२०८१ वैशाख १२, बुधबार
Health Aawaj logo
गृहपृष्ठजनस्वास्थ्यमहिला/बाल स्वास्थ्यमहिलामा देखिने साझा स्वास्थ्य समस्या र समाधानका उपायहरु

महिलामा देखिने साझा स्वास्थ्य समस्या र समाधानका उपायहरु


नेपाली समाज आधुनिकतातर्फ लम्कने क्रमसँगै यहाँका महिलाहरु पनि यसबाट अछुतो रहन सकेका छैनन् । तर, आफ्नो स्वास्थ्यप्रतिको सन्दर्भमा भने उनीहरु हालसम्म पनि गम्भीर भएको देखिदैनन् । जसकारण उनीहरु अझैपनि महिलासम्बन्धी विभिन्न रोगहरुको शिकार हुने गरेका छन् । नेपाली महिलामा पाठेघरको मुखको संक्रमण, पाठेघर क्यान्सर, स्तन क्यान्सर, योनी चिलाउने र सेतो पानी बग्नेजस्ता साझा स्वास्थ्य समस्याका रुपमा देखिने गरेका छन् ।

पाठेघर सम्बन्धि देखिने समस्या बारे भन्नुपर्दा, अधिकांश विवाहित महिलाहरु पाठेघरको क्यान्सर वा यसको मुखमा हुने संक्रमणबाट पीडित हुने गरेका छन् । यस्तै, अविवाहित महिलाहरुको हकमा भने सेतो पानी बग्ने, योनी चिलाउने समस्या देखा पर्छन् । अविवाहित महिलाहरुमा यस्ता समस्या नदेखिनुपर्ने वा एकदमै कम मात्रामा देखा पर्नुपर्ने हो । तर, पनि कतिपय अविवाहित महिलाहरु यस्तै समस्या बोकेर उपचारको लागि आउने गरेका छन् ।

महिलामा बढी मात्रामा देखिने अर्को साझा समस्यामध्ये स्तन क्यान्सर पनि एक हो । समाज जतिसुकै एडभान्स हुँदै गएपनि अधिकांशमा जनचेतनाको कमी भएकै कारण हालसम्म यस्ता समस्या जीवितै रहेको देखिन्छ । तसर्थ, प्रत्येक महिलाहरुले आफूमा देखिन सक्ने यस्ता रोगहरुबाट बच्नको निम्ति बेलैमा सजगता अपनाउनुपर्दछ ।

समस्याका कारक

जनचेतनाको कमी नै यस्ता समस्याहरु देखा पर्नुको मुख्य कारण हो । अधिकांश महिलाहरुमा आफ्नो स्वास्थ्यप्रति कसरी सजग रहनुपर्छ । कसरी आफ्नो स्वास्थ्यको हेरचाह गर्नुपर्छ भन्ने उचित चेतनाको अभाव कै कारण यस्ता समस्याहरु देखिने गरेको पाइन्छ । यसबाहेक असुरक्षित यौनसम्बन्ध, सरसफाइको कमी, उचित आहार तथा स्वास्थ्यप्रतिको उचित हेरचाहको अभाव र एकजनाभन्दा बढी यौनसाथीसँगको सम्पर्क आदि यी समस्याहरुको प्रमुख कारण हुन् ।

महिलामा देखिने अधिकांश समस्याहरु (स्तन क्यान्सर बाहेक)का विशेषगरी यौनसम्बन्धको माध्यमबाट नै एकबाट अर्कामा सर्ने भएकोले त्यस्ता रोगहरुलाई ‘सेक्सुअली ट्रान्समिटेड डिजिज’पनि भनिन्छ । यो कुनै पनि महिला र पुरुषबीच भएको असुरक्षित सम्पर्क, बहु—यौनपार्टनर र सरसफाइको कमीका कारण एकबाट अर्कोमा सर्दछ । गाउँ घरका महिलामा सरसफाइका कारण उत्पन्न स्वास्थ्यमा अझ बढी देखिन्छ ।

रोकथाम तथा उपचारको निमित्त चाल्नुपर्ने कदमहरु

यस्ता स्वास्थ्य समस्याको प्रमुख निराकरण नै जनचेतना अभिवृद्धि हो । हालसम्म पनि यस्ता समस्या अधिकांश महिलाहरुमा देखिनुको मुख्य कारण उनीहरुमा आवश्यक र पर्याप्त चेतना नहुनु नै हो । तसर्थ, सरकार तथा सम्बन्धित निकायहरुले यसको निमित्त यससँग सम्बन्धित ज्ञान तथा कार्यक्रम प्रत्येक महिलाहरु समक्ष अनिवार्य रुपमा पु¥याउनुपर्छ ।
जनचेतनाको कमीकै कारण यस्ता समस्याहरु देखा पर्ने गरेकोले यस्ता समस्याहरु नदेखियोस् भन्नका लागि प्रत्येकले केही समस्या देखा नपर्दा पनि आफ्नो शरीरक समय समयमा चेक जाँच गराइराख्नु पर्छ । २१ देखि ६५ वर्ष उमेर भएका प्रत्येक महिलाले प्याप स्मियर जाँच अनिवार्य रुपमा गर्नुपर्छ । यो प्रक्रिया प्रत्येक तीन—तीन वर्षको अन्तरालमा दो¥याइ रहनुपर्छ भन्नेजस्तो चेतनाको प्रवाह गर्नुपर्दछ ।

