२०७९ असोज १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलअर्थोपेडिक्स सर्जरीका खम्बा डा. रमेश सिंह, जो २७ वर्षदेखि सर्जरी र अध्यापनमा सक्रिय छन्

अर्थोपेडिक्स सर्जरीका खम्बा डा. रमेश सिंह, जो २७ वर्षदेखि सर्जरी र अध्यापनमा सक्रिय छन्


वरिष्ठ अर्थोपेडिक्स सर्जन प्रा.डा. रमेश सिंह २७ वर्षदेखि निरन्तर सेवामा छन् । यो अवधिमा उनले हजारौं हजारका भाँच्चिएका हड्डीहरु जोडेका छन् । हिड्ने र काम गर्न सक्ने गरी जीवनलाई नयाँ लय दिएका छन् । नेपाली अर्थोपेडिक्स विधामा दर्जनौं सर्जनहरु उत्पादनमा उनको भूमिका छ । नेपाल मेडिकल कलेजका पूर्व प्रिन्सिपलसमेत रहिसकेका डा. सिंहले यो बीचमा डोटीदेखि विर्तामोडसम्म ग्रामीण भेगमा पुगेर स्वास्थ्य शिविरमार्फत बिरामीको सेवामा योगदान दिएका छन् ।

‘सहरमा पैसा भएपछि उपचार हुन्छ । गाउँ—गाउँमा गएर शिविर चलाउँदा अप्ठयारो के हो भन्ने थाहा हुन्छ,’ उनी भन्छन्, ‘म अहिले गाउँका बिरामीको अवस्था बुझ्न सक्छु । यसले मलाई प्रोत्साहन गर्छ ।’ गाउँमा अहिले पनि एक्स—रे उपलब्ध नहुँदा सामान्य हाडजोर्नीका समस्याका लागि गाउँ धाउनुपर्ने बाध्यता उनले राम्रोसँग महसुस गरेका छन् ।

अर्थोपेडिक्सले आफूलाई नाम र दाम सबै दिएको उनी बताउँछन् । ‘राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा अर्थोमा मेरो नाम छ । तर, अर्थोमा मैले पनि केही दिनुपर्ने हो । अस्पताल र विद्यार्थीको लागि केही त दिनुपर्छ,’ उनले भने । त्यही कारणले डा. सिंहले काठमाडौं युनिभर्सिटीमा माष्टर्स अफ अर्थोपेडिक्समा टप गर्ने विद्यार्थीलाई आफ्नै नामबाट गोल्डमेडल दिन्छन् । ‘पढ्ने विद्यार्थीलाई हौसला प्राप्त होस् भनेर मैले गोल्ड मेडल दिने व्यवस्था गरेको हुँ,’ उनले भने ।

कर्ममा बढी विश्वास गर्ने डा. सिंहको जन्म सर्लाहीको डुमरिया— १ मा भएको हो । बुवा वैजनाथप्रसाद सिंह र आमा कृष्णदेवीका ८ जना सन्तानमध्ये उनी छैटौं हुन् । सामान्य लेखपढ जानेका वैजनाथ सर्लाहीका ठूला जमिन्दार थिए । आफू सामान्य पढेलेखेको भएकाले उनको सन्तानलाई शिक्षाको उज्यालो दिने निकै ठूलो अभिलाषा थियो । अझ रोचक त के भने उनका बुवाले ३० बिघा जग्गादान दिएर गाउँमा स्कुल खोलेका थिए भने मुख्य खेतवारी रहेको ठाउँमा अर्को स्कुल स्थापना पनि गरेका थिए ।

‘बुबाआमाको बालबच्चालाई राम्रो शिक्षादीक्षा दिने इच्छा थियो,’ डा. सिंह सम्झन्छन्, ‘सर्लाहीमा त्यतिबेला स्कुल त थिए, तर राम्रो स्कुल नभएकाले छोरा बिग्रिएर जान्छ भन्ने बुबामा थियो ।’ त्यही कारण कक्षा २ देखि नै उनलाई उच्चस्तरको शिक्षाका लागि भारतको विहार पठाइयो । उनको शिक्षादीक्षा विहारको सेन्ट जेभियर्सबाट अगाडि बढ्यो । उनी त्यही स्कुलको होस्टेलमा बसेर पढे ।

विहारको हजारीबागमा हिल स्टेशनजस्तो वातावरण थियो । सेन्ट जेभियर्सको माहौल झनै रमाइलो । स्कुलमा उनी पढाइका अलावा क्रिकेट, हक्की, फुटबल सबै खालका खेलकुदमा सक्रिय हुन्थे । ‘भर्सटाइल नै थिए, चिकित्सा क्षेत्रमा आएपछि छुट्यो,’ उनले हाँस्दै सुनाए, ‘अहिले पनि क्रिकेट हेर्छु नि ।’

