२०७९ मंसीर १९, सोमबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलनर्स हुँदै नीति निर्माण तहमा पुगेकी तुलसा

नर्स हुँदै नीति निर्माण तहमा पुगेकी तुलसा


विगत २४ वर्षदेखि स्वास्थ्य सेवामा तल्लीन तुलसा अधिकारी अस्पतालमा बिरामीको सेवा गर्दागर्दै स्वास्थ्य क्षेत्रको नीति, योजना बनाउने तहमा पुगेकी छन् । स्वास्थ्य अधिकृत उनी अहिले परिवार नियोजन महाशाखाको प्रजनन स्वास्थ्य र परिवार नियोजन सेवा शाखामा सक्रिय छिन् । महिला प्रजनन स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेर आवश्यक र सजिलो हुने स्वास्थ्य सेवाका लागि नीतिगत तहबाटैं सक्दो प्रयास गरिरहेकी छिन्, उनी । उनी अझै नीतिगत रुपमा थुप्रै कामहरु गर्न बाँकी रहेकाले आफूले निरन्तर सेवामा तल्लीन रहने बताउँछिन् ।

झापाको संयुक्त परिवारमा वि.सं. २०३१ साल कार्तिक १ मा तुलसा परिवारको जेठी छोरीको रुपमा जन्मिएकी हुन् । उनका दुई जना बहिनी र एक भाइ छन् । सानैदेखि जिज्ञासु स्वभावकी तुलसा आफूलाई अनौठो र नौलो लागेको कुरा बिना संकोच सोध्ने गर्थिन् । एक दिन उनले आफ्नी आमालाई भनेकी थिइन्, ‘म छँदाछँदै बाकी भाइबहिनीलाई किन जन्म दिएको ?’ यो प्रश्नको उत्तर नपाएसम्म तुलसाले घरका सबैलाई यही प्रश्न सोधिरहिन् । उनकी आमाले भनिन्, ‘तलाई तिहारमा टिका लगाउन भाइ चाहिन्छ भनेर भाइ जन्मिन्छ कि भनेर दुई बहिनीहरुलाई जन्म दिएको ।’

आमाको जवाफ सुनेपछि मात्र तुलसा शान्त भएकी थिइन् । झापाको तोपगाछीस्थित महेन्द्ररत्न माविबाट वि.सं. २०४७ सालमा उनले एसएलसी पास गरेकी हुन् । उनका बुवा विद्यालयमा शिक्षक थिए भने आमा गृहिणी । उन बुबा आफै शिक्षक भएको हुँदा पढ्नको लागि उनलाई कहिले रोकटोक भएन् ।

त्यसपछि आइएस्सी पढ्न धरानमा गइन् । उनले वि.सं. २०४९ सालमा आईएस्सी पास गरिन् । त्यहाँ पढ्दा—पढ्दै उनलाई नर्सिङ पढ्न मन थियो । नर्सिङ पढ्नका लागि उनले इन्ट्रान्स दिइन् । त्यही समयमा उनको घरमा उनको विवाहको कुरा चल्यो । उनले आफू नर्सिङ पढ्न चाहेको र पढाइमा रोकटोक हुँदैन भने आफूले बिहे गर्ने अड्डी लिइन् । वि.सं. २०५० सालमा मोरङका युवराज पौडेलसँग उनको लगनगाँठो कसियो ।

उनका श्रीमान जागिरे भएकाले उनको पढाइ र काम गर्न कहिले रोकटोक गरेनन् । त्यतिखेर उनका श्रीमान ताप्लेजुङमा शिक्षाका अधिकृत थिए । वि.सं. २०५० सालमै नर्सिङ अध्ययनका लागि विराटनगर नर्सिङ क्याम्पस भर्ना भइन् । विदाको दिन श्रीमान उनलाई भेट्न आइरहन्थे । यसरी उनले ३ वर्षको पिसिएल नर्सिङ अध्ययन पूरा गरिन् । त्यसपछि उनको पहिलो सन्तानको रुपमा छोरा जन्मिए ।

वि.सं. २०५५ सालमा उनी मदन स्मृति क्याम्पसमा काम गर्न थालिन् । त्यतिखेर मदन स्मृति क्याम्पसमा अनमी र अहेवलाई शिक्षिका भएर पढाउन थालिन् । ‘त्यो बेला पढाउनेहरुको कमी थियो,’ उनी भन्छिन्, ‘त्यसैले पिसिएल सकाउने बित्तिकै मैले जागिर पाइहाले ।’ त्यतिखेर उनको मासिक तलब २४ सय थियो । उनले १ बर्ष त्यहाँ पढाइन् ।

