२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइल‘हेल्थ म्यानेजर’ योङ सुनिता

‘हेल्थ म्यानेजर’ योङ सुनिता


विश्वका युवा नेतृत्वकर्ताको चर्चा गर्दा फिनल्याण्डकी प्रधानमन्त्री ३४ वर्षीया सना मरिन पहिलो नम्बरमा आउँछिन् । सत्तामा युवा उदयको प्रतीक बनेकी सनाजस्तै युवा प्रधानमन्त्री पाउन नेपालले कयौं वर्ष कुर्नुपर्नेछ । अझ महिला युवा प्रधानमन्त्रीका लागि त्यसभन्दा बढी वर्ष पर्खनुपर्ने हुन सक्छ ।

तर, प्रधानमन्त्री नै नभएपनि नेपालमा सरकारी र गैरसरकारी क्षेत्रमा युवा महिला नेतृको उदय लोभलाग्दो देखिन्छ । दाङ जिल्ला स्वास्थ्य कार्यलयकी प्रमुख सुनिता पौडेल त्यसैमध्येकी एक प्रतिनिधी हुन् । उमेरका हिसाबले उनी ३० वर्षकी मात्रै हुन् । तर, वि.सं. २०७६ साउनदेखि दाङ जिल्ला स्वास्थ्यको कमाण्ड उनको हातमा छ । कोभिड—१९ को महामारीका बेला फ्रन्टलाइनमा रहेर जिल्लाको स्वास्थ्य व्यवस्थापनमा जुटिरहेकी छन्, उनी ।

जिल्ला स्वास्थ्य कार्यलय प्रमुखका रुपमा जिल्लाभरिको स्वास्थ्य प्रबन्ध, गाउँपालिका, प्रयोगशाला र कोभिड अस्पतालसँग समन्वय, कोभिड—१९ स्वाबको व्यवस्थापनदेखि कन्ट्रयाक्ट ट्रेसिङसम्मको नेतृत्व उनले कुशलतापूर्वक गरिरहेकी छिन् । ‘हाम्रो मुख्य काम समन्वय, सहकार्य, टेक्नीकल र लजिष्ट्रिक सपोर्ट गर्ने हो,’ उनी भन्छिन्, ‘समन्वयको नै अहिले निकै ठूलो भूमिका छ, स्याम्पल आउँछ कहाँ पुर्‍याउने, कसलाई रिसिभ गर्न लगाउने, रिपोर्ट आएपछि त्यसको रेकर्ड राख्ने, जिल्लाभरिको सूचना प्रवाहको जिम्मेवारी पनि हामीलाई नै छ ।’ जिल्ला स्वास्थ्य बढीजसो फोकस टेक्नीकल गाइडेन्स र कोर्डिनेसनमा छ ।

भारतसँग ३४ वटा नाका जोडिएको प्रदेश ५ का प्रमुखका मुख्यमन्त्रीको जिल्ला दाङमा ८३ जनामा कोभिड—१९ पोजेटिभ पुष्टि भएको छ । दाङकै बाहिर स्थानीय दुई जना संक्रमित छन् भने एक जनाको मृत्यु भएको छ । अहिले कार्यक्षेत्रमा खटिने स्टाफ मोटिभेट गर्नुपर्ने, डर—त्रासका कारण फिल्डमा जान नमान्ने, खटाइएको ठाउँमा जान डराउनेजस्ता प्रमुख चुनौती छन् । फ्रन्टलाइनमा रहेर स्वास्थ्य व्यवस्थापनमा जुट्दाका अरु मुख्य चुनौतीहरु के छन् त ? ‘व्यवस्थापनको पक्ष एकदमै च्यालेन्जिङ छ,’ उनी भन्छिन्, ‘आफैले अगाडि खटेर बुस्टअप गर्नुपर्ने अवस्था छ ।’ सुरुमा दाङमा कोरोना अस्पताल स्थापनाकै विषय लिएर पनि लफडा भएको थियो । तर, अहिले अवस्था सामान्य भइसकेको छ । संक्रमितहरु निको भएर घर फर्किन थालेपछि मानिसहरुमा कोभिड—१९ बारे रहेका भ्रमहरु हट्दै गएका उनी बताउँछिन् ।