सन् १९७८ मा उनले सेन्ट जेभियर्सबाट कक्षा १० उत्तीर्ण गरे । त्यसपछि उनी विहारमै प्लस टु अध्ययन गर्न थाले । त्यहीबाट प्लस टु सकेपछि उनी एमबीबीएस गर्नका लागि सन् १९८२ मा कलकत्ता मेडिकल कलेज गए । सन् १९८८ मा उनले कलकत्ता मेडिकल कलेजबाट एमबीबीएस सके । डाक्टर बनेर स्वदेश फर्किएपछि उनी काठमाडौं आए ।

काठमाडौंको त्रिवि शिक्षण अस्पताल महारागन्जमा २ वर्ष मेडिकल अफिसरमा बिरामीको सेवामा बिताए । विशेषज्ञता हासिल गर्नका लागि उनी अवसर खोजिरहेका थिए । त्यहीबेला अर्थोपेडिक्स पढ्न पाकिस्तानको लाहोर गए । त्यहाँको पोस्ट ग्राजुएट मेडिकल इन्स्ट्च्यिुटमा पिजी गरे । नेपाल फर्केपछि केही समय त्रिवि शिक्षण अस्पतालमा काम गर्न थाले ।

त्यसपछि डा. सिंहले श्रीमती डा. आशा सिंहसँगै नेपाल प्रहरी अस्पतालमा जागिर सुरु गरे । त्यहाँ तीन वर्ष जति काम गरेपछि उनले त्यो जागिर छोडिदिए । डा. आशा भने त्यही काम गर्न थालिन् । उनी अहिले नेपाल प्रहरी अस्पतालको प्रमुख छन् ।

डा. सिंहले नेपाल प्रहरी अस्पतालको जागिर छोडेकै बेला अत्तरखेलमा नेपाल मेडिकल कलेज सञ्चालनमा आउँदै थियो । त्यतिबेला नेपाल मेडिकल कलेजको सर्जरीको प्रमुख डा. अन्जनी शर्मा थिए । डा. अन्जनीले नै डा. सिंहलाई प्रहरी अस्पतालबाट नेपाल मेडिकल कलेजमा भित्र्याउन भूमिका खेले । ‘यहाँ आएपछि अर्थोपेडिक जीवन सुरु भयो,’ उनले सुनाए, ‘नेपाल मेडिकल कलेजको अर्थोपेडिक विभाग मैले नै सुरु गरेको हुँ । यहाँको पहिलो अर्थोपेडिक सर्जन पनि म नै हो ।’ उनले नै नेपाल मेडिकल कलेजमा अर्थोको विकास गरे । अर्थोको पाठ्यक्रम विकासमा पनि भूमिका खेले ।

नेपाल मेडिकल कलेजमा उनको सर्जरी र प्राध्यापन यात्रा २३ वर्ष पुगेको छ । यति लामो समयदेखि अविरल सेवामा सक्रिय छन् । ‘यो पेशाको फाइदा भनेको सेवासँगै शिक्षा दिन पाइन्छ । ज्ञान प्राप्त गरेर मात्र हुँदैन्, अरुलाई दिनुपर्छ,’ यी अर्थो सर्जरीका प्रोफेसर भन्छन्, ‘मैले २७ वर्ष भयो शल्यक्रिया गर्न थालेको ।’ तर, यति शल्यक्रिया गरे भनेर उनले हिसाब राखेका छैनन् । भन्छन्, ‘म हिसाब राख्दिनँ । तर, मैले आफ्ना विद्यार्थी तयार गरे । उनीहरुले गरेको पनि मैले गरेको जस्तै हो । म सन्तुष्ट छु ।’

यो अवधिमा उनले तीन वर्ष प्रिन्सिपल भएर नेपाल मेडिकल कलेजको शैक्षिक नेतृत्व गरे । प्रिन्सिपलको भूमिका एकेडेमिकभन्दा बढी व्यवस्थापकको भएकोले तीन वर्षमा उनले एक अवधि पूरा भएपछि छाडिदिए । तर, त्यहीबीचमा ६ वर्षसम्म काठमाडौं युनिभर्सिटीको पोस्ट ग्राजुएशन ट्रेनिङ प्रोग्रामको अध्यक्ष भए । एकेडेमिक काउन्सिलको सदस्य पनि भए । डा. सिंहलाई लाग्छ—अर्थोपेडिक सर्जन भएकै कारण मैले यो योगदान दिन सके ।

डा. सिंह नेपाल अर्थोपेडिक एसोशियसनको अध्यक्ष पनि भए । अहिले उनी सार्कको अर्थोपेडिक एसोशियसनको अध्यक्ष छन् । अर्को, अन्तर्राष्ट्रिय संगठन ‘सिपर्ट’का उनी नेशनल डेलिगेट हुन् । जसले जर्नलहरु प्रकाशित गर्छ । उनी अध्यक्ष रहेको सार्क अर्थोपेडिक्स एशोसिएसनले तालिम पनि चलाउँछ । ‘अर्थोपेडिक्सको अनुसधान गर्ने, पारामेडिक्स, अप्रेशन थ्रियटरमा काम गर्ने नर्स, कन्सल्ट्यान्टहरुको लागि तालिम दिन्छ,’ उनले भने ।

