२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यनवजात शिशुमा देखा पर्न सक्ने समस्या

नवजात शिशुमा देखा पर्न सक्ने समस्या


डा. विश्वबन्धु बगाले
बालरोग विषेशज्ञ, भरतपुर,  अस्पताल, चितवन

नवजात शिशु आफैमा संवेदनशील हुन्छन् । गर्भाशयमा रहँदा उनीहरु आमाकै कारण सुरक्षित रहन्छन् । तर, शिशुको जन्म या जन्मपश्चात् भने उसलाई प्रभाव पार्ने धेरै तत्वहरु हुन्छन् । उनीहरु आमाको गर्भाशयबाट बाहिर निक्लिएको समयमा बाहिरको वातावरणसँग घुलमिल हुन सक्ने क्षमता त हुँदैन नै सँगसँगै उनीहरु जन्मने क्रममा पनि धेरै समस्याहरु आइपर्न सक्छन् । तसर्थ, यस्तो अवस्थामा हामीले आमा तथा शिशु दुवैको उचित हेरचाह गर्नुपर्दछ ।

तर, उचित हेरचाहको बाबजुद पनि कतिपय अवस्थामा विभिन्न समस्याहरु जस्तै: आमाको लामो समयसम्मको प्रसव पीडाका कारण शिशु निस्सासिने, शिशु जन्मिदा च्यापिएको कारण टाउको तथा शरीरका अन्य भागहरु च्यात्तिने या चिरिने चोट लाग्ने, समय अगावै उनीहरुको जन्म हुने (प्रिटर्म) र, जन्मिसके पश्चात् विभिन्न संक्रमण देखिनेजस्ता आदि समस्याहरु देखा पर्न सक्छन् । तसर्थ यस्ता समस्याहरु बाट हामीले बच्न तथा आमा शिशु दुवैलाई बचाउन निम्न उपायहरु अपनाउनु पर्दछ ।

यस्ता समस्याका कारण निम्न हुन् :

• गर्भवती महिला तथा आमा विभिन्न रोग वा भाइरसबाट संक्रमण भएमा
• सालनालको संक्रमण
• पैष्टिकयुक्त खाना तथा नियमित गर्भ जाँचको अभाव
• डाक्टरको परामर्श बिना नै गर्भवतीको विभिन्न औषधिहरुको प्रयोग
• क्रोमोजन संक्रमण, जेनेटिक (क्रोमोसोमल ) समस्या
• दुध (बजारी दुध) को अनावश्यक प्रयोग, स्तनपानमा समस्या वा अन्य दुधको प्रयोग
• गर्भवतीको उचित स्वास्थ्य हेरचाहको अभाव
• शिशु सालनाल बेरिएको कारण
• गर्भवतीको मद्यपान र धुम्रपानका कारण ।

उपचार तथा रोकथाम उपाय

यस्ता समस्याहरुबाट जोगिन गर्भवती महिलाले सर्वप्रथम आफ्नो शरीरको विशेष ख्याल राख्नुपर्दछ । आफ्नो शरीरलाई चिसोबाट जोगाइ तातो न्यायो बनाउनु पर्दछ । गर्भवती महिलाले आफ्नो खानामा पौष्टिकयुक्त आहाराहरु समावेश गरी जंक फुड, बाहिरी खाना, अल्कोहोल तथा अन्य कुलतहरु बाट टाढै रहनु पर्दछ । र, सम्भव भए महिना दिनमा र सम्भव नभए गर्भवतीको दौरानमा कम्तिमा पनि चार पटक चिकित्सकसँग परामर्श लिनै पर्छ ।

यो अन्य समयभन्दा एकदमै नाजुक र संवेदनशील हुने भएकोले गर्भवती महिलाले कुनै पनि औषधिको प्रयोग डाक्टरको परामर्श बिना नै गर्नु हुँदैन । तर, यदि गर्नैपर्ने अवस्था आएमा औषधि प्रयोग गर्नुपूर्व अनिवार्य रुपमा चिकित्सकको निर्देशन लिनुपर्दछ । यसैगरी, गर्भवती महिलालाई प्रसुतीको निमित्त अस्पताल लैजानु पर्दछ । गर्भवतीको दौरानमा गर्भवती महिला होस् या प्रसुती पश्चातको आमा र शिशु । उनीहरुमा केही समस्या देख्नासाथ तुरुन्त चिकित्सकको परामर्श लिनु पर्दछ । र, आमाले आफ्नो शिशुको जन्म पश्चात् अनिवार्य रुपमा ६ महिनासम्म शिशु आफ्नो दुधमात्र चुसाउनु पर्छ ।

सरसफाइमा विशेष ध्यान दिने

उचित हेरचाहको अभाव भएको खण्डमा आमा तथा शिशु दुवैमा विभिन्न रोग तथा संक्रमणको भय हुन्छ । तर, हामीले आमा तथा शिशुलाई उचित स्याहार र हेरचाह गर्दागर्दै पनि कतिपय अवस्थामा शिशुहरुमा विभिन्न संक्रमणहरु देखा पर्नसक्छ । जसमा हामी तगायत बाहिरी वातावरणको ठूलो हात रहेको हुन्छ ।

नेपाली समाजमा भर्खरै जन्मिएको नवजात शिशुलाई पैसा राख्दिने र शिशु हत्तपत्त बोकिहाल्ने संस्कार परापूर्व कालदेखि नै रहँदैं आएको छ । संस्कारलाई पछ्याउने हामीले बच्चाको स्वास्थ्यको पक्षलाई भने त्यस समय खासै ध्यान दिदैनौ । त्यसरी जथाभावी बच्चालाई राखिदिएको पैसा र नपखालिएको हात नै बच्चामा देख्न सकिने समस्याको मुख्य जड बन्न सक्छ । तसर्थ हामीले नवजात शिशुलाई स्वस्थ्य बनाउनको निम्ति सर्वप्रथम आफ्नो सरसफाइमा पनि विशेष ध्यान दिइ निम्न पक्षहरुलाई पनि विषेश ध्यान दिनु पर्दछ :

• तेल लगाउने गुम्स्याउने गर्दा बच्चाको छालामा संक्रमण हुनुका साथै निसास्सिने समस्या पनि हुन सक्छ ।
• आँखामा कानमा तेल हाल्दा संक्रमणको जोखिम रहन्छ ।
• गाजलमा लिड जस्ता हानिकारक तत्व हुने हुदा यसले पनि नराम्रो असर गर्दछ ।
• नाइटोमा केही लगाइदिदा त्यसको उच्च संक्रमणको जोखिम बढाउँछ ।


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