कुर्गा—३ पर्वतमा २०४६ सालमा बुवा भवानीप्रसाद शर्मा र आमा देवी पौडेलकी कान्छी सन्तानमा रुपमा जन्मिएकी हुन्, सुनिता । चार दिदीभाइमध्ये कान्छी उनका बुवा सरकारी चिकित्सक भएकाले विभिन्न ठाउँमा सरुवा भैरहन्थ्यो । त्यसकारण सुनिताको बाल्यकाल गाउँले परिवेसमा कम र ठाउँ—ठाउँका सरकारी कार्यलयहरुमा बढी बित्यो । कक्षा २ सम्ममात्रै उनले गाउँकै स्कुलमा पढ्ने अवसर पाइन्, बाँकी अध्ययन उनले विभिन्न जिल्लाहरुबाट पूरा गरिन् । ‘कहिले हिमाल कहिले तराई बुवाको सरुवा भैरहन्थ्यो,’ उनी आफ्नो बाल्यकाल स्मरण गर्छिन्, ‘काठमाडौं हुँदा काठमाडौं रोल्पा हुँदा रोल्पानै हामी पुग्थ्यौं ।’

०६१ सालमा काठमाडौंको सरस्वती विद्या मन्दिर कुलेश्वरबाट उनले फष्ट डिभिजनमा एसएलसी उत्तीर्ण गरिन् । सानो छँदैदेखि उनी पढाइमा अब्बल भएकै कारण कहिल्यै दोस्रो हुनु परेन् । ‘सकभर कसैले नउछिनोस, नजितोस भन्ने मेरो स्वभाव हुन्थ्यो,’ उनी सधैं फष्ट हुने फर्मुला सुनाउँछिन्, ‘त्यही भएर कहिल्यै दोस्रो भइन् ।’ उनलाई गणित र विज्ञानमा विशेष रुची थियो । अर्को फरक स्वभाव स्कुलमा केटाहरुसँगै पढाइमात्र होइन्, खेलकूदमा पनि अग्रसर भैरहेकी हुन्थिन् । ‘ब्याडमिन्टन, बाँस्केटल, चेस म केटाहरुसँगै खेल्थे । केटाहरुभन्दा केटीहरु केही फरक छैन् भन्ने मेरो सोचाइ थियो,’ उनी भन्छिन्, ‘चेस खेल्न दिएनन् भने खोसेर पनि खेल्थे । टेबलटेनिस, बाँस्केटबल केटाहरुले खेल्न दिदैन्थे, म खोसेरै खेल्थे ।’

एसएलसीपछि सन् २००४ मा निष्ट कलेजमा साइन्समा प्लस टुमा भर्ना भइन् । सुनिताको कलेज जीवन पनि उतिकै स्मरणीय रह्यो । उनीहरु साथी—साथी मिलेर कतिसम्म उट्पट्याङ गर्थे भने अहिले पनि उनलाई सम्झँदा हाँसो उठ्छ । कलेजमा पनि उनी केटीभन्दा केटाहरुसँग बढी संगत गर्थिन् । ‘पढ्दा र ल्याबमा उल्कै रमाइलो गरियो,’ कलेज जीवनको डायरी खोल्छिन्, ‘उट्पट्याङ काम पनि गरिन्थ्यो ।’ सन् २००६ मा उनले प्लस टु सकिन् ।

त्यो बेला काठमाडौंमा विदेश जाने संस्कृति बढिरहेको थियो । सुनितालाई पनि नर्सिङ गरेर विदेश जाने रहर भयो । त्यसैले सन् २००७ मा उनी बिएस्सी नर्सिङमा छात्रवृत्ति पाएपछि पढ्नका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिषठन धरान पुगिन् । ‘त्यो बेला विदेश जाने एक प्रकारको लहर थियो, मलाई पनि विदेश जाने रहर भयो,’ प्लस टु पुस्ताको विदेशमोहबारे उनी भन्छिन्, ‘त्यसैले नर्सिङ पढेर विदेश जान्छु भनेर म बिएस्सी नर्सिङ पढ्न थाले ।’ बिएस्सी नर्सिङ पढ्दा—पढ्दैं उनको विदेशमोह भंग भयो । सन् २०११ मा बिएस्सी नर्सिङ सकिएपछि उनले माष्टर्स इन पब्लिक हेल्थ (एमपीएच)का लागि धरानमै आवेदन दिइन् । त्यहाँ पनि उनले छात्रवृत्ति हात पारिन् ।

