२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलसरकारी अस्पतालमा रमाउँदैं नयाँ पुस्ताका मुटु रोग विशेषज्ञ डा. विकास

सरकारी अस्पतालमा रमाउँदैं नयाँ पुस्ताका मुटु रोग विशेषज्ञ डा. विकास


पश्चिम नेपालका सरकारी अस्पतालहरुमध्ये नेपालगन्जको भेरी अस्पताल प्रमुख अस्पताल हो । यही अस्पतालमा मात्रै मुटुरोगका बिरामीहरुको उपचारका लागि क्याथ ल्याबको सुविधा छ । त्यही अस्पतालमा कार्यरत मुटु रोग विशेषज्ञ हुन्—३५ वर्षीय डा. विकास नेपाल । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाटबाट कार्डियोलोजीमा डिएम गरेका उनी भेरी अस्पताल पुगेपछि मुटु रोगका बिरामीको उपचारमा गति आएको छ । पश्चिम प्रमुख सरकारी अस्पतालमा थुप्रै मुटु रोगका बिरामीहरुले समयमै विशेषज्ञ सेवा पाउन थालेका छन् ।

उर्जाशील युवा चिकित्सक थपिएपछि भेरी अस्पतालको मुटु रोग विभाग पनि सशक्त बनेको छ । त्यसको परिणाम कामहरुमा देखिन थालेको छ । डा. नेपाल आएपछि भेरी अस्पतालमा हप्तामा ६ दिन नै मुटु रोगको ओपिडी र इको सेवा थालनी भएको छ । यसअघि एकजनामात्रै डिमएम कार्डियोलोजिष्ट हुँदा भेरी अस्पतालमा एक वर्षमा १ सयदेखि १ सय २२ वटासम्म मुटुरोगका बिरामीहरुको इन्टरभेन्सन हुन्थ्यो ।

तर, डा. नेपाल थपिएपछि भेरी अस्पतालमा ३ महिनामा नै आफ्नै नेतृत्वमा १ सय ५० जना बिरामीको इन्टरभेन्सन गरेर उपचार गरेका छन् । जसमा १० जनामा अस्थायी पेस मेकर, २ जनामा परमानेन्ट पेस मेकर राखिएको छ । करिब १ सय जना बिरामीको एन्जियोग्राफी ५० जनाको एन्जियोप्लाष्टी गरेर स्टेन्ट राखिएको छ ।

पश्चिम नेपालको पुरानो भेरी अस्पतालमा वि.सं. २०७५ सालमा करिब ६ करोड ५० लाखको लागतमा क्याथ ल्याब स्थापनापछि मुटु रोग विशेषज्ञ सेवा सुरु भएको हो । त्यहीबेलादेखि डा. कृष्ण अधिकारी फ्रन्टलाइनमा रहेर पश्चिम नेपालमा मुटुरोग विशेषज्ञका सेवा पु¥याउँदैं आएका छन् । डा. अधिकारीको नेतृत्वमा भेरी अस्पतालमा मुटुका बिरामीहरुमा पेस मेकर राख्नेदेखि एन्जियोग्राफी र एन्जियोप्लाष्टीसम्मको उपचार हुँदै आएको थियो । तर, एक्लै मुटु रोग विशेषज्ञ भएका कारण सेवाले धेरै गति भने लिन सकेको थिएन ।

मुटुरोगको उपचार सेवा सुरु भएको ५ वर्षपछि वि.सं. २०७८ असोजदेखि भेरी अस्पतालमा युवा मुटुरोग विशेषज्ञ डा. नेपाल थपिएका हुन् । डा. नेपालले हप्ताको आफ्नो पालो परेका दिनमा दैनिक २० जनासम्मको इको जाँच गर्छन् । ३ देखि ४ जनासम्मको क्याथल्यामा इन्टरभेन्सन गरेर मुटुका बिरामीको उपचार गरिरहेका छन् । पछिल्ला दिनहरुमा भेरी अस्पतालमा मुटु रोगका बिरामीहरुको अस्थायी र स्थायी रुपमा पेसमेकर राख्ने, एन्जियोग्राफी र एन्जियोप्लाष्टी धमाधम हुन थालेको छ । ‘अहिले काम गतिका साथ भइरहेको छ,’ उनले सुनाए, ‘मुटुरोगको विशेषज्ञ सेवा पश्चिम नेपालको सरकारी अस्पतालमै उपलब्ध हुनाले धेरै बिरामीलाई काठमाडौं र भारत जानुपर्ने बाध्यता हटेको छ ।’

हृद्धयघात भएका थुप्रै बिरामीले भेरी अस्पतालमै विशेषज्ञ सेवा पाउन थालेका छन् । जसले बिरामीको जीवन रक्षामा पनि ठूलो टेवा पु¥याएको छ । बिहान ७—८ बजे देखि राति १० बजेसम्म डा. नेपाल र उनको टिमले बिरामीको अवस्थाअनुसार पेस मेकर राख्नेदेखि एन्जियोग्राफी र एन्जियोप्लाष्टीसम्म गरेर उपचार गर्छ । भेरी अस्पतालमा दैनिक १६ घण्टासम्म क्याथ ल्याब संचालन हुन थालेको छ । मुटु रोगको उपचार सेवालाई विस्तार गरेर भेरी अस्पतालमै मुटुको भल्ब सम्बन्धी समस्या पिटिएमसी उपचार सुरु गर्ने तयारीमा डा. नेपालसहितको टिम जुटेको छ । डा. नेपालकाअनुसार नेपालगन्जको भेरी अस्पताल तथा त्यहाँका निजी क्लिनिकहरुमा औसतमा दैनिक करिब एक सय जना मुटुरोगसँग सम्बन्धित बिरामी उपचारका लागि आउने गर्छन् ।

