२०८१ जेठ ३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलसिरहाको किसान परिवारदेखि गैरआवासीय नेपाली अर्बपतिसम्म

सिरहाको किसान परिवारदेखि गैरआवासीय नेपाली अर्बपतिसम्म


डा. उपेन्द्र महतो बहुराष्ट्रिय कम्पनी हाँक्ने थोरै व्यवसायी गैरआवासीय नेपालीमध्ये एक हुन् । रसियादेखि नेपालसम्म फैलिएको उनको विजनेश साम्राज्यमा १० हजार बढी मानिसहरु काम गर्छन् । पढाइका शिलशिलामा बेलारुस पुगेका उनले पिएचडी सकिएपछि सन् १९९१ मा रसियामा इलेक्ट्रोनिक्स ब्यापारबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेका हुन् । महतो त्यसपछि तेल, रियलस्टेज हुँदै बैंक, संचार तथा स्वास्थ्यजस्ता क्षेत्रहरुमा जमिरहेका छन् । पछिल्लो समय उनले नेपालमा स्वास्थ्य क्षेत्रको मेगा प्रोजेक्ट ‘मेडिसिटी हस्पिटल’ चलाइरहेका छन् ।

यो विजनेश साम्राज्य डा. महतोले पछिल्ला ३० वर्षमा खडा गरेका हुन् । अर्बपति महतो सिरहा कर्जनहाको सामान्य किसान परिवारदेखि मल्टीबिलिनियरसम्मको यात्रा रोचक छ । अभावका पहाडबीच पढाइमा तीक्ष्ण र मेहनत गर्ने गज्जबको स्वभावका कारण उनी आफूलाई यो सफलताको प्राप्त भएको बताउँछन् ।

२४ अप्रिल १९६३ मा सिरहा कर्जनहामा एक साधारण किसान परिवारमा जन्मिएका हुन्, उनी । उनका बुवाआमा दुवै किसान थिए । त्यही किसान परिवारमा बाँसको कलम र काठको पाटीमा उनले कखरा सिकेका हुन् । गाउँमा त्यतिबेला एक जना शिक्षक थिए, १० कक्षाभन्दा बढी पढेका थिएनन् । तर, गाउँका सबैलाई कखरा सिकाउने गुरु तिनै थिए । ‘उहाँ कहाँ ३०—४० जना बच्चाको भिड हुन्थ्यो, हामी त्यही पढ्न जान्थ्यौं,’ महतो कखरा चिन्दाको अनुभव सुनाउँछन्, ‘विहान ७ बजेदेखि ९ बजेसम्म उहाँले ट्युसन पढाउनुहुन्थ्यो, १०—१२ जना बच्चाहरुसँगै गएर पढ्थ्यौं ।’ साँझ ७ बजेदेखि ९ बजेसम्म पुनः ट्युसन हुन्थ्यो । विहान पढाउने शिक्षकले नै साँझ पनि पढाउथे । विहान १० बजेदेखि दिउँसो ४ बजेसम्म स्कुल हुन्थ्यो । ४ बजेदेखि ६ बजेसम्म खाली समयमा कहिले गोरु चराउन त कहिले खेत र कहिले खेलका लागि जानुपथ्र्यो ।

सामान्य किसान परिवारमा जन्मिएकाले बोर्डिङ स्कुल उनका लागि एउटा मिठो सपनाजस्तै थियो । देख्न सकिने तर पूरा गर्न नसकिने । त्यसैले उनको प्रारम्भिक शिक्षा गाउँकै सरकारी स्कुलबाट अगाडि बढेको हो । सरकारी स्कुल भएपनि गाउँमा १० कक्षासम्म पढाइ हुने श्री जनसेवा माविको शैक्षिकस्तर अहिलेका चल्तीका बोर्डिङभन्दा कम थिएन । अहिले पनि जब उनी बाल्यकाल र किशोरवस्थाका दिनहरु सम्झन्छन्, श्री जनसेवा मावि झल्झली आँखामा नाच्न थाल्छ । स्कुलका सुरुवाती दिनहरुमा अंग्रेजी भाषा पढ्न निकै गाह्रो भएको अनुभव उनीसँग छ । ‘नेपालीमा अंग्रेजी भाषा पढाइन्थ्यो तर अरु विषयमा राम्रो थियो । पछि युनिभर्सिटीमा पढ्दा पनि मैले कहिल्यै कमसल स्कुलमा पढेको अनुभव गर्न परेन,’ उनी सुनाउँछन् ।