हुन त यससँग सम्बन्धित विभिन्न कार्यक्रम तथा जनचेतनाहरु किताव, समाचार र म्याग्जिनहरुमा आइरहन्छन् । तर पनि ती सूचनाहरुलाई हालसम्म सबैको पहुँचमा भने पु¥याउँन सकिएको छैन । तसर्थ, प्रत्येक महिलाको पहुँचमा पुग्ने गरी प्रभावकारी कार्यक्रमहरु आयोजनाको आवश्यक रहेको देखिन्छ ।

अधिकांश महिलाहरुमा ‘मलाई केही भएको छैन म किन जाँच गर्ने ?’ भन्ने मानसिकता व्याप्त रुपमा रहेको देखिन्छ । तर, चेक गर्दाखेरि उहाँहरुमा पनि संक्रमण देखिने गरेको छ । यो समस्या शरीरको भित्री भागमा रहने र चेक जाँच बिना नदेखिने भएकाले कतिपयलाई आफू संक्रमित भएको कुराको ज्ञात समेत हुँदैन ।

तसर्थ, कार्यक्रमकै माध्यमबाट उनीहरुमा यस्ता आवश्यक चेतनाको प्रवाह गर्नुपर्दछ । शरीरमा केही समस्या नभएपनि समय—समयमा यसको चेक जाँच गराउनु पर्छ भन्ने कार्यक्रम प्रत्येक ठाउँमा सञ्चालन गर्ने र सँगै उनीहरुलाई उपचार गर्न पाउने वातावरणको समेत सिर्जना गरिदिनुपर्छ । यसबाट र जनचेतनामा भएको अभिवृद्धिको कारणले मात्रै पनि धेरै महिलाहरु यस्ता रोगहरु लाग्नबाट बच्न सक्छन् । यसैगरी, यस्ता समस्या नदेखियोस् भन्नको निम्ति वा देखा परेकाहरुको समस्या निराकरण गर्नको निम्ति हामीले पनि यहाँ उपचारका लागि आएका महिलाहरुलाई आवश्यक सरसल्लाह तथा सुझाव दिने गरेका छौं ।

व्यक्तिगत रुपमा ध्यान दिनुपर्ने कुराहरु

यस्ता समस्या देखा नपरोस् भन्नका निम्ति सर्वप्रथम प्रत्येक महिला आफैमा सचेत रहनुपर्छ । सरकार वा सम्बन्धित निकायले जतिसुकै कार्यक्रमहरु आयोजना गरेतापनि महिलाहरु स्वयं आफूले नै यसबाट जोगिने विभिन्न उपायहरु आफ्नो ब्यवहारमा नउतारेसम्म ती सबै प्रयासहरु असफल रहन्छन् ।

यसको निम्ति महिला आफैले पनि आफ्नो शरीर र यसको आकार—प्रकारमा आएको परिवर्तन, असहजपन, दुखाइ तथा पीडाहरुबारे राम्ररी ख्याल राख्नुपर्छ ।

  •  महिनावारीको प्रत्येक ३ देखि ६ दिनमा आफ्नो स्तनको चेक जाँच गर्ने
  • शरीरमा देखा परेको आकार परिवर्तनको उचित ख्याल राख्ने
  • असहजपन तथा पीडा भए—नभएको ख्याल गर्ने
  • भित्री भागमा लगाउन सफा कपडा प्रयोग गर्ने
  • भित्री अंगको सरसफाइमा विशेष ध्यान दिने
  • एकजना मात्रै यौनसाथीको सम्पर्कमा रहने
  • सुरक्षित यौनसम्बन्ध कायम गर्ने
  • यौन सम्पर्कका बेला कन्डमको प्रयोग गर्ने
  • समय—समयमा शरीरको चेक जाँच गराउने
  • २१ वर्षदेखि ६५ वर्षका महिलाहरुले प्रत्येक ३÷३ वर्षको अन्तरालमा प्याप स्मियर जाँच अनिवार्य रुपमा गराउने ।

क्याटेगोरी : महिला/बाल स्वास्थ्य



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