२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलहेलिकप्टर र ग्राउण्ड इमर्जेन्सी सर्भिसमा जमेका युवा चिकित्सक डा. सन्जय

हेलिकप्टर र ग्राउण्ड इमर्जेन्सी सर्भिसमा जमेका युवा चिकित्सक डा. सन्जय

जसले नेपालमा भित्र्याए ‘प्रि–हस्पिटल केयर’ सेवा


डा. सन्जय कार्की इमर्जेन्सी मेडिसिनका चिकित्सक हुन् । नेपालमा चल्तीका इमर्जेन्सी मेडिसिनका चिकित्सकहरुभन्दा फरक उनी र उनको टिमको धेरैजसो समय आकाश/एम्बुलेन्समा बित्छ । देशका कुना—कन्दरामा गम्भीर बिरामी भएर मृत्युसँग लडिरहेका बिरामीलाई प्रि–हस्पिटल केयरको सुविधासहित काठमाडौंका सुविधासम्पन्न अस्पतालमा ल्याउँछन् र नयाँ जीवन दिन्छन् । हेलिकप्टरमै भेन्टिलेरसहितको सुविधा दिएर त्यस्ता बिरामीलाई अस्पताल पु¥याउनका लागि उनले एउटा विशेष टिम नै बनाएका छन् ।

त्यही विशेष टिमको सहयोगमा यी जोधाहा चिकित्सकले पछिल्ला साढे चार वर्षमा मात्रै झण्डै ७ सय बढी बिरामीलाई नेपालका विभिन्न ठाउँहरुबाट उद्धार गरेर काठमाडौंको नेपाल मेडिसिटी अस्पतालको अत्याधुनिक उपचार कक्षमा पु¥याएका छन् । ‘मेडिसिटी अस्पतालमा मात्रै ७ सय जति क्रिटिकल बिरामी हाम्रो टिमले गएर ल्याएको छ,’ हालैको एक मध्यान्ह हेल्थआवाजसँग उनले भने, ‘हजार पटकभन्दा बढी यो अस्पतालको छतमा हेलिकप्टर ल्याण्ड गरिसकेको छ । सुदूरपश्चिमदेखि सुदूरपूर्वसम्मका बिरामीलाई उद्दार गरी ल्याएका छौँ ।’

त्यसबाहेक उनले ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा सन् २०१३ देखि यो सुविधा सुरु गरेका थिए । सन् २०१६ मा हेलिकप्टरबाट मात्र नभई एम्बुलेन्सबाट समेत अत्यन्त गम्भीर बिरामीलाई एक अस्पतालबाट अर्को अस्पतालमा सिफ्ट गर्ने कार्य थालनी गरी प्रि—केयर हस्पिटल केयर विभाग नै सुरुवात भएको थियो । हाल नेपालमा मेडिसिटी, ग्राण्डी र ह्याम्स गरी तीन वटा हस्पिटलमा प्रि—हस्पिटलको केयर विभाग छ । नेपाल मेडिसिटी अस्पतालको इमर्जेन्सी विभागका प्रमुख युवा डा. कार्कीको नेतृत्वमा अहिलेसम्म हजारौंको संख्या बिरामीले हेलिकप्टर र एम्बुलेन्सबाट प्रि—हस्पिटल केयरको सुविधा पाइसकेका छन् ।

डा. कार्कीको मुल घर काभ्रेको बनेपा हो । उनी काठमाडौं जन्मिएर यही हुर्किएका हुन् । बुबा नानीराम कार्की र आमा सरस्वती कार्कीका दुई सन्तानमध्ये उनी एक हुन् । उनका बुबा स्वास्थ्य मन्त्रालयअन्तर्गत नेपाल मलेरिया इराडीकेसन अर्गनाइजेशनमा काम गर्थे भने आमा कृषि विकास बैंककी जागिरे थिइन् । हाल उनी आमाबुवा, श्रीमती र छोरासहित मीनभवनमा बस्छन् ।