मधेशको ग्रामीण गाउँमा हुर्किएका उनका लागि विजुली, यातायातजस्ता कुराहरु पनि नौला थिए । विजुली नभएकाले टुकीको उज्यालोमा पढनुपथ्र्यो । महतोको घरमा लालटिन थियो, लालटिन बाल्नुको सजिलो हावा चल्दा पनि निभिहाल्दैन्थ्यो । लालटिनमा जलेको बत्तीको कालो धुँवा माथि जम्मा हुन्थ्यो, त्यो सफा गर्दा पाटी पोलिस गर्न मसो जम्मा हुन्थ्यो ।

सानो छँदा अरु बालकहरुजस्तै महतोका पनि बालसुलभ चाहनाहरु थिए । कहिलेकाहीँ परिवारको आँखा छल्दैं उनी साथीसँग फुटबल र भलिबल खेल्न निस्कन्थे । त्यतिबेलाको समयमा अभिभावकहरु छोराछोरी खेलकूदमा सहभागी नहोस् भन्ने चाहन्थे । कारण—हाटखुट्टा भाँचिएला, चोटपटक लाग्ला भन्ने डर । त्यसैले बालवालिकालाई कसैले पनि स्पोर्टसका लागि प्रोत्साहन गर्दैन्थे । ‘तर पनि हामीहरु चोरी—चोरी भलिबल र फुटबल खेल्ने गथ्र्यौ,’ डा. महतो बाल्यकाल सम्झन्छन् । उनको सबैभन्दा प्रिय खेल भलिबल थियो, फुटबल पनि खेल्थे । कहिलेकाही उनी गोरु चराउन जान्थे । साथीहरुबीच पालैपालो गोरु हेर्ने र खेल्ने चलन थियो । ‘अहिले हेर्दा त्यो त साह्रै राम्रो टिमवर्कजस्तो लाग्छ,’ उनी हाँस्दै सुनाउँछन् ।

महतो बाल्यकालदेखि नै पढाइमा गहिरो अभिरुचि राख्थे । किसान बुवाआमाको चाहना छोराले धेरै पढोस् भन्ने थियो । कृषिबाहेक अन्य कुनै पेशा नभएकाले ३ दाजुभाइ ३ दिदीबहिनीलाई पढाउन पनि हम्मे थियो । ‘म जेठो थिए, सन्तानहरु पढाउनुपर्छ भन्ने उहाँहरुको तीब्र इच्छा थियो,’ महतो भन्छन्, ‘हजुरआमा पढ्नुभएको थिएन, उहाँ पनि हाम्रो पढाइमा निकै ख्याल गर्नुहुन्थ्यो, पढ्नका लागि उत्साहित बनाउनुहुन्थ्यो ।’ परिवारका पाका सदस्यहरुले पढ्न नपाएको भोक सन्तानको पढाइका लागि बल बन्न पुग्यो । डा. महतोले पनि पढाइमा कहिल्यै अल्छी गरेनन् । साँझपख हल्लाखल्ला हुने भएकाले उनकी हजुरआमा विहानै तीन—चार बजे नै उठाइदिन्थीन्, उनी उठेर मज्जाले पढाइमा लीन हुन्थे । त्यो बेला कापी, किताब र कलमहरु गाउँका लागि धेरै महंगो हुन्थ्यो, एकदमै बचाएर पढ्नुपथ्र्यो । किताब एक कक्षाबाट अर्को कक्षाका विद्यार्थीमा हस्तान्तरण हुँदैं धेरै कक्षासम्म पुग्थ्यो । झुत्रो भैसक्दासम्म किताबहरु सिनियर क्लासबाट जुनियर क्लासमा हस्तान्तरण भैरहन्थ्यो ।

