२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलअर्किडको कमाण्ड ३० वर्षीया अस्मिकाको हातमा, पेडियाट्रिक युनिटलाई बलियो बनाउँदैं

अर्किडको कमाण्ड ३० वर्षीया अस्मिकाको हातमा, पेडियाट्रिक युनिटलाई बलियो बनाउँदैं


अस्मिका कटुवाल । झट्ट हेर्दा मोडलजस्तै देखिन्छिन् । फेसन, नृत्य, जिम, व्यायाममा उनको विशेष रुचि छ । खानाकी सौखिन उनलाई चिटिक्क पर्न, मेकअप गर्न र घुम्न मन पर्छ । तर, यी सबै रुचिभन्दा अलग उनी व्यवसायिक महिला हुन् । १० वर्षभन्दा बढी व्यवसायिक अनुभव संगालेकी उनी अब ‘अर्किड फिजियो थेरापी एण्ड रिह्याबिलिटेन सेन्टर’को कार्यकारी भूमिकामा आएकी छन् । प्रबन्ध निर्देशकका रुपमा ६० जना बढी कर्मचारीको कमाण्ड उनको हातमा आइपुगेको छ । यसबाहेक संस्थाको परिवर्तित भूमिकालाई अझ बढाएर लैजानुपर्ने चुनौती पनि उनको काँधमा छ ।

हक्की स्वभावकी अस्मिका जनकपुरमा जन्मिएपनि दिदीहरुसँगै काठमाडौंमा हुर्किइन्, यही पढिन, बढिन् । त्यही कारण प्लस टु नसक्दै आम सहरी युवाजस्तै उनलाई पनि अष्ट्रेलिया जाने रहर थियो । तर, उनकी काइली दिदी अर्किडकी केयर होमकी अध्यक्ष यमुनाले उनलाई स्वदेशमै केही गर्न प्रेरित गरिन् । त्यही कारण उनी अर्किड केयर होममा रिसेप्सनिष्टबाट अगाडि बढाउँदैं गइन् । उनलाई एकपछि अर्को जिम्मेवारी थप्दैं गइन् । केही समयअघिसम्म म्यानेजर रहेकी उनी अहिले म्यानेजिङ डाइरेक्टरको भूमिकामा छन् ।

१२ वर्ष लामो यात्रामा अर्किडले आफ्नो कार्यक्षेत्र र पहिचानमा पनि ब्यापक बदलाव ल्याएको छ । अब अर्किड केयर होममात्रै रहेन्, ‘अर्किड फिजियो थेरापी एण्ड रिह्याबिलिटेसन सेन्टर’का रुपमा विकास भएको छ । यमुनाको फ्युचरलाई जोड दिने सोचअनुसार ‘अर्किड फिजियो एण्ड रिह्याबिलेटसन सेन्टर’ विकास गरिएको हो ।

त्यसको कमाण्ड ३० वर्षीया उनकी बहिनी अस्मिकाले गर्दैछिन् । हुनत, अर्किडलाई फ्युचर केन्द्रीत बनाउने सोच पनि अस्मिकाकै हो । माइली दिदीका छोरालाई अटिज्म भएपछि नेपालमा केही सुविधा नहुँदा परिवारसहित विदेसिनु परेको पीडा उनले अनुभव गरेकी छिन् । त्यही घटनाबाट उनले बालबालिकाका देखिने अटिजम, सुस्तपना, बोली नफुट्नेजस्ता समस्याका लागि काम गर्ने सोच बनाएकी थिइन् । त्यही सोच अब पूरा भएको छ । सुन्दर वातावरण, विशेषज्ञ टिमसहित उनले यस्तै बालबालिकाको विकासमा योगदान दिन अर्किड स्पीच थेरापी र रिह्याबिलिटेसन सुरु गरेकी छन् ।

‘विशेष स्कुल नहुँदा सामान्य बच्चा पढ्ने स्कुलमा भर्ना गर्दा बच्चाको व्यवहार नबुझ्ने अवस्था छ,’ अस्मिका भन्छिन्, ‘त्यही कारणले दिदी अमेरिका सेटल हुनुप–यो । त्यही कारणले आफ्नो घरको बच्चालाई गर्न नसके पनि उनीजस्तै अन्य बालबालिकाको लागि केही गरौं भनेर सोचका साथ नयाँ कामको थालनी गरेका हौं ।’ अहिले अर्किडले त्यस्ता बालबालिका लागि स्पीच थेरापी एवं रिह्याबिलिटेसनको सुविधा दिन सुरु गरिसकेको छ ।

सुरुमा स्पीच थेरापी सेवा सबैलाई उपलब्ध गराउने योजना अर्किडको थियो । पछि, अरु उमेरभन्दा बच्चाहरुका लागि धेरै नै इनक्वायरी आउन थाल्यो । त्यही कारण अर्किडले आफ्नो सेवालाई बालबालिका केन्द्रीत गर्दै गएको छ । अहिले अर्किड फिजियो एण्ड रिह्याबिलिटेसन सेन्टरले १२ जनालाई स्पीच थेरापी र रिह्याबिलिटेसन सेवा उपलब्ध गराइरहेको छ भने ५६ जनाभन्दा बढी बालबालिका लागि उक्त सेवाको बुकिङ भइसकेको छ ।