बुवाआमा नै पढेलेखेका भएकाले उनको घरमा शिक्षादीक्षा माहोल राम्रो थियो । डा. कार्कीले बानेश्वरको अमर आदर्श माध्यमिक विद्यालयमा नर्सरीदेखि ६ सम्म अध्ययन गरे । ७ कक्षामा उनी सिद्धार्थ वनस्थली गए । उनले सिद्धार्थ वनस्थलीबाटै प्रथम श्रेणीमा एसएलसी उतीर्ण गरेका हुन् । स्कुलमा हुँदा सम्भवतः उनी एक दिन पनि गयल नहुने विद्यार्थी हुन् । ‘स्कुलको लगाव थियो । ९/१० मा पुग्दा कृषि, ऐच्छिक गणित र स्वास्थ्य मन पथ्र्यो,’ उनले भने, ‘आमा कृषि विकास बैंकमा काम गर्ने भएर होला मलाई त्यता ध्यान गएको हुनसक्छ ।’

त्यसपछि थप उच्च शिक्षाका लागि उनी दक्षिण भारतको विवेकानन्द जुनियर कलेजमा गए । त्यहाँबाट उनले आईएस्सी अध्ययन सके । उनको सानो छँदाको रुचि पाइलट बन्ने थियो । किनभने, एयरपोर्ट नजिकै बसोबास भएकाले उनले नजिकबाट हवाईजहाजहरुले फन्को मारेको र आकाश नापेको देखेका थिए । ‘मैले नजिकबाटै जहाज उडेको देखेको थिए, कहिलेकाही एयरपोर्टमा प्लेन हेर्ने अवसर पनि हुन्थ्यो,’ उनी सुनाउँछन्, ‘त्यही कारण बालसुलभ चाहनामा मलाई पाइलट बनेर जहाज उडाउने रहर हुन्थ्यो ।’

तर, सपना र कर्मको गति सधैं उही लयमा हिड्दैंन् । उनले पाकिस्तानको डाउ मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि छात्रवृत्ति पाए । त्यहाँबाट एमबीबीएस सकेर उनी सन् २००३ मा नेपाल फर्किए । सन् २००४ मा उनले इन्टर्नसीप सकेपछि सन् २००५ मा नेपाल मेडिकल काउन्सिल (एनएमसी)बाट लाइसेन्स लिए । त्यसपछि उनले डाक्टरका रुपमा पहिलो जागिर काठमाडौं मेडिकल कलेजको इमर्जेन्सी विभागमा मेडिकल अधिकृतका रुपमा सुरु गरे ।

त्यही क्रममा सन् २००६ मा उनले माष्टर्सका लागि युरोप जाने अवसर पाए । ‘युरोपियन अफिसियल डबल माष्टर्स इन हेल्थ एण्ड वेलफेयर भन्ने विषयमा माष्टर्स गर्न छात्रवृत्ति पाएँ,’ उनले भने, ‘ युनिभसिट्याट अटोनोमा डे बार्सिलोना र फ्रान्समा गरी दुई माष्टर्स सकाए ।’ यही बेला सन् २००७ मा उनले भाल्डी ह्याबरोन हस्पिटलमा पहिलो पटक हेलिकप्टरबाट बिरामीलाई इमर्जेन्सी उद्धार गरेको देखेका उनले त्यहीबेलादेखि नेपालमा पनि यो सुविधा उपलब्ध गराउन सकिएला भनेर कल्पना गरेका थिए । माष्टर्स सकेर स्वदेश फर्किएपछि उनले ग्लोबल फण्डअन्तर्गत रहेर स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)अन्तर्गत मलेरियाको मनिटरिङ एण्ड इभ्यालुएसन अधिकृतका रुपमा सिन्धुली/मोरङमा जागिर गरे ।

त्यही क्रममा उनलाई हल्याण्डमा तालिम गर्ने अवसर प्राप्त भयो । ‘डक्टर्स विथ आउट बोडर्स’को तालिम सकेपछि उनी बर्माको रकाइन भन्ने ठाउँमा काम गर्न गए । ‘मेडिकल डाक्टरको रुपमा त्यहाँको विकट क्षेत्रको ५ वटा क्लिनिक हेर्नुपथ्र्यो,’ उनले सुनाए, ‘१ वर्ष जति त्यहाँ काम गरे ।’ रकाइनमा इमर्जेन्सी अवस्थामा काम गर्दागर्दा उनलाई त्यही विषयमा विशेषज्ञता हासिल गर्ने इच्छा जाग्यो । त्यसैले सन् २०१० मा उनी इमर्जेन्सी मेडिसिनमा माष्टर्स गर्न चीन गए । चीनको उत्तरी भागमा रहेको नर्मन बेथुइन कलेज अफ मेडिसिनबाट सन् २०१३ मा एमडी सकेर फर्किए ।

