२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलभारतीय क्यान्सर रोग विशेषज्ञ डा. पंकजः जो नेपाली क्यान्सर बिरामीको उपचार रमाइरहेका छन्

भारतीय क्यान्सर रोग विशेषज्ञ डा. पंकजः जो नेपाली क्यान्सर बिरामीको उपचार रमाइरहेका छन्


डा. पंकज बर्मन । पेशाले क्यान्सर रोग विशेषज्ञ हुन् । नेपाल मेडिसिटी अस्पतालका क्यान्सर रोग विभाग प्रमुख उनी भारतीय नागरिक भएपनि दोस्रो घर नेपाललाई मान्छन् । त्यही कारण विगत १० वर्षदेखि डा. बर्मन नेपालमै छन् । यहीका क्यान्सर रोगका बिरामीहरुको उपचारमा दिनरात खटिइरहेका छन् ।  उनले यो अवधिमा सयौं नेपाली क्यान्सर रोगका बिरामी उपचार गरेका छन्, तिनै बिरामीहरुको माया र स्नेहकै कारण उनले नेपाललाई आफ्नो कर्मभूमीका रुपमा अपनाएका हुन् ।

डा. बर्मनको जन्म आसामको गोवाहाटीमा भएको हो । बुवा सुर्जेकान्त बर्मन र आमा बिचित्रा बर्मा दुवै जना सरकारी जागिरे थिए । परिवारका पाँचौ सन्तानका रुपमा जन्मिएका उनको शिक्षादीक्षामा अभिभावकले विशेष ख्याल पु¥याएका थिए । डा. बर्मनको प्रारम्भिक शिक्षादीक्षा गुवाहाटीकै स्थानीय स्कुलमा भएको हो । पढाइमा अब्बल उनले सानैदेखि डाक्टर बन्ने सपना बुनेका थिए ।

स्कुल जीवनमा उनलाई सबैभन्दा बढी मनपर्ने विषय बायोलोजी थियो । नेपालसँग मिल्दोजुल्दो परिवेश, वातावरण र संस्कृति रहेको आसाममा उनी पढाइमै बढी केन्द्रीत रहे । ‘यहाँको खाना, यहाँको रितिरिवाज परम्पराहरु आसामकै जस्तै छन्,’ उनले भने, ‘पछिल्ला १० वर्षमा पनि मलाई घरबाट टाढा बसिरहेको कहिल्यै अनुभूति भएको छैन ।’ डा. बर्मनलाई नेपालको मौसम र कल्चर असाध्यै मन पर्छ ।

स्कुल जीवनपछि उनले थप शिक्षा पनि आसामबाटै पूरा गरेका हुन् । त्यसपछि उनी गुवाहाटी मेडिकल मेडिकल कलेजबाट सन् २००० मा एमबीबीएस उत्तीर्ण गरे । त्यहीबाट उनले सन् २००७ मा इन्टरनल मेडिसिनमा एमडी सक्काए । एमबीबीएस पढ्दा—पढ्दैं उनकी आमालाई पाठेघरको क्यान्सर भयो । डा. बर्मनको करिअरलाई क्यान्सरमा केन्द्रीत गर्नका लागि त्यही घटना काफी बन्यो । ‘आमालाई क्यान्सर भएपछि मैले क्यान्सरमै विशेषज्ञ बन्ने इच्छा भयो,’ हालैको एक मध्यान्ह हेल्थआवाजसँगको कुराकानीमा उनले सुनाए । त्यही कारण उनले क्यान्सरमा विशेषज्ञता हासिल गर्नका लागि दोहो¥याएर प्रवेश परीक्षा दिए । यो अवधिमा उनले नयाँदिल्लीका विभिन्न अस्पतालहरुमा काम गरेर अनुभव संगाले ।

दोस्रो प्रयासमा टप फाइभभित्र परेपछि डा. बर्मनले डिप्लोम्याट नेशनल बोर्ड (डिएनबी)अन्तर्गतको आर्मी मेडिकल कलेजमा अंकोलोजीमा विशेषज्ञता हासिल गर्ने अवसर पाए । सन् २०१२ मा उनले अंकोलोजीमा विशेषज्ञता हासिल गरेका हुन् । डा. बर्मन युरोपियन सर्टिफाइड मेडिकल अंकोलोजिष्ट पनि हुन् । उनले सन् २०१७ मा एसीएमएओ पास गरेका हुन् ।

सन् २०१२ मा उनले एशोसिएट कल्सल्ट्यान्ट अंकोलोजिष्टका रुपमा ६ महिना अर्टेमिस हस्पिटलमा काम गरे ।  त्यसपछि बीएलके सुपर स्पेसियालिटी हस्पिटलमा नयाँदिल्लीमा सन् २०१३ सम्म दुई वर्ष बिताए । त्यही क्रममा डा. बर्मनलाई उनका प्रोफेसरले नेपालमा अंकोलोजिष्ट चाहिएको र काम गर्ने जाने हो भनेर प्रस्ताव राखे । उनी प्रोफेसरको प्रस्तावलाई स्वीकार गर्दै सानो क्यान्सर सेन्टर बनाउने ग्वार्कोस्थित बीएण्डबी हस्पिटलको योजना पूरा गर्नका लागि सन् २०१३ मा नेपाल आएका हुन् । सुरुमा केही समयका लागि नेपाल आएकी उनलाई नेपालीपनले अहिलेसम्म नेपालमै तानिरहेको छन् ।  ‘सुरुमा म दुई महिनाका लागि नेपाल आएको थिए । बीएण्डबी अस्पतालमा काम गर्दागर्दै यहाँका बिरामीको अवस्था निकै नाजुक देखे । त्यही कारण नेपाल छाड्न सकिन् ।’