स्कुलले विद्यार्थीलाई पढ्न प्रोत्साहित गर्नका लागि स्कुल टप गर्ने विद्यार्थीलाई एक कक्षा चढाउने नपढेरै अर्को कक्षामा चढाउने व्यवस्था थियो । उनले कक्षा ४ मा टप गरेपछि ६ कक्षामा भर्ना हुने अवसर पाएका थिए । तर, सधैं टप हुने भएकाले त्यो प्रोत्साहन लिएनन् । ‘अहिले पनि त्यो क्लास जम्प नगरेकै कारणले मेरो बेस बलियो बन्योजस्तो लाग्छ,’ उनी आत्मसमीक्षा सुनाउँछन्, ‘त्यो पाउनका लागि एक वर्षको पैसा बाँच्ने भएकाले पनि विद्यार्थीहरु उत्साहित हुन्थे । तर, मैले त्यो लिइनँ ।’ त्यो बेला स्कुलमा संस्कृत पनि पढाइ हुन्थ्यो, संस्कृतका शिक्षक एकदमै कडा थिए । ‘ती शिक्षकले निकै पिट्थे, धेरै विद्यार्थी उहाँलाई देख्ने बितिकै याद गरेको सबै बिर्सन्थे,’ महतो विद्यार्थी किस्सा खोल्छन्, ‘मलाई सबैभन्दा बढी गणित मन पथ्र्यो ।’

स्कुले जीवन एउटा घटना उनलाई अहिले निकै रोमान्चित तुल्याउँछ । उनी एकपटक हाजिरीजवाफ प्रतियोगितामा जिल्लाबाट क्षेत्रीयस्तरको प्रतिस्पर्धाका लागि छनोट भए । सिरहाबाट उनीसहित २ जना क्षेत्रीय प्रतिस्पर्धाका लागि धनकुटा जानुपर्ने भयो । ‘त्यो बेला खुशी भएर बुवाले पाइजामा किनिदिनुभएको थियो,’ महतो सुनाउँछन्, ‘त्योभन्दा पहिले मैले कहिल्यै फुल पाइन्ट लगाएको थिइन्, हाफपाइन्ट मात्र लगाउथे ।’ अर्को स्मरणीय पक्ष त्यो उनको पहिलो पहाडको यात्रा थियो । ‘एक त नयाँ लुगा पाइयो, अर्को जिल्लाको प्रतिनिधित्व गर्न पाउनु ठूलो रिवार्ड हो,’ उनी भन्छन् ।

पढाइ राम्रो भएपनि उनको ‘ह्याण्ड राइटिङ’ त्यति राम्रो थिएन् । एसएलसीमा त्यही ‘ह्याण्ड राइटिङ’ले असर पार्लाकी भन्ने चिन्ता उनीमात्रै होइन्, उनको स्कुलका सरहरुलाई पनि थियो । किनभने, सिंगो स्कुलमा नै उनी एसएलसीमा फष्ट डिभिजन ल्याउँछन् भन्ने आशा गरिएका विद्यार्थी थिए । पुरानो शिक्षा योजनाको अन्तिम ब्याच महतोले वि.सं. २०३३ सालमा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे । त्यो बेलाको एसएलसी साँच्चिकै ‘आइरन गेट’ मानिन्थ्यो । डा. महत्तोको गाउँमा पनि त्यो भन्दा पहिले ४—५ जनाले मात्रै एसएलसी पास गरेका थिए भने त्यो एरियामै फष्ट डिभिजन ल्याउने उनी पहिले थिए । उनले फष्ट डिभिजन ल्याएपछि स्कुलको प्रतिष्ठा पनि बढ्यो ।

महतो जहाँ हुर्किए, त्यो ठाउँ कम्युनिष्टहरुको एरिया थियो । जयगोविन्द साह त्यो बेलामा चर्चित कम्युनिट नेता । महतो अलि डरपोक स्वभावका थिए, त्यसैले उनी न कहिल्यै राजनीतिमा अगाडि देखिए्, न त कहिल्यै झगडा गरे । अहिले उनलाई लाग्छ—म यही कारण धेरै पटक हेपिए ।

पुल्चोकदेखि बेलारुसम्म

डा. महतो सुरुमा चिकित्सक बन्न चाहन्थे । स्कुल पढ्दैं गर्दा एकदिन कक्षामा एक जना शिक्षकले इन्जिनियरका उदाहरण दिदैं भने, ‘इन्जिनियरले हामी पढिरहेको घरमा कति इट्टा र सिमेन्ट लागेको छ भनेर पनि थाहा पाउँछन् ।’ महतोलाई ताज्जुब लाग्यो । कसरी हुन्छ यो ? शिक्षकले उनलाई बेलिविस्तार लगाए । त्यही बेलामा दिमागमा बुनिरहेको सेतो कोट भिरेर बिरामी चेक गर्ने उनको सपनामा दोधार उत्पन्न भयो ।