हवाई तथा ग्राउण्ड उद्धारमा खट्दैं : ग्राण्डीदेखि मेडिसिटीसम्म

डा. कार्की हिल्सामा

सन् २०१३ मा चीनबाट एमडी गरेर फर्केपछि डा. कार्की ग्रान्डी अस्पतालमा इमर्जेन्सी मेडिसिनमा प्राक्टिस गर्न थाले । ‘इमर्जेन्सी मेडिसिनमा प्रि—हस्पिटल केयर कन्सेप्ट परिहाल्छ,’ डा. कार्की भन्छन् ‘तर, नेपालमा त्यसको विकास भैसकेको थिएन् । हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिसको पनि कन्सेप्ट थिएन । त्यही समयमा ग्रान्डी अस्पतालमा हेलिप्याड बनेको हुँदा मैले ग्रान्डीमा जागिर खाए ।’ ग्राण्डीको व्यवस्थापनबाट पनि उनले निकै सहयोग पाए ।

सन् २०१३ अगाडि नै बयोधा अस्पतालको छतमा हेलिप्याडको सुविधा भएपनि ‘हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिस’को कन्सेप्ट भने सन् २०१३ देखि ग्राण्डी अस्पतालबाटै थालनी भएको हो । क्रमसः यसको विस्तार हुँदै गयो । यो यात्राका क्रममा उनले विकट ठाउँमा गएर हेलिकप्टर सेवा दिने, हिमाली क्षेत्रमा समेत पुगेर उद्दार गरी बिरामी ल्याउने काम गरे । उनको उत्कृष्ट योगदानका कारण सन् २०१४ को अन्तिममा बेलायतको वोल्र्ड एक्सट्रीम मेडिसिनले उनलाई ‘डेभिड वेल एक्ट्रीम मेडिसिन वर्षरी एवार्ड’का लागि बोलायो । उनले बेलायत गए ।

यही बेला डा. कार्कीले जर्मनीको युनिभसिट्याट लाइपजीकको पल्मोनोलोजी विभागमा मेडिकल साइनटिस्ट भएर अनुसन्धान गर्ने अवसर पाए । त्यसका लागि सन् २०१४ को अक्टोबरदेखि सन् २०१५ को अक्टोबरसम्म एक वर्ष उनले जर्मनीमा बिताए । नेपाल फर्किएर पुनः ग्रान्डीमा प्रि—हस्पिटल केयर कन्सेप्टमै काम गर्न थाले । त्यसपछि हेलिकप्टरबाट मात्रै हुँदैन्, अब काठमाडौँका अस्पतालमा जीवनरक्षक औषधी चलिरहेका र भेन्टिलेटरमा भएका बिरामी आवश्यक परेका बेला एम्बुलेन्सबाटै एकबाट अर्को अस्पतालमा सार्नुपर्छ भन्ने कामका लागि खटिए ।

त्यसका लागि गतिलो टिम वर्कको खाँचो पर्छ । उनले हस्पिटल वेस्ड प्रि—हस्पिटल केयरको अवधारणाअनुरुप काम सुरु गर्न सन् २०१६ को फ्रेवअरीमा ग्रान्डीमा प्रि—हस्पिटल केयर डिपार्टमेन्ट नै खोले । जुन नेपालमै पहिलो हो । यसले गम्भीर अवस्थाका बिरामीलाई हेलिकप्टर तथा एम्बुलेन्सबाट ओसार–पसार गर्ने काममा कोशेढुंगाका रुपमा काम ग¥यो । यसैबीच उनले पुनः जर्मनी पुगेर ‘एभिएसन मेडिसिन’को डिप्लोमा समेत हासिल गरे ।

सन् २०१७ मा डा. कार्कीले अमेरिकाको ‘इएमएस टेन इनोभेटर्स’ एवार्ड प्राप्त गरे । सन् २०१७ सेप्टेम्बरदेखि भैसेपाटीमा नेपाल मेडिसिटी अस्पताल खुल्यो । डा. कार्की अस्पताल सुरुवातदेखि नै मेडिसिटीको इमर्जेन्सी तथा प्रि—हस्पिटल केयर विभागको नेतृत्व गरिरहेका छन् । ‘हाम्रोमा इमर्जेन्सी र प्रि–हस्पिटल केयर विभाग मर्ज गरेर काम हुन्छ,’ डा. कार्कीले भने, ‘हाम्रोमा ५ जना तालिमप्राप्त पारामेडिक्स छन्, जसले हेलिकप्टर र एम्बुलेन्स दुवै हेर्नुपर्छ । ६ जना जति स्पेशलिष्ट डाक्टर र ५ जना मेडिकल अधिकृत छन् । २४ जना अनुभवी नर्सहरुको टिम छ ।’ उनकाअनुसार ३ वटा हेलिकप्टर एकैपटक उडाउँदा पनि मेडिसिटीको टिम उद्दार गर्न सक्षम छ । यही विषयलाई लिएर उक्त विभागले विगत ६ महिनामा २ वटा पिएर रिभ्यु अन्तर्राष्ट्रिय जर्नलमा पेपर प्रकाशित गरेको छ ।

