२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलहेड एन्ड नेक क्यान्सरका एक्ला सर्जन डा. ऋषिकेश ठाकुर

हेड एन्ड नेक क्यान्सरका एक्ला सर्जन डा. ऋषिकेश ठाकुर

जसले क्यान्सर अस्पताल खजुरा मै गरे चौथो स्टेजमा पुगेको मुखको क्यान्सरका सफल शल्यक्रिया


हेड एन्ड नेक क्यान्सर सर्जन डा. ऋषिकेश ठाकुर मुखको क्यान्सरको संक्रमण बढ्दैं गएर स्टेज ४ बी मा पुगेका बिरामीको सफलतापूर्वक शल्यक्रिया गरे पछि चर्चामा छन् । डा. ठाकुरको नेतृत्वमा रहेका चिकित्सक र स्वास्थ्यकर्मीहरुको टिमले ११ मंसिरमा पश्चिम नेपालको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा करिब ८ घन्टा लगाएर राजकुमार लोनियाको मुखको क्यान्सरको शल्यक्रिया गरेका हुन् । शल्यक्रिया गरेको १२ दिनपछि राजकुमार नयाँ जिन्दगी लिएर अस्पतालबाट डिस्चार्ज भएका छन् । मोफसलको अस्पतालमा सिमित स्रोध र साधनकाबीच डा. ठाकुर र उनको टिमको प्रयास सह्रानीय मान्नुपर्छ ।

बाँकेको जानकी गाउँपालिकाको प्रिहवा गाउँका लोनियाको गुड्का र चुरोट खाने आदत थियो । मुखमा घाउ भएपछि उपचारका लागि नेपालगन्जको भेरी अस्पताल हुँदै भारतको लखनउसम्म पुगेका थिए । लखनउमा शल्यक्रिया गर्न मात्रै साढे ३ लाख लाग्ने भएपछि गरिब तथा बिपन्न परिवारका २६ वर्षीय लोनिया बाँच्ने आश मारेर घर फर्किएका थिए ।

आफन्तहरुले गाउँ नजिकैको क्यान्सर अस्पतालमा उपचार भई हाल्छ कि भनेर खजुरा पुराएका थिए । क्यान्सरका कारण लोनियाको मुखमा भएको घाउ फैलदैं गएर घाटीसम्म फैलिएको थियो । डा. ठाकुरले लोनियाले स्वास्थ्य अवस्था चेक जाच गरे । आर्थिक अभावकै कारण बिरामीको मृत्यु हुनु हुँदैन भन्ने सोचेर डा. ठाकुरले लोनियाको शल्यक्रिया गरेर उपचारका लागि तयारी सुरु गरे । अस्पतालका सहकर्मी र लोनियाको परिवारका सदस्यहरुसँगको छलफल गरे । डा. ठाकुरको आँट र कडा मेहनतकै कारण लोनियाको शल्यक्रिया सम्भव भयो । लोनियाले नयाँ जीवन पाए ।

सुशील कोइराला क्यान्सर अस्पताल भर्खरै बामे सर्दै गरेको क्यान्सर अस्पताल हो । जहाँ अझैसम्म आईसीयु वार्ड संचालन हुन सकेको छैन । दक्ष चिकित्सकहरुको टिम, नयाँ उपकरण र र ब्याकअप सुविधाको अवस्था सुरुवाती चरणमै छ । डा. ठाकुर र उनको टिमले स्टेज ४ बी मा पुगेका बिरामीको सिमित साधन स्रोतको अधिकतम उपयोग गरेर पनि जटिल शल्यक्रिया सफलतापूर्वक गर्न सकिन्छ भन्ने देखाइ दिएका छन् । डा. ठाकुरको नेतृत्वको टिमले खजुरामै थाइराइडका कारण क्यान्सर संक्रमण भएर जटिल अवस्थामा पुगेका अन्य बिरामीहरुको पनि जटिल शल्यक्रिया गरिसकेको छ ।

स्टेज ४ बी मा पुगेका क्यान्सरका बिरामीको शल्यक्रिया नेपालका ठूला अस्पतालमा पनि बिरलै हुने गर्छ ।

सुशील कोइराला क्यान्सर अस्पताल खजुराका पूर्व कार्यकारी निर्देशक डा. कृष्ण आचार्यका अनुसार डा. ठाकुर हेड एन्ड नेक क्यान्सर सर्जरीमा एमसीएच गर्ने नेपालकै पहिलो डाक्टर हुन् । डा. ठाकुरले सन् २०१७/२०२० ब्याजमा भारतको दिल्लीस्थित एम्सबाट हेड एन्ड नेक क्यान्सर सर्जरीमा एमसीएच गरेका थिए ।

एमसीएच कोर्स पूरा भएपछि नेपालमै फर्किएर लोकसेवा आयोगबाट इएनटी सर्जनको रुपमा नवौं तहमा नाम निस्केपछि डा. ठाकुरको भेरी अस्पताल नेपालगन्जमा पोष्टिङ भएको थियो ।

पूर्व कार्यकारी निर्देशक डा. आचार्यकै पहलमा भेरी अस्पतालबाट काज सरुवा भएपछि डा. ठाकुर क्यान्सर अस्पताल खजुरा पुगेका हुन् ।