जतिबेला उनी बीएण्डबी अस्पतालमा काम गर्थे, त्यतिबेला नेपालमा राम्रो उपचार नहुने भन्दै थुप्रै नेपाली उपचारका लागि भारत धाइरहेका हुन्थे । यो समस्यालाई नजिकबाट अनुभव गरेका उनले नेपालमै बसाइँ लम्बाउने र नेपालका बिरामीको यही उपचार गर्ने योजना बनाए । त्यही कारण उनले दुई महिनाको नेपाल बसाइँलाई ३ वर्ष लम्बाए । यो अवधिमा उनले तीन वर्ष नै बीएण्डबी अस्पतालमा बिरामी सेवामा बिताए ।

सन् २०१७ मा नेपाल मेडिसिटी अस्पताल सञ्चालनमा आयो । डा. बर्मनलाई नेपाल मेडिसिटीका सञ्चालन डा. उपेन्द्र महतोले मेडिसिटीमा काम गर्नका लागि अफर गरे । डा. महतोको अफर डा. बर्मनलाई मन प¥यो । उनले मेडिसिटीका सुरुवाती चरणमै रहेका बेला मेडिसिटीमा क्यान्सर रोग विशेषज्ञका रुपमा जागिर सुरु गरे । ‘मेडिसिटीमा म आउँदा विभागहरु पनि बनिसकेका थिएनन्,’ उनले भने, ‘म आएपछि यहाँ विभागहरु स्थापना गर्नका लागि पनि भूमिका खेले ।’ उनकै नेतृत्वमा मेडिसिटीले क्यान्सर विभाग चलाइरहेको छ ।

‘यहाँका बिरामीहरु अन्य देशहरुमा क्यान्सर उपचारका लागि जान नपरोस् भन्ने चाहन्छु,’ डा. बर्मन भन्छन्, ‘नेपालमा क्यान्सरका उपचार विधी अरु देशहरुजस्तै हो । उपचार विधि एउटै भएकाले यहाका बिरामी अन्य देशहरुमा धाइरहन आवश्यक छैन ।’ डा. बर्मनकाअनुसार स्वदेशमै उपचार गर्दा अनावश्यक रुपमा हुने खर्च पनि बचत हुन्छ । उनकाअनुसार अहिले क्यान्सर दिन प्रतिदिन बढ्दै गएको छ । ‘अहिले क्यान्सर धेरै कमन भैरहेको छ । यसको उपचार पनि राम्रो हुँदै गएको छ,’ उनी थप्छन्, ‘त्यति नै यसका बिरामी संख्या बढ्दो देखिन्छ ।’ समयमै क्यान्सर पत्ता लागेका उपचार भएर ठीक हुने उनले बताए ।

हरेक क्यान्सरका फरक—फरक किसिमका सुरुवाती लक्षणहरु देखिने डा. बर्मन बताउँछन् । तर, स—साना लक्षणलाई प्रायःजसोले वेवास्ता गर्छन् । तर, सामान्य लक्षणहरुमा पनि विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘दिशामा नियमित रगत जानु पनि एक लक्षण हो । तर, धेरैले यसलाई पायल्सको लक्षण भनेर औषधी खाइरहेका हुन्छन्,’ उनी अनुभव बाँड्छन्, ‘तर, आन्द्रामा क्यान्सर भैरहेको हुन्छ ।’ फोक्सोमा क्यान्सर हुँदा खकारमा रगत देखिने, खोकी लागिरहने, छात्ती दुख्नेजस्ता सुरुवाती लक्षण देखिन्छन् । डा. बर्मनकाअनुसार अहिले महिलाहरुमा स्तन क्यान्सरको समस्या बढी मात्रामा देखिइरहेको छ ।  त्यही कारण वर्षमा एक पटक सबैले आफ्नो स्वास्थ्य जाँच गराउन उनको सुझाव छ । ‘४० वर्ष कटेपछि त कम्तिमा वर्षमा एक पटक स्वास्थ्य जाच गराउनैपर्ने हुन्छ,’ उनले भने ।

नेपालमै विवाह

डा. बर्मनको बीएण्डबी हस्पिटल काम गर्दागर्दै इलामकी अनिशा ढुंगानासँग आँखा जुधे । त्यही आँखा जुधाइ उनीहरु दुवैका लागि निकट आउने र एकअर्काको मन बुझ्ने कारण बन्यो । बीएण्डबीमै कार्यरत अनिशा र डा. बर्मनबीच झाँगिदैं गएको सम्बन्धले सात वर्षअघि विवाहको रुप लियो । अहिले उनकी श्रीमती अनिशा त्रिवि शिक्षण अस्पतालमा एमएन पढ्दैछिन् ।

यो अवधिमा उनले नेपाली युवतीलाई जीवनसंगीनीका रुपमा पाएनन् । माया गर्ने धेरै नेपालीको घेरा बनाएका छन् । अझ रमाइलो त के भने यो अवधिमा उनले नेपाली भाषा पनि सिकिसकेका छन् । उनी घरमा पनि नेपाली नै बोल्छन् । फुर्सदमा घुमफिरमा निस्कन रुचाउने उनलाई सबैभन्दा मनपर्ने ठाउँ पोखरा हो । ‘म पछिल्ला १० वर्षमा ३० पटक जति पोखरा पुगिसकेको छु,’ उनले घुमघाम किस्सा सुनाए । सामान्य पहिरन रुचाउने डा. बर्मनको नेपाली खानपिनमा टस बसेको छ ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #क्यान्सर रोग विशेषज्ञ, #डा. पंकज बर्मन, #नेपाल मेडिसिटी अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