डा. कार्कीले सधैं धपेडी, सधै तनाव हुने यो फिल्ड किन रोजे ? ‘इमर्जेन्सी मेडिकलमा प्राक्टिस गर्ने चिकित्सक भएकाले अत्यन्त गाह्रो परेको बिरामीको उपचार गर्न पाए हुन्थ्यो भन्ने थियो,’ उनले कारण खोले, ‘कयौ बिरामीलाई एउटा निर्धारित समयमा नै रोगको पहिचान गरी उचित उपचार गर्न सके, धेरैको जीवन रक्षा गर्न सकिन्छ । उदाहरणका लागि हर्टअट्याक भएको बिरामीलाई डोर टु बेलुन टाइम क्याच गर्नुपर्ने हुन्छ भने स्ट्रोक भएका बिरामीलाई साढे तीन घण्टाभित्रमा कुनै स्पेसिफिक औषधी प्रयोग गर्न सके बिरामीको अगाडि क्षति हुनबाट जोगिन्छ । यस्तै, गम्भीर ट्रमाका बिरामीलाई पनि इमर्जेन्सी इन्टरभेन्सन समयमा नै गर्न सके धेरै हदसम्म बिरामीलाई नयाँ जीवन दिन सकिन्छ । यसका लागि हेलिकप्टर तथा हाइल्ली एडभान्स एम्बुलेसन्स जरुरी पर्छ ।’ यस्तै, गम्भीर प्रकृतिका बिरामीको जीवन रक्षा गर्न पाइने भएकाले उनले इमर्जेन्सी मेडिसिन रोजेका हुन् ।

यतिमात्रै होइन्, हुम्लाको हिल्सा पुगेर पनि उनले क्रिटिकल पर्यटकको उद्धार गरेका छन् । एक जना साउथ इण्डिन पर्यटक, जो मलेसियन नागरिक थिए । चीनको कैलाशमा पुगे । त्यहाँ कोल्याप्स भए, त्यहाँ भेन्टिलेटेड गरियो । कैलाशबाट उनलाई चिनियाँ चिकित्सकको सहायताले नेपाल—चीन सीमा रहेको हिल्सा ल्याइयो । हिल्साबाट ती बिरामीलाई उद्धार गर्न डा. कार्कीसहितको टोली गयो । ‘बिरामी लिएर काठमाडौँ फर्किदै गर्ने क्रममा दाङ उपत्यकातिर आइपुग्दा मौसम बिग्रियो,’ उनले कठिनाई सुनाए, ‘नेपालगंज मेडिकल कलेजका चिकित्सकहरुसँग कुरा गरेर त्यही आईसीयूमा त्यो रात राख्यौं ।’

ती बिरामीका लागि सिंगापुरबाट एयर एम्बुलेन्स काठमाडौं आइसकेको थियो । भोलिपल्ट ती बिरामीलाई नेपालगन्जबाट काठमाडौं एयरपोर्ट ल्याएर उक्त एयर एम्बुलेन्समा आएको टिमलाई ह्याण्डओभर गरियो । ‘यस्ता केसहरु सबै अनौठो र चुनौतीपूर्ण हुन्छन्,’ उनले जोशिलो मुडमा भने, ‘कोभिडका बेला हेलिकोप्टरबाट बिरामी लाने काम धेरै देशले गरेनन् । तर, हामीले एयरलाइन्सहरुसँग कुरा गरेर पीआईयु (पासेन्ट आइसोलेसन युनिट) विदेशबाट ल्याउने सल्लाह गर्यौं । हेलिकप्टर कम्पनीहरुले त्यो किनेर फिट गरे ।’ कोभिड–१९ संक्रमणबाट गम्भीर भएका सयौं बिरामीलाई डा. कार्कीको टिमले देशका विभिन्न भागमा पुगेरर भेन्टिलेटरमा राखेर काठमाडौं ल्यायो ।

