२०७९ असार १३, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलडा. योगिता: नयाँ पुस्ताकी अब्बल नेत्र रोग विशेषज्ञ

डा. योगिता: नयाँ पुस्ताकी अब्बल नेत्र रोग विशेषज्ञ


डा. योगिता राजभण्डारी जति सुन्दर छन्, त्यतिकै उत्कृष्ट छ उनको एजुकेशनल पर्फमेन्स । सधैं उत्कृष्ट, सधैं छात्रवृत्ति । उनको खास ब्युटी हो । उनले रोजेको कर्म अझै सुन्दर छ । अध्यारोसँग जुधिरहेकाहरुलाई उज्यालो देखाउने कर्ममा सक्रिय यी नेत्र शल्यचिकित्सक हुन् । पढाइमा पनि सधैं अब्बल उनले स्कुलदेखि विशेषज्ञ चिकित्सक बनुन्जेल अध्ययनका लागि कहिल्यैं पैसा तिर्नु परेको छैन् । ‘बच्चादेखि अहिलेसम्म मैले पढाइका लागि पैसा तिरेकै छैन्,’ ३३ वर्षीया डा. योगिता भन्छिन् ।

सधैं अब्बल नतिजाको कारण के हो ? डा. योगिता भन्छिन्, ‘मुख्य त फ्यामिली सपोर्ट नै हो । पढाइमा कहिल्यै रोकटोक गर्नुभएन्, सधैं राम्रो वातावरण बनाइदिनुभयो ।’ त्यसो भए सधैं टप गर्ने फर्मुला के हो त ? आफूले कहिल्यैं टप गर्छु भनेर नपढेको बताउने उनी घोकेरभन्दा बुझेर पढ्नुलाई टप गर्ने सुत्र मान्छिन् ।

सफलताका लागि भौतारिने युवाहरुका लागि डा. योगिताको यो अब्बलता प्रेरणा हुन सक्छ । अहिले उनी तिलगंगाको लेजर डिपार्टमेन्टमा नेत्र रोग विशेषज्ञका रुपमा कार्यरत छिन् । ‘यो चश्मा लगाउन नपर्ने सर्जरी सम्बन्धि विभाग हो,’ हालैको एक विहान सरल शैलीमा उनले बुझाइन्, ‘युवा बिरामीहरु जो चश्मा लगाउनुहुन्छ, उहाँहरुमध्ये कतिलाई चश्मा लगाउन मन नपर्ने हुन्छ, हामी लेजर अप्रेसनमार्फत चश्मा लगाउन नपर्ने सेवा दिन्छौं ।’

सधैं हँसिली देखिने यी चिकित्सक तिलगंगामै रेफरयाक्टीभ सर्जन फेलोसिप पनि गरिरहेकी छिन् । पढाइ र उपचारमै ब्यस्त रहनुपर्ने उनी आफ्नो काममा कत्ति रमाइरहेकी छन् त ? भन्छिन्, ‘म त बिरामी हेर्न पाएपछि एकदमै खुसी । बिरामी खुसी भएपछि मलाई पनि खुसी लाग्छ ।’ एउटा चिकित्सकको जीवनमा सबैभन्दा ठूलो खुसी के ले दिन्छ ? ‘प्यासेन्टको स्याटिसफाइड नै हो, बिरामी आउँनुहुन्छ हामी ग्रीड गर्छौ, बिरामी तपाईंको बोलीले आधा निको भयो भन्नुहुन्छ,’ उनी भन्छिन्, ‘ट्रिटमेन्ट नै नगरी बोलीले आधा निको भयो भनेर बिरामीले भन्दा मलाई एकदम आनन्द लाग्छ ।’

संसार नै अध्यारो देखिरहेको बिरामी आँखाको उपचारपछि जब छ्याङ देख्ने हुन्छ । डा. योगितालाई बिरामीको संसारमै रंग भरिदिएको अनुभूति हुन्छ । बिरामीहरु विचित्र खुसी देखिन्छ । त्यो खुसी डा. योगिताको जीवनसम्म आइपुग्छ, उनी पनि रमाउँछिन् ।

डा. योगिताको यात्राः बाग्लुङदेखि तिलगंगासम्म

२०४२ सालमा बाग्लुङको बाग्लुङ बजारमा जन्मिएकी हुन्—डा. योगिता । केही समयमै उनका बुवा रमेशकुमार राजभण्डारी र आमा गिरिजाराजभण्डारी भने ब्यापारिक शिलशिलामा काठमाडौंमा आउनुप¥यो । उनले बाल्यकाल हजुबुवा हजुरआमासँग बाग्लुङमै बिताइन् । तीन जना दिदीबहिनी र एक भाइमा डा. योगिता माइली अमृत आदर्श स्कुलबाट ५ कक्षा उत्तीर्ण भएपछि काठमाडौं आइन् ।

