर पखाल्नु पर्दछ ।

हामी जाडोबाट जोगिनको निमित्त घाम पनि ताप्ने गर्छाै । तर, चर्किएको घाम सिधै हाम्रो छालामा पर्दा यसले डढाउने र छिट्टै चाउरी पार्दछ । यसको निम्ति हामीले प्रत्येक ३÷४ घण्टामा हाई एसपीएपको सनब्लक क्रिमको प्रयोग गरी छाला ढाकेर मात्रै घाम ताप्नु पर्दछ ।

मधुमेह र थाइराइडका बिरामीको शरीर जाडोयाममा झन् बढी सुख्खा हुने भएकोले उनीहरुले पनि बढी मोस्चराइजर भएको क्रिमको प्रयोग गर्नुपर्दछ । यसका साथै शरीर सुख्खा नहोस् भन्नका लागि यस्ता बिरामीले ओमेगा माछा तथा माछाको तेल, एभोकाडो, सुन्तला, अमला, गाँजर, गोलभेडा र भोगटेजस्ता भिटामिन ए र सी पाइने खानाहरु खादा पनि यसले उनीहरुको शरीरलाई फाइदा पुर्‍याउँछ ।

प्रस्तुतीः सृजना मगर 


क्याटेगोरी : जनस्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