२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यएउटा स्वस्थ बच्चाका लागि हजार दिनसम्मको हेरचाह

एउटा स्वस्थ बच्चाका लागि हजार दिनसम्मको हेरचाह


मानिसको ८० प्रतिशत शारीरिक एवं मानसिक विकास गर्भमा रहेदेखि दुई वर्षसम्ममा भइसक्ने विभिन्न अध्ययनहरूले देखाएको छ । बच्चाको भविष्य कस्तो बनाउने भन्ने विषयमा यही अवधिमा घर परिवारले दिने शिक्षा तथा हेरचाहले महत्त्वपूर्ण भूमिका खेल्छ । गर्भमा रहँदा आमाको क्रियाकलाप र जन्मिएर दुई वर्ष हुन्जेल परिवारबाट विशेष हेरचाह गर्नुपर्छ ।

बच्चाको ८० प्रतिशत वृद्धिविकास गर्भावस्थादेखि दुई वर्षका बीचमा हुने हुँदा सो समयलाई सुनौलो अवधि पनि भनिन्छ । गर्भ रहेदेखि दुई वर्षसम्ममा एक हजार दिन हुने हुँदा नै सो अवधिलाई सुनौला एक हजार दिन भनिएको हे । सुनौला दिनहरूमा विशेषगरी गर्भवती अवस्था र सुत्केरी भएपछि आमाले पोषिलो खानेकुरा र सरसफाइमा बढी ध्यान दिनुपर्छ ।

बच्चा जन्मिएको ६ महिनासम्म आमाको दूध मात्र र त्यसपछि सन्तुलित भोजन गराउँदा दीर्घकालीन कुपोषणबाट बचाउन सकिन्छ । त्यसका साथै गर्भवती आमाले गर्ने क्रियाकलापबाट बच्चाको शारीरिक तथा मानसिक विकासमा पनि असर परिरहेको हुन्छ ।

कुन समयमा कति शारीरिक र मानसिक विकास ?
बच्चा गर्भमा रहँदा उसको शारीरिक तथा मानसिक विकास ३० प्रतिशत भइसकेको हुन्छ । त्यसैगरी, बच्चा जन्मिएर एक–दुई महिनाको हुँदा थप २५ प्रतिशत विकास भइसक्छ । दोस्रो वर्षमा थप २५ प्रतिशत शारीरिक तथा मानसिक विकास भइसक्ने विज्ञहरूको भनाइ छ ।

यसरी बच्चा गर्भमा रहेदेखि दुई वर्ष अर्थात् एक हजार दिनको समयमा जीवनभरि हुने विकासको ८० प्रतिशत पूरा भइसकेको हुन्छ । बच्चाको थप दुई प्रतिशत वृद्धिविकास भने पाँच वर्षको उमेरसम्ममा एक प्रतिशत र बाँकी जीवनमा एक प्रतिशत हुने वैज्ञानिकहरू बताउँछन् ।

बच्चा जन्मिएपछि

  • बच्चा जन्मिएको एक घन्टाभित्र स्तनपान गराउने ।
  • बच्चालाई शीतांग हुन नदिन दुई–चार घन्टासम्म ननुहाइदिने ।
  • आराम गर्ने र बच्चालाई पर्याप्त स्तनपान गराउने ।
  • बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गराउने ।
  • ६ महिनासम्म बच्चालाई आमाको दूध मात्र खुवाउने ।
  • सुत्केरी अवस्थामा साविकभन्दा बढी खाना खाने ।
  • बच्चालाई नियमित दिइने खोप लगाउने ।
  • स्वास्थ्य संस्थामा लगी प्रत्येक महिना वृद्धिविकास अनुगमन गराइराख्ने । यो बच्चा दुई–चार महिनासम्म निरन्तर गरिरहने ।
  • ६ महिनादेखि एक–दुई वर्षसम्म
  • ६ महिना लागेपछि आमाको दूधसँगै कम्तीमा
  • तीनपटक खाना खुवाउने ।
  • खाना खुवाउनुअघि राम्रोसँग हात धुने ।
  • बच्चालाई लगाउनुपर्ने सबै खोप लगाउने ।
  • बच्चा एक वर्षको भएपछि उसलाई थप खाना खुवाउने र ऊसँग खेल्ने गर्नुपर्छ । एक–दुईदेखि दुई–चार महिनासम्म बच्चाको शारीरिक विकास तीव्र हुने हुँदा पोषिलो खाना खुवाउनुपर्छ ।
  • बच्चा दुई वर्ष नपुगुन्जेल निरन्तर स्तनपान गराइराख्ने ।
    बच्चाको दिसा चर्पीमा मात्र फ्याँक्ने गर्नुपर्छ ।
    चर्पी गएपछि प्रत्येक पटक साबुनपानीले हात धुनुपर्छ ।