सानैदेखि पढाइमा अब्बल रहेका ठाकुरले महोत्तरी जिल्लाको पर्सा गाउँको सरकारी स्कुलबाट वि.सं. २०५७ सालमा एसएलसीमा जिल्ला टप गरेका थिए । विज्ञान विषय लिएर प्लस टु सकेपछि उनले एमबीबीएसका लागि शिक्षा मनत्रालय, जगदम्बा गुठी र भारतीय राजदुतावासबाट संचालन गरिएका प्रवेश परीक्षा दिए । उनको तीन वटै ठाउँमा नाम निस्कियो ।

ठाकुरले भारतीय राजदूतावासको पूर्ण छात्रवृत्तिमा भारतको बनारस विश्वविद्यालयबाट सन् २००४/२००९ को ब्याचमा एमबीबीएस पुरा गरे । त्यसपछि नेपाल फर्किएर केही समय त्रिवि शिक्षण अस्पतालमा मेडिकल अफिसरका रुपमा काम गरे ।

त्यसपछि भारतकै चर्चित अल इन्डिया इस्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) दिल्लीमा इएनटीमा पूर्ण छात्रवृत्तिमा नाम निकाले । सन् २०१३/२०१६ को ब्याचमा एम्सबाटै इएनटीमा एमएस गरेपछि नेपाल फर्किएर केही समय जानकी मेडिकल कलेजमा असिस्टेन्ट प्रोफेसरको रुपमा काम गरे । त्यसपछि पनि एम्समै एमसीएच सर्जरीमा पूर्ण छात्रवृत्ति पाए ।

सन् २०१७/२०२० को ब्याजमा एम्सबाटै हेड एन्ड नेक क्यान्सर सर्जरीको पढाइ पूरा गरे । पढाइ पुरा गरेर नेपाल फर्किएर नोबेल मेडिकल कलेज ज्वाइन गरे । नोबलमा हेड एन्ड नेक सर्जरी डिभिजन प्रमुखको रुपमा करिब २ वर्षसम्म क्यान्सरका बिरामीको शल्यक्रियासहितका सेवामा रमाए ।

आफ्नो पढाइ र जागिरका क्रममा अहिलेसम्म एक हजारभन्दा बढी क्यान्सरका बिरामीको शल्यक्रिया गरिसकेका डा. ठाकुर क्यान्सर सम्बन्धी विभिन्न विषयमा निरन्तर अध्ययन अनुसन्धान गर्दै आएका छन् । नेपाल र विदेशका थुप्रै मेडिकल जर्नलहरुका उनका आर्टिकलहरु प्रकाशित छन् । अमेरिकाको ख्याती प्राप्त मेडिकल जर्नल Laryngoscope मा पनि उनको आर्टिकल प्रकाशित भइसकेको छ ।

डा. ठाकुरले एमबीबीएस प्रवेश परीक्षा तयारी पुस्तक पनि लेखेका छन् । उनले लेखेको बुक अहिले पनि बेष्ट सेलरका रुपमा रहेको छ ।

भारतको चेन्नईमा सन् २०१९ मा भएको हेड एन्ड नेक अंकोलोजी फाउन्डेशनको सम्मेलनमा डा. ठाकुरले वेष्ट रिर्सचरको एवार्ड पाएका थिए । त्यसपछि उनले भारतको ख्याति प्राप्त क्यान्सर अपस्तालको रुपमा रहेका दिल्लीस्थित राजीव गान्धी क्यान्सर इस्टिच्युट एन्ड रिसर्च सेन्टर र मुम्बईस्थित टाटा मेमोरियल सेन्टरबाट सट टर्म कोर्ष पनि गरे ।

सट टर्म कोर्षकै बेला दुवै स्वास्थ्य संस्थाबाट उनलाई जागिरको अफर पनि आयो । भारतकै ख्यातिप्राप्त अस्पतालहरुको जागिरको अफरलाई छाडेर डा. ठाकुर स्वदेशमै आफ्नो ज्ञान र सिपको उपयोग गर्नुपर्छ भन्ने भावनाका साथ डा. ठाकुर नेपाल फर्किए ।

नेपालका कुनै पनि स्वास्थ्य संस्थामा हेड एन्ड नेक क्यान्सर सर्जनको दरबन्दी नभएका कारण डा. ठाकुरले लोकसेवा आयोगबाट इएनटी सर्जनको रुपमा ९ औं तहको चिकित्सकको रुपमा सरकारी सेवामा आफ्नो करियर सुरु गरेका हुन् । सरकारी सेवाको करियरको सुरुवात वि.सं. २०७९ असारदेखि गरेका डा. ठाकुर क्यान्सर अस्पताल खजुरामा कार्यरत छन् ।

क्यान्सर अस्पताल खजुरा मै फुल टाइम काम गरिरहेका डा. ठाकुर भन्छन्, ‘राम्रो टिम बनाएर उच्च मनोबलका साथ काम गर्ने हो भने खजुरामै नेपालका अन्य अस्पतालमा हुन नसक्ने जटिल र ठुला क्यान्सरका शल्यक्रिया गर्न सकिन्छ । त्यसका लागि काम गर्ने वातावरण र हौसला हुनुपर्छ ।’


क्याटेगोरी : प्रोफाइल



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