‘बालबालिकाको लागि उपयुक्त वातावरण नहुने, अस्पतालमा ढिला सुस्त हुने, राम्रो सेवा नपाउने, काउन्सिलिङ पनि पर्याप्त नहुने समस्या छन्,’ यी युवा प्रबन्ध निर्देशकले भनिन्, ‘सबै सेवा एकै ठाउँमा नभएको र यसको आवश्यकतालाई मध्यनजर गर्दै हामीले अर्किड स्पीच थेरापी युनिटलाई बृहत बनाउँदैं लगेका छौं ।’ स्पीचसँगै फिजियोथेरापी, अकुंपेशनल थेरापीलगायतका सुविधाहरु अर्किडमा उपलब्ध छन् । दैनिक जीवनका आधारभूत क्रियाकलाप विकास गर्न आवश्यक मद्दत गर्न सिकाउने, विशेषगरी अटिज्म भएको बालबालिका जसलाई ब्रस गर्नेदेखि हिडडुल गर्न समेत समस्या हुन्छ, त्यस्ता बालबालिकाको ग्रेड पहिचान गरी उपचार सेवा अर्किडले उपलब्ध गराउनेछ ।

त्यसका लागि क्लिनिकल साइकोलोजिष्ट, पेडियाट्रिक, न्युरोलोजिष्टलगायतका आवश्यक विशेषज्ञ जनशक्तिबाट यो सेवा अर्किडले दिदैंछ । ‘यी सबै सेवाका लागि हामीले एउटा ब्लक नै छुट्याएका छौं । एक पटकमा सय जना बालबालिकालाई मज्जाले सेवा उपलब्ध गराउन सक्छौं,’ उनले थपिन् । त्यसका लागि अझ सशक्त टिम निर्माणमा अर्किड व्यवस्थापन जुटेको छ । बच्चाको लागि एउटा पूर्ण रिह्याबको सबै सेटअप गरिसकेपछि २० दिन जतिमा औपचारिक रुपमा सेवा सुरु गर्ने उनले बताइन् ।

अर्किडलाई पूर्ण रुपमा रिह्याबमा रुपान्तरण गर्ने सोचका साथ उनी काम गरिरहेकी छन् । ‘एडल्ट र चाइल्डलाई राख्ने हो । तर, बच्चाकै लागि मात्र काम केन्द्रीत गर्न मन छ,’ अस्मिका भन्छिन्, ‘किनभने एडल्टका लागि धेरै संस्था छन् । तर, बालबालिकाको लागि छैन । बालबालिकाको लागि आवश्यक सबै जरुरत, स्कुल, वातावरण, परिवारसँग परामर्श, डे केयर सबै सेवा उपलब्ध गराउने सोच छ ।’ ६० जना कर्मचारीको साथ लिएर अर्किडको फरक विङको कमाण्ड गर्न लागेकी अस्मिकालाई विश्वास छ निकट भविष्यमै यसले नियमित विकासमा अवरोध झेलिरहेका बालबालिकाको भविष्य सुन्दर बनाउन भूमिका खेल्नेछ ।

३० वर्षीया अर्किडकी प्रबन्ध निर्देशक अस्मिका

अस्मिकाको जन्म ३० वर्षअघि जनकपुरमा भएको हो । उनका दिदीहरु काठमाडौंमा रहेकाले राम्रो शिक्षादीक्षाका लागि अस्मिकालाई पनि काठमाडौं ल्याइयो । उनले बालुवाटारस्थित चिल्ड्रेन मोडर्न स्कुलमा पढेकी हुन् ।

प्लस टुपछि उनी अष्ट्रेलिया जाने तयारीमा थिइन् । त्यही बेलामा उनकी दिदी यमुनाको बिहे भयो । ‘दिदीले काममा सहयोग हुन्छ भनेर जानु दिनु भएन्,’ उनले भनिन्, ‘र, म काममै आवद्ध भएँ ।’ त्यो बेला उनकी दिदी यमुनाले अर्किड केयर होम सञ्चालन गरिरहेकी थिइन् । जसले बुढाबुढीको हेरचाह गर्ने काम गथ्र्यो । त्यही काम गर्दागर्दै अस्मिकाको विदेश जाने चाहना हरायो । उनले त्यसपछि नेपालमै सोसल वर्ककी स्नातक गरिन् ।

सुरुमा अर्किडमा रिसेप्सनिष्टबाट उनले काम सुरु गरेकी हुन् । ‘राम्रो र नराम्रो कुरा सबै थाहा पाउने, सिक्ने हुँदा यहीबाट सुरु गर्नुपर्ने सुझाव दिएपछि मैले रिसेप्सनिष्टबाट काम सुरु गरे,’ उनले भनिन्, ‘मार्केटिङ, अकाउन्ट, काउन्सिलिङ सबै विस्तारै हेर्न थाले ।’ त्यसपछि उनी अर्किडकी म्यानेजर भइन् ।

संस्थागत रुपमा जनशक्ति परिचालन सबैभन्दा जटिल कुरा हो । अब यही जटिल जिम्मेवारी अस्मिकाको काँधमा आइपरेको छ । ‘जनशक्ति परिचालन गर्न धेरै कठिन हुन्छ । हरेक मानिसको सोच फरक हुन्छ फरक भूमिका हुन्छ । सबै कुरामा ध्यानमा राख्दैं काममा जोड्न मिलाउन अलि गाह्रो नै हुन्छ,’ उनले भनिन्, ‘तर, यो भूमिकालाई पनि पूरा गर्न म तयार छु ।’ व्यवस्थापनमा सबैभन्दा बढी संचार, कलाइन्टसँग राम्रो सम्बन्ध, नराम्रो पक्षको रिभ्यु र विशेषगरी अन्तरक्रिया जोड दिनुपर्ने उनको मत छ ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #अर्किड फिजियो थेरापी एण्ड रिह्याबिलिटेसन सेन्टर, #अस्मिका कटुवाल, #बालबालिका, #यमुना कटुवाल, #स्पीच थेरापी


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