नर्सिङबाट एमपीएचतर्फ टर्न गराउने कारण के थियो ? ‘प्रिभेन्स इज बेटर द्यान क्योर’ भन्ने मान्यताकै कारण आफू जनस्वास्थ्यतर्फ आकर्षित भएको उनी बताउँछिन् । ‘प्रिभेन्सका बारेमा पढ्यो भने रोग आउनै बन्द गर्न सकिन्छ भन्ने पनि लाग्यो,’ उनी कारण खोल्छिन्, ‘अर्को, फिल्डको जागिर र धेरै घुम्न मन पराउने भएकाले एमपीएचतर्फ मोडिए ।’ एमपीएच अध्ययन गर्दा धेरै घुम्न पाइने, रमाइलो गर्न पाइने, कम्युनिटीमा घुलमिल हुन पाइनेजस्ता पक्षहरु उनलाई खुबै मन परे । ‘नयाँ कल्चर, नयाँ ट्रेडिसनका बारेमा थाहा हुने, नयाँ वातावरणमा भिज्न पनि पाइने भएकाले मलाई यही नै सुट हुन्छजस्तो लाग्यो,’ उनी थप्छिन्, ‘मैले जनस्वास्थ्यलाई प्रायोरिटीमा राख्नुका कारण यिनै हुन् ।’

सन् २०१३ मा एमपीएच अध्ययन सुरु गरिन् र सन् २०१५ मा एमपीएचको अध्ययन सकियो । लगतै उनले लोकसेवा दिइन् । लोकसेवाको रिजल्ट आउनै एक वर्ष लाग्यो, त्यो अवधिमा उनले विराटनगरस्थित विराट हेल्थ क्याम्पस अध्यापन गराइन् । सन् २०१६ मा लोकसेवाले नतिजा प्रकाशित गर्‍यो, उनी नेपाल सरकारको जनस्वास्थ्य अधिकृतका रुपमा सरकारी सेवामा प्रवेश गरिन् । ‘पास आउट भएको तीन महिनामै मैले लोकसेवा दिएको थिएँ,’ उनी भन्छिन्, ‘पहिलो प्रयासमै नाम निकाले ।’ लोकसेवाका लागि निकै तयार चाहिन्छ भन्ने गरिन्छ । तर, तीन महिनामै कसरी नाम निकाल्न सकिन्छ ? भन्छिन्, ‘पहिले नै नाम निस्कन्छ भनेर कन्फिडेन्ट हुनुपर्छ । पढिसकेपछि पढाइभन्दा अरु कुरालाई सोच्नै हुँदैन् । मैले तीन महिना पनि राम्ररी प्रिपरेशन गरिन्, दुई महिनाजति गहन अध्ययन गरे ।’ दिनमा तीन चार घण्टा पढ्ने उनी पढ्नका लागि विहानको समय रोज्ने गर्थिन ।

बोल्ड एण्ड ब्युटिफूल सुनिता जति आवरणमा राम्री देखिन्छन् । उति नै प्रतिभाशाली पनि छन् । प्रारम्भिक शिक्षादेखि माष्टर्स पढ्दासम्म उनले कहिल्यै शुल्क तिर्नु परेको छैन । ‘जिरोदेखि माष्टर्ससम्म मैले छात्रवृत्तिमै पढे,’ उनले सुनाइन्, ‘स्टडीका लागि मैले कहिल्यै पैसा तिर्नुपरेको छैन् ।’

लोकसेवामा नाम निस्केपछि पहिलो पोष्टिङ धनकुटा क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा भयो । त्यहाँ तीन वर्ष काम गरिन् । वि.सं. २०७६ साउनमा उनी जिल्ला स्वास्थ्य कार्यलय प्रमुखको जिम्मेवारसहित दाङ पुगिन् । झण्डै एक वर्षदेखि जिल्ला स्वास्थ्य कार्यलय दाङको कमाण्ड सम्हालिरहेकी उनी अहिले समन्वयकारी भूमिकामा छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा कोभिड—१९ को परीक्षण हुन्छ । ‘उहाँहरुसँग हामी प्रत्यक्ष रुपमा समन्वयमा छौं,’ उनी भन्छिन्, ‘१० वटा स्थानीय तहसँग पनि समन्वय गर्नुपर्छ ।’ उनले सबै पालिकाहरुमा जिल्ला स्वास्थ्य कार्यलयबाट एक-एक जना खटाएकी छन् । जसले समन्वयको काम गर्छ । ती ठाउँमा देखिएका स्वास्थ्य समस्या समाधानको जिम्मा पनि धेरथोर उनीसँग जोडिएको हुन्छ ।

‘स्थानीय तहमा खटाइएको जनशक्तिमार्फत त्यहाँको समस्या म सम्म आइपुग्छ,’ उनी सुनाउँछिन्, ‘त्यसको समाधान खोज्ने जिम्मेवारी मेरै हुन्छ ।’ कोभिड—१९ को समय काम गर्दा पनि आफूले सहयोगी वातावरण पाएको सुनाइन् । जिल्ला स्वास्थ्यले पालिकाहरुलाई टेक्नीकल सपोर्ट, गाइडेन्स, निगरानी, सल्लाह, सुझाव र तालिमहरु दिने काम गर्दै आएको छ । अहिले कन्ट्याक्ट ट्रेसिङको तालिम पनि विश्व स्वास्थ्य संगठनसँग मिलेर अगाडि बढाइरहेको उनले बताइन् । जिल्ला स्वास्थ्य कार्यलयले सचेतना, लजिष्ट्रिक, सूचनालगायतका कामहरु पनि गर्दै आएको छ ।

सुत्दा १२ बजिसक्छ

सुनिता बाल्यकालमा निकै चकचके थिइन् । परिवारको कान्छी सदस्य भएकाले सबैको आँखाको नानी । उनको स्वभाव पनि त्यस्तै थियो, उनी जे चाहन्थिन्, त्यही हुनुपर्थ्यो । ‘म अलि जिद्धी स्वभावकी थिए, घरमा अरुलाई नभएपनि मलाई हुनैपर्थ्यो ,’ उनी आफ्नो किशोरावस्था स्मरण गर्छिन्, ‘अरुले कम्प्रोमाइज गरेपनि म सकभर गर्दिन्थे ।’ कान्छी बहिनी भएकाले दाइ र दिदीहरु पनि उनलाई नै पहिलो प्राथमिकतामा राख्थे ।

अहिले भने उनमा धेरै परिवर्तन आइसकेको छ । कोभिड—१९ पछि उनको दैनिकीमा पनि काफी बदलाव आएको छ । विहानै उठेर कौशीमा डोरी खेल्ने, उफ्रिनेजस्ता लाइट एक्ससाइज गर्छिन् । फ्रेस हुन्छन्, नुहाउँछन् । त्यसपछि समाचार हेर्ने र अध्ययनमा जुट्ने गर्छिन् । यतिकैमा उनको फोनको घण्टी बज्न थालिहाल्छ । कोभिड—१९ को जिल्लागत अवस्थाका बारेमा सञ्चारकर्मीलाई अपडेट दिन्छिन् । कहिलेकाहीँ आफै पनि अपडेट हुनुपर्ने हुन्छ । विशेषगरी अहिले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोरोना विशेष अस्पतालसँग उनले समन्वय गर्नुपर्छ । त्यहाँ फोन गरेर आफू पनि अपडेट हुन्छिन् ।

त्यसपछि समस्या देखिएका पालिकाहरुको अवस्था बुझ्छिन् । पालिकाहरुसँगको समन्वय लगतै उनको खाना खाने टाइम भइसक्छ । खाना खाइसकेपछि उनी १० बजे अफिस पुगिसक्छन् । अफिसमा कर्मचारीलगायतसँग छलफलमा जुट्छिन् । छलफल सकिएपछि कहिलेमात्रै अफिसमा बस्छिन्, नत्र फिल्डमा निस्कन्छिन् । कहिले कहाँ त कहिले कहाँका क्वारेन्टाइनको अवस्था के छ ? कहाँ के पुगिरहेको छैन ? क्वारेन्टाइनका व्यक्तिहरुको अवस्था कस्तो छ ? सोसल डिस्ट्यान्स छकि छैन भनेर हेर्छिन् ? उनीहरुको स्वास्थ्य समस्याका बारेमा पनि अपडेट लिन्छिन् । यतिकैमा साँझको ७ बजिसक्छ । साँझ उनी केही फ्रुट पाइयो भने केही फ्रुट लिन्छिन् । त्यसपछि बेडमा पुग्नुपूर्व समाचार पढ्ने, अपडेट हुने र भोलिको प्लानिङमा जुटछिन् । उनी बेडमा पुग्दा रातिको १२ बजिसकेको हुन्छ ।

फुर्सदमा सुनिता घुम्न निकै मन पराउँछिन् । सबैभन्दा मनपर्ने ठाउँ पोखरा र इलाम हो । घरपरिवार भेटघाट उनको अर्को रुचीको विषय हो । छुट्टी मिल्ने बितिकै काठमाडौं आइपुग्छिन्, आमाबुवा भेट्न । फुर्सदमा उनी हल्का नृत्य पनि गर्छिन् । सबै प्रकारका खाना उनलाई मन पर्छन् । तर, सामान्य दालभात तरकारी उनको सबैभन्दा मनपर्ने खाना हो । जहाँ जे भेट्यो त्यही खाने उनको बानी छ । पहिरनमा उनी खासै चुजी छैनन् । सर्ट पाइन्ट नै रुचाउँछिन् । तीन वर्षअघि उनले डा. पारस पाण्डेसँग प्रेम विवाह गरेकी हुन् । डा. पाण्डे अहिले भेरी अस्पतालमा कार्यरत छन् ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