उनी सानैदेखि पढ्नमा एकदमै तेज थिइन् । काठमाडौं ज्ञानकुन्ज उच्च माध्यमिक विद्यालयमा उनको बाँकी शिक्षा अगाडि बढ्यो । २०५८ मा उनले ज्ञानकुन्जबाटै एसएलसीमा डिस्टिङ्सन मात्रै ल्याइनन्, स्कुल टप पनि गरिन् । भनिन्छ, सपनालाई देख्ने र पछ्याउहरुले त्यसलाई पूरा गरेरै छाड्छन् । डा. योगिताका सन्दर्भमा पनि यो लागु हुन्छ । ‘पढाइ राम्रो भएकाले सानैदेखि डाक्टर बन्ने सपना थियो,’ उनले स्मृतिका पानाहरु पल्टाइन् ।

एलएलसीपछि डाक्टर बन्ने लक्ष्यतर्फ अगाडि बढ्न डा. योगिता क्यापिटल कलेज एण्ड रिसर्च सेन्टर (सिसिआरसी)मा साइन्स लिएर प्लस टुमा पढ्न थालिन् । २०६१ म उनले सिसिआरसीबाट डिस्टिङसनमा नै प्लस टु उत्तीर्ण गरिन् ।

प्लस टु सकिएलगतै उनी एमबीबीएस इन्ट्रान्सको तयारीमा लागिन् । शिक्षा मन्त्रालयले एमबीबीएसमा छात्रवृत्तिका लागि परीक्षा लियो । ०६१ सालमा भएको एमबीबीएस छात्रवृत्ति परीक्षामा उनले खुल्लातर्फ २६ नम्बरमा नाम निकालेर छात्रवृत्ति कोटा निश्चित गरिन् । सानैदेखि देखेको सपना पूरा हुँदा कस्तो लाग्दो रहेछ ? ‘विहानै कलेजबाट फोन आएछ, बुवाले फोन उठाउनुभएछ । म त सुतिरहेकै थिएँ,’ उनी नोस्टाल्जिक बनिन्, ‘एकछिन सपनाजस्तै लाग्योे । ड्याडीले मलाई उठाएर खबर सुनाएर गायब हुनुभयो ।’ केही समयपछि उनका बुवा सयपत्रीको माला बोकेर आइपुगे ्। त्यो माला डा. योगितालाई लगाइदिए ।

‘बुवा कता गायब हुनुभो भनेको छ, माला लिन पो जानुभएको रहेछ,’ उनले भनिन्, ‘छात्रवृत्तिमा नाम निकालेपछि माला लगाइदिन्छु भन्नुभएको थियो । त्यही माला लिन जानुभएको रहेछ ।’ सरकारी छात्रवृत्तिमा नाम निस्किएपछि उनी भैरहवास्थित युनिभर्सल मेडिकलमा एमबीबीएस पढ्न गइन् । त्यहाँबाट उनले सन् २०११ एमबीबीएस तथा इन्टर्न दुवै पूरा गरिन् ।

छात्रवृत्तिमा पढेकाले दुई वर्ष सरकारले तोकेको ठाउँमा काम गर्नुपर्छ । डा. योगिताले सन् २०१२ र ०१३ गरी दुई वर्ष भैरहवाको भीम अस्पतालमा मेडिकल अफिसरका रुपमा सेवा गरिन् । अर्को वर्ष उनको छोरा जन्मियो, एक वर्ष हुर्काउनमै लागिन् । त्यसपछि विशेषज्ञता हासिल गर्न उनले २०१४ मा आइओएममा इन्ट्रान्स दिइन्, त्यहाँ पनि उनले छात्रवृत्तिमै आँखा रोगमा विशेषता हासिल गर्ने अवसर पाइन् । ‘त्यो पनि छात्रवृत्तिमै हो,’ उनले भनिन् । सन् २०१७ मा उनले नेत्र रोगमा विशेषज्ञताको पढाइ पूरा गरिन् ।

आइओएमबाट विशेषज्ञता हासिल गरिसकेपछि लगतै तिलगंगा आँखा प्रतिष्ठानमा जागिर खान थालिन्— जनरल अपथामालोजिष्टका रुपमा । ‘यहाँ आँखाको चिकित्सकको रुपमा काम गरिरहेकी थिएँ,’ उनले भनिन्, ‘अस्ति जुलाईदेखि एक वर्षको फेलोसिप गरिरहेकी छु, सुपर स्पेशलाइजेसनको पनि स्पेशलाइजेसन ।’ उनको अध्ययनसँगसँगै सेवालाई अगाडि बढाउने भविष्यको सपनाको छ ।

डा. योगिता फुर्सदमा गीत सुन्छिन्, ७ वर्षको छोरासँग खेल्छिन्, घुमाउन लैजान्छिन् । नेपाली, हिन्दी, अंग्रेजी सबै खालको गीत सुन्ने डा. योगिताले प्रायःजसो गुनगुनाइरहने गीत भने नारायण गोपालको ‘एउटा मान्छेको मायाले …’ हो । अपेक्षालाई मान्छेलाई दुःखी बनाउने अनुभव उनीसँग छ ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)