वि.सं. २०५६ सालमा उनले धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्स भएर काम गरिन् । त्यहाँ काम गर्नेहरुलाई छात्रवृत्ति दिएर ब्याचलर पढ्न दिइन्थ्यो । ‘काम गरेको ३ वर्ष पुगेपछि ब्याचलर पढ्नका लागि स्कलरसीप दिइने भनिएको थियो,’ तुलसा सुनाउँछिन्, ‘तर, ४ वर्ष भइसक्दा पनि मैले र मेरा साथीहरुले ब्याचलर पढ्नको लागि छात्रवृत्ति पाएनौं ।’ पछि उनीसहित ५१ जनाले एकैसाथ राजीनामा दिए ।

त्यसको लगतै वि.सं. २०५९ साल तिर लोकसेवा खुल्यो । उनले लोकसेवा दिइन् । त्यतिखेर नतिजा आउन ७ महिना लाग्थ्यो । उनले त्यो समयमा अर्को बच्चा जन्माउने योजना बनाइन् । लोकसेवाको उनको रिजल्ट आयो, उनी पास भइन् । त्यसपछि धनकुटाको डाँडाबजारमा उनको पदस्थापना भयो । त्यहाँ उनलाई एक क्वार्टर दिइएको थियो । धनकुटा बसाइँका क्रममा उनले ग्रामीण जनजीवनसँग घुलमिल हुने अवसर पाइन् । त्यहाँ बस्ने मानिसहरुको मुख्य स्वास्थ्य समस्या लुतो थियो । गाउँमा पानीको समस्या भएको यो स्वास्थ्य समस्या धेरैमा देखिन्थ्यो ।

६ महिना धनकुटाको डाँडाबजारमा काम गरेपछि उनी धनकुटाकै जिल्ला अस्पतालमा काम गर्न थालिन् । त्यो बीच उनको दोस्रो सन्तानका रुपमा छोरी जन्मिइन् । त्यहाँ अस्पतालमा बच्चा जन्माउन नसकेर मृत्यु हुने महिलाहरुको संख्या बढ्दो थियो । एक पटकको कुरा हो—धनकुटाकै एक गाउँबाट एकजना महिलालाई बच्चा जन्मिएको दुई दिनपछि अस्पताल पु¥याइएको थियो । त्यतिबेला सिनियर डाक्टर थिएनन्, सिनियर नर्स अधिकारी मात्र थिइन् । ती महिलाका श्रीमानलाई अरु अस्पतालमा लैजान आग्रह गर्दा उनले भने, ‘बचाउन सक्छौं भने बचाउ नत्र म त घर लान्छु ।’

ती बिरामीका आफन्तको कुरा सुनेर तुलसासहित सबै नर्स डराए । उपचार नगरी घर लग्यो भने ती महिलाको मृत्यु हुने निश्चित थियो । त्यसपछि उनले आफ्ना सिनियरहरुलाई फोन गरेर सबै कुरा बताइन् । तुलसालाई उनका सिनियरले ‘तिमी सक्छौं, सहयोग मागेर काम गर’ भनेपछि उनले धरमरमा एमबीबीएस पढ्ने फाइनल ब्याचका स्टुडेन्टहरुसँग सहयोग मागिन् । र, ती महिलालाई रगत दिएको दुई दिनपछि तुलसा आफैले प्लासेन्टा (साल) निकाल्ने प्रयास गरिन् र उनी सफल भइन् । १० दिनपछि ती महिला निको भएर डिस्चार्ज भएपनि उनी औधी खुसी भइन् ।

धनकुटा अस्पतालमा काम गरिरहेका बेला बेलमा चरम द्वन्द्वको अवस्था थियो । त्यतिखेर धेरै महिला धेरै महिलाहरु बलात्कारको शिकार भए । र, उनीहरु समाजिक कारणले गर्दा अरुको गर्भ भनेर गर्भपतन गराउने गर्थे । वि.सं. २०६१ सालको कुरा हो, त्यतिखेर असुरक्षित गर्भपतन गराएर अस्पतालमा आउनेहरुको लर्को नै थियो । नेपालमा त्यो बेला गर्भपतन वैधानिक पनि भैसकेको थिएन ।