फुर्सद नपाउने चिकित्सक

इमर्जेन्सी मेडिसिनमा काम गर्ने अधिकांश चिकित्सकले पहिला नै दिमागलाई अधिक व्यस्तताका लागि तयार पारिसकेका हुन्छन् । कुन बेलामा कस्तो बिरामी आउने हो निश्चित हुँदैन् । ‘जीवन तनावपूर्ण नै हुन्छ,’ डा. कार्की भन्छन्, ‘हामी दिनभरी फुर्सदले बस्न पाइरहेका हुँदैनौं । फोन उठाउने, खाजा खाने मात्रै होइन्, शौचालय जाने समय पनि नहुन सक्छ ।’ उनको फोन २४ सैं घण्टा अन हुन्छ ।

विदा मुस्किलले हुने भएकाले मनोरन्जका लागि खासै समय हुँदैन् । फुर्सदको समयमा परिवारमा बस्दा पनि फोन आइरहेका हुन्छ । ‘सन् २०१३ देखि अहिलेसम्म एक दिन घुम्न नगरकोट जाउ, पोखरा जाउ भन्ने खालको समय छैन,’ उनले भने, ‘मोबाइलमा टावर नहुँदा पनि कतै केही भैसक्यो कि भनेर झंसग हुने गरिन्छ ।’

डा. कार्की शाहाकारी हुन् र उनी अध्यात्मिकतामा अत्यन्तै विश्वास राख्छन् । विहान पौने ७ बजेतिर उठछन् । फ्रेस हुन्छन्, आधा घण्टा मन्त्र जप गर्छन् । ठीक साढे ७ बजे आमाले पकाएको खाना खान्छन् । जसमा दुई थरी तरकारी, एक कचौरा भात, एक कचौरा दाल र साग नियमित हुन्छ । दुध दैनिक खाने गर्छन् ।

त्यसपछि अफिसका लागि निस्कन्छन् । दिउँसोको खाजाको व्यवस्था अस्पतालमै हुन्छ । अफिस सकेपछि उनी घर फर्कन्छन् । घरमा साँझ श्रीमतीले बनाएको खानामा दाल, भात, तरकारी, साग र दुध हुन्छ । केही समय फ्यामिलीसँग बिताउँछन् । उनी बेडमा पुग्दा १० देखि ११ बजिसकेको हुन्छ ।

अधिकांश समय उनी अस्पतालकै पहिरनमा हुन्छन् । ‘अस्पतालले लुगा दिइरहेको हुन्छ । त्यही सेट लगाएर घर जान्छु,’ उनले सुनाए, ‘हेलिकप्टरमा जाने बेलामा पनि छुट्टै ड्रेस हुन्छ ।’ त्यसबाहेक घरको सदस्यले जे जस्तो लुगा किनिदिन्छन्, उनी त्यही लगाउँछन् । यी व्यस्त चिकित्सकलाई के कुराले खुसी दिन्छ त ? भन्छन्, ‘बिरामी ठिक हुँदा खुसी लाग्छ । अत्यन्तै गम्भीर भएर इमर्जेन्सीमा आएका बिरामीलाई बचाउन सक्दा आनन्द मिल्छ ।’

के हो प्रि–हस्पिटल केयर ?

प्रि–हस्पिटल केयर कुनै पनि इमर्जेन्सी केस अस्पताल ल्याउनुअघि बाहिर गरिने उपचार पद्धति हो । प्रि—हस्पिटल केयरअन्तर्गत हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिस तथा ग्राउण्ड इमर्जेन्सी मेडिकल सर्भिस दुवै पर्छन् ।

ग्राउण्ड इमर्जेन्सी मेडिकल सर्भिस तीन मोडलबाट चल्छ । पहिलो ‘एंग्लो–अमेरिकन मोडल’ जो ‘स्कुप एन्ड रन’मा आधारित छ । दोस्रो ‘फ्रान्को–जर्मन’ मोडल जसमा डाक्टर पनि एम्बुलेन्ससँगै गएर फिल्डमै बिरामीको उपचार गरेपछि अस्पताल ल्याउने गर्छन् ।