गर्भमा रहादा ध्यान दिनुपर्ने कुराहरू
यो समयमा आमाले गर्ने क्रियाकलापले बच्चालाई प्रत्यक्ष असर गर्ने हुनाले आमाले विशेष ध्यान दिनुपर्छ । आमाले सकारात्मक क्रियाकलाप गर्ने वातावरण बनाउन श्रीमान् र परिवारले सहयोग गर्नुपर्छ ।

-आमाले खाना खानुअघि सधैँ साबुनपानीले हात धुनुपर्छ । आमाले खाएको खानेकुराले बच्चामा पनि असर गर्ने हँुदा आमा बिरामी भए स्वस्थ बच्चा नजन्मन पनि सक्छ ।
-गर्भवती अवस्थामा साविकको भन्दा थप एकपटक खाना खानुपर्छ । साथै, सन्तुलित भोजन गर्न अन्न, गेडागुडी, फलफूल र तरकारी खानुपर्छ ।
-गर्भ रहेपछि कम्तीमा चारपटक स्वास्थ्य संस्था गएर गर्भ परीक्षण गर्ने ।
-गर्भ रहेको तीन महिनादेखि नियमित आइरन खाने ।
-धुम्रपान र मदिरा सेवन नगर्ने ।
-सुत्केरी हुन स्वास्थ्य संस्थामा जाने ।

दुई वर्षसम्म कस्ता क्रियाकलाप गर्छन् ?
-पहिलो दुई हप्तामा बच्चाको हातमा आफ्नो हात दिँदा समाउँछन् । ठूलो स्वर सुन्दा छक्क पर्ने, अनुहार हेर्न खोज्ने हुन्छन् । यस्तो समयमा हामीले बच्चा उठेको वेला कुरा गर्ने, उसले गरेको हाउभाउअनुसार हामीले पनि व्यवहार गर्ने र खेलाउने गर्नुपर्छ ।

-चार हप्ताको हुँदा बच्चाले अनुहार चिन्न थाल्छन् । घोप्टो पारेर सुताउँदा टाउको उठाउन खोज्ने वा टाउको दाहिने देब्रेतिर फर्काउने हुन्छन् । बत्ती आँखामा पर्दा आँखा चिम्लिने गर्छन् । यो समयमा घोप्टो परेर खेलाउने, गीत सुनाउने र बोल्ने गर्नुपर्छ ।

-बच्चा आठ हप्ताको भएपछि हाँस्ने, दुई हात जोड्ने, केही कुरा गरेजस्तो गर्ने हुन्छन् । यो समयमा ऊसँग बोल्ने, गीत गाएर सुनाउने, घोप्टो पारेर खेलाउने र बाहिर घुमाउने गर्नुपर्छ ।

-चार महिनाको हुँदा पल्टिन खोज्ने, घोप्टो पार्दा टाउको उठाउन सक्ने खेलौनाहरू देखाउँदा हेर्ने र चिनेको मान्छेको अनुहार हेर्ने गर्छन् । यो समयमा घोप्टो परेर भुइँमा राखेर खेलाउने, चित्र भएको किताब देखाउने र पढेर सुनाउने, गीत गाउने र
बोल्ने गर्नुपर्छ ।

-आठ महिनामा आफैँ बस्ने, खेलौना मुखमा हाल्ने, नयाँ अनुहार देख्दा छक्क पर्ने हुन्छन् । यो वेलामा बच्चासँग कुरा गर्दै खेलाउने, बामे सर्न सहयोग गर्ने, ऐना देखाउने गर्नुपर्छ ।

-१२ महिना भएपछि बच्चा एक वा सोभन्दा बढी शब्द बोल्न सक्ने हुन्छन् । हात हल्लाएर टाटा गर्ने, कुनै कुरा औँलाले देखाउन सक्ने हुन्छन् । यो समयमा उनीहरूसँगै खेल्ने, गीत गाउने र नाच्नेजस्ता क्रियाकलाप गर्नु राम्रो हुन्छ ।

-१८ महिना पुगेपछि बच्चा राम्ररी हिँड्न सक्ने हुन्छन् । एकदेखि पाँच शब्दसम्म बोल्न सक्ने हुन्छन् । यो वेलामा किताबहरू हेर्न दिने र रमाइला ठाउँमा घुमाउनु राम्रो हुन्छ ।

-बच्चा दुई वर्ष पुगेपछि आफूभन्दा ठूलाले गरेका कुरालाई पछ्याउने, लुगा आफैँ लगाउन खोज्ने र दुईदेखि ५० शब्द बोल्न सक्ने हुन्छन् । यो समयमा ऊसँगै कुरा गर्ने, चित्र कोर्न सिकाउने, पार्क, बालविकासजस्ता ठाउँमा घुमाउनेजस्ता क्रियाकलाप गर्नुपर्छ ।


क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