जीवनशैलीलगायतका यावत कारणले मुटुरोगसँग सम्बन्धित बिरामीहरु पनि बढिरहेको पनि उनी बताउँछन् । ‘अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये करिब ७० प्रतिशत उच्च रक्तचाप सम्बन्धी बिरामी छन्,’ उनी भन्छन्, ‘मुटुको नसा साघुरो भएका र हार्ट फेलर सम्बन्धी समस्या भएका बिरामीहरुको संख्या पनि बढ्दो छ ।’ डा. नेपालकाअनुसार जन्मजात मुटुको समस्या भएका, मुटुको चालमा गडबडी भएका, मुटुको वरिपरी पानी भरिएका, मुटुको बाथ रोग सम्बन्धी समस्या भएका बिरामीहरु पनि उपचारका लागि भेरी अस्पतालमा पुग्ने क्रम बढ्दो छ ।

नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मुटुरोगी भएको अनुमान छ । जसमध्ये करिब ३० प्रतिशत वयस्कलाई उच्च रक्तचाप, २० प्रतिशतलाई कोलस्ट्रोल, १० प्रतिशतलाई मधुमेह र १ प्रतिशत बालबालिकामा बाथरोगको समस्या भएको अनुमान नेपाल हृद्धयरोग निवारण प्रतिष्ठानको छ । ‘सहरमा बस्ने करिब ५० प्रतिशत नेपालीहरुले आवश्यक व्यायामसम्म गर्दैनन्,’ डा. नेपाल भन्छन्, ‘चुरोट र सूर्ति सेवन गर्ने युवाहरुको संख्या बढ्दै गएका कारण नेपालमा मुटु रोगको जोखिम वर्षेनी बढ्दै गएको छ ।’ उनी धु्रमपान नगर्न, नियमित व्यायाम गर्न, तनावमुक्त रहन र शरीरको तौल नियन्त्ररणमा राख्न सुझाव दिन्छन् ।

को हुन डा. विकास ?

पुख्र्यौली घर पाल्पा भएका डा. विकासले वि.सं. २०५९ सालमा न्यु होराइजन बोर्डिङ स्कुल बुटबलबाट एसएलसी पास गरेका हुन् । त्यसपछि उनी थप उच्च शिक्षाका लागि काठमाडौं गए । काठमाडौंको निष्ट कलेजबाट विज्ञान संकायमा आईएस्सी उत्तीर्ण गरे । आईएस्सी पासपछि उनी डाक्टरी पढ्न बंगलादेश गए । सन् २०१२ मा उनले बंगलादेशबाट एमबीबीएस अध्ययन पूरा गरे । एमबीबीएस सकेर नेपाल फर्केपछि एक वर्ष लुम्बिनी मेडिकल कलेजमा काम गरे ।

लुम्बिनी मेडिकल कलेजमा काम गर्दागर्दै उनले सन् २०१४ एमडीको इन्ट्रान्स छात्रवृत्तिमा नाम निकाले । परिक्षाको तयारी गरे । भरतपुरको कलेज अफ मेडिकल साइन्सेजबाट सन् २०१७ मा उनले इन्टर मेडिसिनमा एमडी सके । एमडी सकेपछि एक वर्ष बुटबलको लुम्बिनी सिटी अस्पतालमा काम गरे ।

त्यही काम गर्दागर्दै डिएमको तयारी सुरु गरे । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा डिएम कार्डियोलोजीको लागि एउटा मात्रै सिट थियो । कार्डियोलोजीमा डिएम गर्न चाहने प्रतिस्पर्धीहरु सयौं थिए । डा. नेपालले पहिलो प्रयासमै सयौं विद्यार्थीलाई पछि पार्दै त्यही एक सिटमा नाम निकाले । त्यसपछि उनको सुपरस्पेसियालिटी डिग्री हासिल गर्ने बाटो खुल्यो ।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाटबाट कार्डियोलोजीमा डिएम सकेपछि उनलाई स्वास्थ्य मन्त्रालय छात्रवृत्ति करारअन्तर्गत २ वर्षका लागि नेपालगन्जको भेरी अस्पतालमा पठायो । भेरी अस्पतालमा डा. नेपालले नयाँ उत्साहका साथ मुटुरोगका बिरामीको उपचार गरिरहेका छन् । ३५ वर्षको उमेरमै कार्डियोलोजीमा डिएम गरेका डा. नेपालको हार्दिकतापूर्ण ब्यवहारसहितको उपचार सेवाबाट बिरामी र बिरामीहरुका आफन्तहरु पनि निकै खुसी छन् । भन्छन्, ‘हामी डाक्टरहरुलाई पनि बिरामी निको हुँदा काम गर्ने थप प्रेरणा र खुसी मिल्छ ।’


क्याटेगोरी : प्रोफाइल
ट्याग : #डा. कृष्ण अधिकारी, #डा. विकास नेपाल, #भेरी अस्पताल, #मुटु रोग


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