एक पटक एकजना महिला ज्वरो आयो भन्दैं अस्पताल आएकी थिइन् । खासमा उनका श्रीमान विदेशबाट केही दिनपछि नेपाल फर्किने रहेछन्, त्यसैले उनले केही दिन पहिले मात्रै विभिन्न औषधीहरु खाएर आफनो गर्भपतन गराएकी रहेछन् । तर, अप्राकृतिक र असुरक्षित गर्भपतनका कारणले उनको पूरै शरीरमा इन्फेक्सन भएर उनलाई ज्वरो आएको थियो । अस्पतालमा धेरै काउन्सिलिङ गरिएपछि उनले अनपेक्षित गर्भका कारण आफूले असुरक्षित गर्भपतन गराएको कुरा स्वीकार गरेकी थिइन् । पछि उनको उपचार भयो र घर फर्किइन् ।

वि.सं. २०६२ देखि नेपालमा गर्भपतन वैधानिक भयो । त्यसपछि तुलसाहित एक जना डाक्टरले थापाथलीबाट एक हप्ताको सुरक्षित गर्भपतनको टे«निङ लिए । र, उनी फर्किइन् । उनी फर्किएको केही पछि अस्पतालमा सुरक्षित गर्भपतन गराउन आउनेहरु धेरै देखिए । त्यसपछि असुरक्षित गर्भपतन गराएर अस्पताल आउने समस्या हराउँदै गयो । तुलसाले वि.सं. २०६३ सालसम्म त्यही काम गरिन् ।

त्यसपछि उनी ब्याचलर नर्सिङ (बीएन) पढ्न महाराजगन्जमा नर्सिङ क्याम्पसमा भर्ना भइन् । त्यहाँ उनले कम्युनिटी नर्सिङ पढिन् । वि.सं. २०६५ सालमा बीएन सकेपछि उनी टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्प्तालमा काम गर्न थालिन् । त्यहाँ उनले तीन वर्ष बिरामी सेवामा बिताइन् । त्यहाँ उनले नर्सिङ कोर्डिनेटरको जिम्मेवारी समेत सम्हालिन् । त्यसपछि उनी स्वास्थ्य कार्यालय काठमाडौंमार्फत बुढानिलकण्ठ नगरपालिकामा स्वास्थ्यको कोर्डिनेटर भएर कम गर्न गइन् । त्यही समयमा उनले मास्टर्स इन नर्सिङ पढ्नका लागि ‘चाइना सेन्ट्रल युनिभर्सिटी’बाट छात्रवृत्ति पाइन् । चीनबाट मास्टर्स सकेर २०७६ मा उनी स्वदेश फर्किइन् ।

बुढानिलकण्ठ नगरपालिकामा २ वर्ष काम गरिन । त्यसपछि उनी परिवार कल्याण महाशाखाको प्रजनन स्वास्थ्य र परिवार नियोजन सेवा शाखामा शाखा अधिकृत भएर आइन् । परिवार नियोजन सेवा शाखामा उनी कसरी काम गर्दै आइरहेकी छिन् त ? ‘परिवार नियोजन सेवा भनेको सामान्यतयाः सबैको बुझाइमा जनसंख्या नियन्त्रण गर्नको लागि भन्नेछ,’ तुलसा भन्छिन्, ‘तर, परिवार नियोजन जनसंख्या नियन्त्रण मात्र होइन्, परिवार नियोजनभित्र महिलाको स्वास्थ्य, परिवार योजना, व्यवस्थित परिवार, सन्तोषजनक यौन जीवन र परिवार नियोजनजस्ता कुराहरु पर्छन् ।’

परिवार नियोजनबारे अझै ज्ञानको कमी

अहिलेको अवस्था विश्वमा परिवार नियोजनको साधन आयुसिडी (कपटी) राख्नेको संख्या धेरै नै रहेको छ । किनभने, त्यो लामो समयसम्मका लागि राखिन्छ । ‘त्यो राख्दा महिलाहरुको समय र पैसाको पनि बचत हुन्छ,’ तुलसा कारण खोल्छिन्, ‘तर, नेपालमा भने आयुसिडीको बारेमा अझै राम्रोसँग बुझाउन सकिरहेको अवस्था देखिदैन् ।’