आफ्नो जीवनको आधा समय बिरामीको मुहारमा मुस्कान फर्काउन खर्चिएका डा. सिंह ६२ वर्षको उकालो हिडिरहेका छन् । यति लामो समय निरन्तर सेवामा डट्नका लागि उनलाई के कुराले उर्जा दिन्छ ? ‘उपचार गर्दा बिरामीले आदर गर्छन्, पढाउँदा विद्यार्थीले आदर गर्छन्,’ उनी सुनाउँछन्, ‘अर्थोपेडिक्समा अलि सजिलो छ हातखुट्टा भाँच्चिएर आएका बिरामीको २—३ दिनको उपचारपछि ठिक हुँदा बिरामीको अनुहारको चमक आउँछ, जुन हाम्रो पेशामा सन्तुष्टी दिने सबैभन्दा ठूलो खुराक हो ।’

विहान ९ बजे कलेज पुग्छन्, फुर्सदमा घरमै रमाउँछन्

डा. सिंह विहान ९ बजे अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा पुग्छन् । मेडिकल कलेजमा विभिन्न सेग्मेन्ट छन् । विहानै पहिलो पटक मिटिङ हुन्छ । जसमा २४ घण्टाभित्र अस्पतालमा आएका समस्या र समाधानका विषयमा छलफल चल्छ । विभाग, कन्सल्ट्यान्ट, कलेजका विभिन्न तहका विद्यार्थीलाई हेर्ने, बिरामी हेर्नेदेखि लिएर शल्यक्रिया गर्नेसम्मका कामहरु हुन्छन् ।

मेडिकल कलेजमा शल्यक्रिया दैनिकजसो नै हुन्छ । ‘हामीसँग धेरै बिरामीको एकैदिन शल्यक्रिया गर्नसक्ने छैन्,’ डा. सिंह भन्छन्, ‘किनभने एकै पावर मेसिनको मात्र २० लाखसम्म पर्ने हुन्छ । भविष्यमा विकास होला ।’ ट्रमा केसहरुको भने आवश्यकताअनुसार तत्कालै शल्यक्रिया हुन्छ ।

डा. सिंह सामान्यतयाः ४ बजेसम्म मेडिकल कलेजमा रहन्छन् । त्यसपछि उनी काम सकेर घर फर्किन्छन् । घर पुगेपछि आराम गर्छन् । घरको बगैंचामा डुल्छन् । तीन वटा कुकुर पालेका छन्, तिनीहरुसँग खेल्छन् । त्यसबाहेक अनलाइनमा हुने छलफल, बैठकहरुमा सहभागी हुन्छन् । त्यसबाहेक उनी आफूलाई पनि निरन्तर अपडेट राख्छन् । ‘अहिले जमाना बदलिसक्यो । अर्थोपेडिक्सको पाठ्यक्रम अपडेट गरिराख्नुपर्छ,’ उनले भने, ‘अहिले आफू पढेर मात्र विद्यार्थीलाई पढाउनुपर्ने हुन्छ । त्यसका लागि तयारी गर्नु प–यो । अपडेट नहुँदा दिगो काम गर्न सकिन्न ।’

डा. सिंह विहान ५ बजे नै उठ्छन् । त्यसपछि अलिकति व्यायाम गर्छन् । उनको खानपिनमा पनि तडक—भडक छैन । उनी प्रायजसो विहान दही चिउरा खान्छन् । उनको घरमा आफ्नै गाउँमा उत्पादित खानेकुरा पाक्छन् । साधारण दालभात उनलाई मनपर्ने खाना हो । उनलाई ताजा फलफुल पनि मनपर्छ ।

पहिरनमा पनि उनलाई यस्तै हुनुपर्छ भन्ने छैन् । जे लगाउँदा सहज हुन्छ, त्यही पहिरन मनपर्छ ।

फुर्सदको समयमा गाउँ जान्छन् । पहिले फुर्सदमा सिनेमा हेर्थे । अहिले ३ घण्टा लगातार सिनेमालाई समय दिन गाह्रो हुन्छ । युट्युब, नेटफ्लिक्समा भिडियोहरु हेर्छन् । सामाजिक सन्जालमा आएका रुचिकर अन्तर्वार्ताहरु हेर्छन् । ‘जीवनलाई जति साधारण बनायो, त्यति सहज हुन्छ,’ डा. सिंह भन्छन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #कलकत्ता मेडिकल कलेज, #डा. अन्जनी शर्मा, #डा. आशा सिंह, #त्रिवि शिक्षण अस्पताल, #नेपाल प्रहरी अस्पताल, #नेपाल मेडिकल कलेज, #प्रा.डा. रमेश सिंह, #वरिष्ठ अर्थोपेडिक्स सर्जन, #सेन्ट जेभियर्स


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)