तेस्रो मोडल ‘हाइब्रिड मोडल’ हो । जसमा आवश्यक परेको बेलामा डाक्टर पनि पारामेडिक्सका साथ एम्बुलेन्समै बसेर उद्धारमा जान्छन् । अन्यथा, पारामेडिक्स चाहिँ २४ सैं घण्टा एम्बुलेन्समा रहन्छन् । नेपालमा मात्र हैन ह्याब्रिड मोडल संसारको धेरै ठाउँमा चल्छ । नेपालका निकै कम अस्पतालमा मात्रै प्रि–हस्पिटल केयरको विभाग र यसका लागि छुट्टै टिमको व्यवस्था छ । जसमा मेडिसिटी, ग्राण्डी, ह्याम्सलगायतका केही अस्पतालको मात्रै नाम आउँछ ।

सन् १९४० मा हेलिकप्टरको आविष्कार भएको २४ वर्षपछि नेपालमा पहिलो हेलिकप्टर आएको हो । सन् १९९१÷९२ बाट मात्रै नेपालको आकाशमा अलि धेरै संख्यामा हेलिकप्टर उडेको पाइन्छ । अहिले ३० भन्दा बढी कमर्सियल हेलिकप्टरहरु नेपाली आकाशमा फन्को मार्छन् । जसमा एयरबस कम्पनीको बी३ई मोडलको हेलिकप्टर अत्याधिक संख्यामा छ ।

सुरुवाती अवस्थादेखि नै बिरामीहरुलाई हेलिकप्टरबाट ल्याउने गरिएतापनि त्यसमा बिरामीलाई ‘इनरुट मेडिकल इन्टरभेन्स’ गर्ने चलन थिएन । त्यसलाई सामान्य ¥यापिड ट्रान्सपोर्टका रुपमा मात्रै प्रयोग गरिन्थ्यो । सन् २०१३ देखि डिपार्टमेन्ट तथा टिम खडा गरी जटिलभन्दा जटिल बिरामी एक ठाउँबाट हेलिकप्टरबाट लग्ने कुराको थालनी भएको हो । विश्वको अति विकसित राष्ट्रहरुको कुरा गर्ने भनेपनि ती देशहरुले छोटो—छोटो दूरीमा मात्रै यस्ता रेस्क्यु गर्छन् । तर, नेपालमा लामो दूरीमा यस्ता मेडिकल इभाकुएसन हुने गर्छन् । ‘उदाहरणका लागि जर्मनीमा अधिकांश रेस्क्यु ८—१० मिनेटका हुन्छन् भने नेपालमा दुई घण्टाभन्दा बढीको दूरी पनि तय गर्छौ,’ डा. कार्की सुनाउँछन् ।

नेपालमा हेलिकप्टर इमर्जेन्सी मेडिकल सर्भिसमा चुनौती र सम्भावना धेरै छन् । आकाशमा उड्ने मात्रै डर नभएर बिरामीलाई पनि विशेष केयर गरेर ल्याउनुपर्ने हुन्छ । यो बढी खर्चिलो पनि छ । मौसममा भर पर्नुपर्ने अर्को चुनौती हो । ‘मौसमका कारण लिन गएको जनशक्ति त्यही बस्नुपर्ने अवस्था आउन सक्छ,’ उनी भन्छन्, ‘बिरामी ल्याउँदा–ल्याउँदै मौसम खराब हुने, कहिले अक्सिजन लिक हुने, भेन्टिलेटरको पाइपको सुरक्षाजस्ता स—साना कुरमा निकै ख्याल गर्नुपर्छ ।’ कहिलेकाहीं हेलिकप्टरको भाइब्रेसन, नोइज र एल्टीच्युडले मोनिटरमा पनि समस्या सिर्जना हुन सक्छ । हेलिकप्टरको सानो स्पेशमा एउटा मिनी आईसीयु नै तयार गर्नुपर्छ । पाइलटसँग मिलेर अनुभवी टिम भएकाले छिट्टै काम गर्ने सक्ने उनी बताउँछ्न् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #अमर आदर्श माध्यमिक विद्यालय, #इडिसिडी, #इमर्जेन्सी इन्टरभेन्सन, #इमर्जेन्सी मेडिसिन, #काठमाडौं, #ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, #डा. सन्जय कार्की, #डाउ मेडिकल कलेज, #नर्मन बेथुइन कलेज अफ मेडिसिन, #नेपाल मेडिसिटी अस्पताल, #प्रि–हस्पिटल केयर, #विवेकानन्द जुनियर कलेज, #सिद्धार्थ वनस्थली


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