जे बनेपछि उच्च शिक्षा लिनका काठमाडौं आउनैपथ्र्यो । डा. महतो एसएलसीको रिजल्टपछि पढाइका लागि पहिलोपल्ट काठमाडौं आए । फूपाजु राजनीतिमा भएकाले काठमाडौं आइरहन्थे । उनले नै डा. महतोलाई पढाइका लागि गाउँबाट काठमाडौं ल्याएका थिए । ‘त्यो बेला बस चढ्नु नै ठूलो कुरा थियो । उहाँले हात समाएर बच्चा डोर्‍याएजस्तै डोर्‍याएर ल्याउनुभएको थियो,’ उनी भन्छन् । त्यहाँबाट काठमाडौं आएपछि फूपाजुसँगै महतो केही समय खिचापोखरीमा लजमा बसे । भर्नाका लागि पुल्चोक र अमृत साइन्स क्याम्पस (अस्कल) मा इन्ट्रान्स दिए । यति बेलासम्म पनि उनी इन्जिनियर बन्ने कि डाक्टर बन्ने कन्फ्युजनमै थिए । ‘त्यसैले अमृत साइन्स कलेज र पुल्चोक इन्जिनियरिङ कलेजमा पनि इन्ट्रान्स दिए,’ उनी भन्छन् । अमृत साइन्सको रिजल्ट निस्क्यो उनी पास भए, इन्जिनियरिङमा नाम ननिस्केलाका लागि भन्ने दोधारकाबीच उनले त्यहाँ भर्ना गरिहाले । केही दिनपछि नै पुल्चोकमा पनि नाम निस्कियो ।

२०३४ सालमा उनी अमृत साइन्स क्याम्पसमा भर्ना भएको अवस्थालाई छाडेर ओभरसियर पढ्न पुल्चोकमा इन्जिनियरिङ क्याम्पसमा भर्ना भए । गाउँबाटै सँगै एसएलसी पास गरेका ३ जना साथीहरु उच्च शिक्षा पढ्नका लागि काठमाडौं आएका थिए । महतो ती साथीहरुसँगै बागबजारमा कोठा भाडामा लिएर बस्न थाले । बागबजारबाट पुल्चोक जान सिंहदरबार पुगेर गाडी चढ्थे । केही समय साथीहरुसँग बागबजारको डेरामा बसेपछि विस्तारै कलेजका साथीहरुसँग हिमचिम बढ्यो । उनी पुल्चोक कलेज नजिकै डेरा सरे । पुल्चोकमा सेमेष्टर सिष्टममा पढाइ हुन्थ्यो । केटीहरुभन्दा केटाहरुकै बाहुल्यता थियो । सिभिलमा १—२ जना केटीहरु थिए, आर्किटेक्चरमा अलि बढी । ‘एभरेजमा ८०—२० को अनुपात हुन्थ्यो,’ उनी सुनाउँछन् । कलेजको वातावरणमा राजनीतिक गर्नेहरु एकदमै युनियनबाजी गर्थे । तर, महतो कहिल्यै त्यसमा लागेनन्, पढाइमै बढी केन्द्रित भए ।

कलेजमा सुरुका दिनहरु काठमाडौंमा उनको चिनजानका धेरै जना थिएनन् । सिरहाका एकजना राइजिङ नेपालमा काम गर्थे । ती उनका फूपाजुका साथी थिए । शनिबार बिदाका दिन महतो हिडदैं उनलाई भेट्न सोल्टीमोडमा रहेको घरमा पुग्थे । पुल्चोकमा पढ्दा उत्कृष्ट नम्बर ल्याउनेलाई छात्रवृत्ति दिइन्थ्यो । छात्रवृत्ति पाउँदा घरमा लोड पनि कम पथ्र्यो । उनले चारवटै सेमेष्टरमा उत्कृष्ट नम्बर ल्याएपछि छात्रवृत्ति पाए । उनको पहिलो सेमेष्टरका अन्तिम दिनहरु चलिरहेका थिए, त्यो बेला डा. महतोको जीवनमा कहिल्यै नबिर्सने एउटा घटना घट्यो । महतोसँगै एउटै कोठामा दुई जना अन्य साथीहरु बस्थे । त्यसमध्ये एक जना राम्रो परिवारका व्यक्ति थिए, उनका परिवारका सदस्यहरु सरकारी जागिरे थिए । महतो फष्ट सेमेष्टरमा पढ्थे भने ती व्यक्ति तेस्रो सेमेष्टरमा । सेमेष्टर सकिने बेला थियो, डा. महतोले ७५० रुपैयाँ छात्रवृत्ति पाए । ‘त्यो बेलासम्म मैले घडि लगाउन पाएको थिइन् । मलाई घडि लगाउने निकै ठूलो चाहना थियो,’ महतो सम्झन्छन् ।

