२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यसर्ने/नसर्ने रोगएक्कासी पेट दुख्नु पित्तथैलीमा पत्थरीको संकेत हो

एक्कासी पेट दुख्नु पित्तथैलीमा पत्थरीको संकेत हो


डा. विधाननिधि पौडेल

बरिष्ठ  ग्याष्ट्रोलोजिष्ट्र, वीर अस्पताल

हाम्रो शरीरमा हुने पत्थरी सामान्यतया दुई प्रकारको हुन्छ । त्यसमध्ये पित्तथैलीको पत्थरी एक हो । पित्त थैली हाम्रो शरीरमा लिभरसँगै तल्लो भागमा टाँसिएको हुन्छ । त्यहाँ पित्त बग्ने विभिन्न नली पनि हुन्छन् । र, त्यसमा लाग्ने रोग नै पित्तथैलीको पत्थरी हो ।

४० वर्ष नपुगेका पुरुषको तुलनामा सोही उमेर समूहका महिलामा यो रोग लाग्ने सम्भावना तीन गुणा बढी रहन्छ । चालिस वर्ष नपुगेका महिलाहरुको शरीरमा पाइने अत्याधिक कोलेस्ट्रोल, गर्भावस्थाको समय र व्रत तथा आफ्नो तौल घटाउने नाममा खाली पेट बस्दा तुलनात्मक रुपमा उनीहरु यो रोगको शिकार हुने गर्दछ । चालिस वर्षपछि भने महिला र पुरुष दुवैमा समान रुपमा कोलेस्ट्रोल रहने भएकोले सो अवधिमा यो रोगको सम्भावना दुवैमा समान रहन्छ । एक अध्ययनअनुसार, सय जनामध्ये सातदेखि पन्ध्र प्रतिशत मानिस यो समस्याबाट पिडित भएको पाइन्छ ।

हाम्रो शरीरमा पित्त कलेजोमा बन्ने गर्दछ । उक्त पित्त बनेपछि पित्तथैलीमा आउने क्रममा पित्तमा भएको कोलस्ट्रोल, बायल्स साल्ट र फस्पालिपिट पदार्थ एक आपसमा मिल्छ । बायल्स साल्ट र फस्पालिपिटले कोलेस्टोरलाई जम्न नदिई तरल बनाइ राखिराख्छ । हामीले खाना खाए पछि हाम्रो पित्तथैली खाली हुनु पर्दछ । क्याल्सियम फसफोरेट, क्यााल्सियम बायोकार्वाेनेट र क्यााल्सियम साल्टका कारण ढुङ्गाहरु बन्न थाल्छन् । र, तिनै ढुङ्गाहरु सानो सानो गरी जम्दै त्यसले पत्थरीको रुप लिन्छ । ती ढुङ्गाहरुमध्ये दशदेखि पन्ध्र प्रतिशत पित्तनलीमा झरेर जान्छन । ढुंगाले पित्तनलीमा अबरोध गर्दा व्यक्तिमा ज्वरो र जन्डिस समेतको संक्रमण देखिन्छ ।

पत्थरी पनि विशेषत कोलेस्ट्रोल स्टोन र पिगमेन्ट स्टोन गरी दुई प्रकारको हुन्छ । कोलेस्ट्रोल पत्थरीमा स्टोन सेतो कलरमा हुन्छ भने, पिगमेन्ट पत्थरीमा स्टोन विशेषतया कालो र खैरो कलरको हुन्छ । तर, कहिले काही यो कलरफुलमा पनि देखिने गर्दछ । पित्तनलिमा बन्ने पिगमेन्ट स्टोन ब्याक्टेरिया इन्फेक्सन तथा प्यारासाइटिङ इन्फेक्सन भएर देखिने गर्दछ, भने कोलेस्टोर स्टोन पित्तथैलिमा बन्छ ।

पत्थरीका कारणहरु
-एकै पटक शरीरको तौल घट्दा या घटाउदा,
-गर्भावस्थामा शरीरमा अत्याधिक कोलेस्ट्रोलको मात्रा बृद्धि हुँदा
-लामो समय खाली पेट रहदा,
-अत्याधिक मोटोपन
-तल्लो आन्द्राको अपरेशन गर्दा जुका तथा विभिन्न ब्याक्टेरियाबाट इन्फेक्शन हुदा,
-पित्तथैली साघुँरिदा ।

लक्षणहरु
-एक्कासी दुई घण्टा जति पेटमा उच्च मात्रामा दुखाइको महशुस हुनु,
-व्यक्तिको पित्तथैली सुन्निनु,
-व्यक्ति जण्डिस र ज्वरोबाट ग्रसित हुनु ।

रोकथाम
-कुनैपनि रोग लागेपछि त्यसको उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै उचित हुन्छ । तसर्थ, पत्थरी लाग्न नदिन निम्न उपायहरु अप्नाउनुपर्छः
-आफ्नो उचाइ अनुसार योग्य र आवश्यक तौल कायम राख्ने,
-चिनीको मात्रा कम गर्ने,
-फाइबरयुक्त खानाहरुको प्रयोग धेरै गर्ने,
-सागसब्जीको सेवन बढी गर्ने,
-व्यायाम गर्ने,
-लामो समय र धेरै समय खाली पेट नबस्ने ।

उपचार
यस समस्या देखा परेमा उसको पित्तथैलीको अपरेशन गर्नुपर्छ । यो रोग लागेपछि व्यक्तिले सहनसक्ने अवस्थासम्म बिरामी सामान्य रुपमा आफ्नो दैनिकी निर्वाह गर्न सक्दछन् । तर, पत्थरीका कारण सहनै नसक्ने गरी पेटको दुखाइ धेरै भएमा तुरुन्त सम्बन्धित डाक्टरको परामर्श लिनु पर्छ । डाक्टरको निर्देशन अनुसार, बिरामीको अपरेशन गर्नुपर्छ । यो अपरेशन गर्दा बिरामीको पित्तथैलि नै काटेर फालिन्छ । अन्यथा यसले पित्तथैलीको क्यान्सर समेत गराउँछ ।


क्याटेगोरी : सर्ने/नसर्ने रोग



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