उनकाअनुसार नेपालमा परिवार नियोजनका लागी डिपो र पिल्स धेरै प्रयोगमा आएको पाइन्छ । त्यसमा महिलाहरुको धेरै समय र पैसा खर्च भैरहेको छ । जबकी एउटा डिपो किन्ने पैसाले ५ पटक कपटी राख्न पुग्छ । एक पटक राखेको आयुसिटी १२ वर्षसम्म काम गर्छ । डिपो लगाउन महिलाहरुले ३—३ महिनामा अस्पताल धाउनुपर्छ । एउटै मान्छेलाई ३—३ महिनामा डिपो दिनुपर्ने हुँदा स्वास्थ्यकर्मीतिर महिला दुवैको समय खेर गइरहेको हुन्छ । यसमा महिलाले वर्षमा ४ वटा सुई लगाउन अस्पताल जानुपर्ने हुन्छ ।

नेपालमा महिलाहरु आयुसिटी किन सबैले प्रयोग गरिरहेका छैनन् त ? ‘हाम्रो समाज, हामी हुर्किएको वातावरण र सरकारले गर्दा नेपालमा आफ्नो अंग अरुलाई देखाउनु हुन्न भन्ने भएकोले महिलाहरु आयुसिटी राख्न मान्दैनन्,’ तुलसा भन्छिन् ।

प्रजनन स्वास्थ्यमा नयाँ नेपाली प्रयास

महिलाको प्रजनन स्वास्थ्यमा के—कस्ता काम भैरहेका छन् ? प्रजनन स्वास्थ्यमा समाजअनुसारको नीति डिजाइन गर्ने काम परिवार नियोजन शाखाको हो । नेपाली महिलाहरु अवस्था हेरेर अहिले परिवार नियोजन सेवा शाखाले लामो समयसम्म राख्न सकिने ‘एडभोकेसी म्याट्रियल’ कसरी बनाउन सकिन्छ भन्ने कुरामा फोकस गरिरहेको छ ।

नेपालमा महिलाहरुले परिवार नियोजनका लागि प्रयोग गर्दै आइरहेको डिपोजस्तै साईनाप्रस घरमै आफै लगाउन सकिने क्षमता वृद्धि तालिमको योजना बनाएको छ । साईनाप्रेस गत साल मात्रै नेपालमा भित्रिएको हो । त्यसका लागि यही वर्ष नै परिवार नियोजन शाखाले ७ वटा जिल्लामा सेवा सुरु गर्ने तयारी अन्तिम चरणमा पु¥याएको छ । जिल्लाले मंसिरभित्र नगरपालिकाहरुमा तालिम दिएर पुसभित्र यो सेवा संचालनमा आउने जानकारी दिएका छन् । त्यसमा महिलाहरुलाई तालिम सहित सुई दिइनेछ र पछि उनीहरुले घरमा आफै परिवार नियोजनको सुई लगाउन सक्नेछन् । यसका लागि पाइलट टेस्ट पनि २ वटा जिल्लामा गरिसकिएको छ । अहिले परिवार नियोजन शाखाले ७ वटा जिल्लालाई ओरेन्टेसन गरिरहेको छ । अर्को वर्ष ३५ वटा जिल्लामा गरी यो सेवा संचालनमा आउनेछ ।

यसभन्दा पहिले नेपालमा बाँझोपन र क्यान्सरको तथ्यांक देखाउने गरिएको थिएन् । जसकारण नेपालमा बाँझोपन र क्यान्सरको तथ्यांक शुन्य देखिन्थ्यो । अब यही वर्षदेखि क्यान्सर, बाझोपनको डाटा हेर्न पाइने व्यवस्था शाखाले गरेको छ ।

विगत २४ वर्षदेखि स्वास्थ्य सेवामा तल्लीन तुलसालाई कहिलेकाही कामका कारण घरपरिवारलाई आफूले चाहे जति समय दिन नसकेको हो कि भन्ने पनि महसुस हुन्छ । उनका श्रीमान् र उनी अहिले पनि कामको सिलसिलाले गर्दा छुट्टै बस्दै आइरहेका छन् । अहिले उनका श्रीमान विराटनगरको परीक्षा वोर्डमा कार्यरत छन् । दुवै जागिरे भएकाले हुँदा समय—समयमा बिदाको बेला लामो दुरीको यात्रामा जाने र एकअर्कासँग समय बिताउने गर्छन् । त्यसैले अहिलेसम्म पनि उनको श्रीमान र उनीबीच सम्बन्ध अत्यन्तै राम्रो छ । अहिले सोसल मिडियाले गर्दा श्रीमानसँग छुट्टै बसेको महसुस हुदैन् उनलाई ।


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)