सोल्टीमोडमा बस्ने उनका चिनजानका मान्छेका साथी पाइलट थिए । शनिबार बिदाको दिन उनको घरमा जाँदा सिंगापुर उडेको, हङकङ गएको भनेर चर्चा हुन्थ्यो । ‘मलाई घडि किन्न निकै मन । उता सस्तोमा घडि पाइने किनेर ल्याइदिन्थे । मैले त्यो स्कलरसीप घडिका लागि राखेको थिए,’ महतो भन्छन्, ‘शनिबार दिन मलाई पनि एक घडि ल्याइदिनुहोस् भन्न गएको थिए । बेलुका कोठामा फर्किदा त टिनको बाकसमा ताला तोडेर त्यो पैसा चोरी भैसकेको रहेछ ।’ पैसा चोरी भएपछि पुलिसमा कम्प्लेन गर्ने कुरा चल्यो । तेस्रो सेमेष्टरमा पढ्ने उनका रुममेट नै पुलिसमा कम्प्लेन गर्दा लफडा पर्छ भनेर तर्साउन थाले ।

‘यतिकै चुपचाप बस,’ उनका रुममेटले भने, ‘पुलिसमा केस गर्दा लफडामा परिन्छ ।’

घडि किन्ने भनेर छात्रवृत्तिको सबै पैसा चोरिएको कुरा उनले कानुन पढिरहेको छिमेकी गाउँका साथीलाई सुनाए । ती साथी बडिबिल्डरजस्तो हट्टाकट्टा शरीर भएका थिए । ती व्यक्तिसँग मानिसहरु डराउथे पनि । महतोका कानुन पढिरहेका ती साथीले सबै कुरा सुनिसकेपछि भने, ‘यो चोरेको तिम्रै कोठाकै साथीले पनि हुन सक्छ । कम्प्लेन नगर भन्छ भने त्यसको पनि काम हुन सक्छ । भोलि हामी पनि आउँछु त्यो सँग कुरा गरौंला ।’ भोलिपल्ट कोठामै पुगेर उनले चोरलाई जसरी पनि पत्ता लगाउने थ्रेट मात्रै दिएनन्, भोलि अरु पनि साथी लिएर चोर पत्ता लगाउने बताएर गए । भोलिपल्ट थर्ड सेमेस्टरमा पढिरहेका महतोका रुममेट एकाएक गायब भए ।

डा. महतोलाई अहिले लाग्छ—त्यो घटनाले जीवनको पहिलो घडि किन्ने सपना मात्रै तुहिएन्, एक जनाको करिअर पनि बिग्रियो । किशोरवयको यो घटना उनलाई अहिले कताकता नमिठो अनुभूति गराउँछ । अर्को समस्या के थियो भने त्यो बेला साँझ ६ बजेपछि मधेशीमूलका मानिसलाई कुपण्डोलको वागमती पुल काट्न सहज थिएन । भन्छन्, ‘पहाडी साथीसँगै छैन भने कुपण्डोलमा ६ बजेपछि हामी जानै सक्दैन्थ्यौं, अहिले पनि त्यो छाप कुपण्डोलको पुल क्रस गर्दा जहिल्यै याद आउँछ ।’ डिप्लोमा सकिदाका दुई वर्षसम्म उनले कहिल्यै त्यो साँझ ६ बजेपछि एक्लै काट्ने साहस जुटाउन सकेनन् ।

डिप्लोमा सकेपछि उनको ब्याचका १०—१२ जनाले एकै पटक मोरङ—सुनसरी सिचाइ परियोजनामा जागिर पाए । प्रोजेक्ट बढी टेक्नीकल म्यानपावर संख्या कम भएको त्यो बेलाको समयमा सजिलै जागिर पाएका थिए । झण्डै तीन हजार जति तलब खाने ओभरसियर थिए, उनी । पहिलो तलबबाट महतोले बुवाका लागि सानो रेडियो किनेका थिए । एक वर्षजति त्यहाँ काम गर्दा उनी दुई/तीन महिनामा काठमाडौं आइरहन्थे । इन्जिनियरिङ पढ्ने इच्छा थियो । छात्रवृत्तिका काम काठमाडौंबाटै हुन्थ्यो । त्यही कारण महतो अवसरको ढोका ढकढकाउन बेला—बेलामा काठमाडौं आउँथे ।

सन् १९८२ मा रसियामा सिभिल इन्जिनियरिङ पढ्नका लागि छात्रवृत्ति पाए । काठमाडौंबाट धेरै टाढा नगएका १९ वर्षे ठिटोका लागि रसियाको पहिलो विदेश यात्रा बन्न पुग्यो । सम्झन्छन्, ‘अलिकति रोमान्चकता र अलिकति भय मनमा थियो ।’ तत्कालीन समयमा नेपालबाट सोभियत संघमा धेरै मानिसहरु छात्रवृत्तिमा पढिरहेका हुन्थे । महतोलाई एयरपोर्टमै लिन तिनै सिनियर दाइहरु आएका थिए । ‘उहाँहरुले मलाई विदेशमा गएकोजस्ता भान पार्न दिनुभएन्,’ उनी भन्छन्, ‘त्यहाँका सबै कुराहरु सिकाउनुभयो ।’ महतोलाई मस्कोबाट बेलारुसको क्यापिटल मिन्स्कमा पढनका लागि पठाइयो । सुरुमा त उनलाई मस्कोमै बस्न मन थियो, तर सिनियर दाइहरुले मिन्स्क राम्रो सिटी भएकाले जानका लागि सल्लाह दिए । महतो सुरुमा राम्रो लागेन भने एक वर्षमा फर्किनुपर्ला भन्ने सोचका साथ मिन्स्क पुगेका थिए । तर, मिन्स्कले मस्को बिर्साइ छाड्यो । एक वर्ष बेलारुस स्टेट युनिभर्सिटीमा भाषा पढे । त्यसपछि उनी बेलारसियन पोलिटेक्नीकल इन्स्टीच्युटमा सिभिल इन्जिनियरिङ पढ्न थाले ।

‘त्यहाँ २४ जनाको एउटा सेक्सन हुन्थ्यो, जसमा २० जना रसियन र ४ जना विदेशी,’ उनी सम्झन्छन्, ‘पहिलो वर्ष सिभिल पढेपछि दोस्रो वर्ष नेपालमा हाइड्रोपावरमा सम्भावना छ भन्ने लाग्योे । त्यही पढ्न दिन आग्रह गरे ।’ पढाइमा राम्रो भएकाले आग्रह गरेपछि डिनले उनको छनोटको विषय बदलिदिए । महतोले त्यहीबाट हाइड्रोपावर इन्जिनियरिङमा सन् १९८९ मा माष्टर्स गरे । सन् १९९३ मा पिएचडी सके र १९९६ मा डिएस्सी गरे । नेपाल हुँदा कहिल्यै विद्यार्थी युनियन काम नगरेका महतो रसियामा भने नेपाली विद्यार्थी युनियनमा सक्रिय भए । आफ्नो देशको संस्कृति, पयर्टन प्रवद्र्धनमा गर्नेे र त्यहाँ रहेका नेपाली विद्यार्थीहरुको हितमा यस्ता युनियहरु सक्रिय रहन्थे । डा. महतो सोभियत युनियन भरिकै विद्यार्थीको जनरल सेक्रेटरी र पछि प्रेसिडेन्ट पनि भए । त्यसले उनलाई सामाजिक जीवनमा कसरी घुलमिन हुने, कसरी काम गर्ने, अरुसँग सम्बन्ध निर्माण कसरी गर्नेजस्ता कुराहरु सिकायो । यतिमात्र होइन्, ६—७ वर्षको कार्यकालमा कन्फिडेन्ट, ग्लोबल एक्स्पोजर, रिलेसनजस्ता धेरै अवसर उनले त्यहाँ रहेर हासिल गर्ने अवसर पाए ।

(डा. महतोको व्यवसायिक यात्रा अर्को भागमा समेटिनेछ ।)

तस्वीरहरूः महेश प्रधान


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