२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रोफाइलगृहनगरमा भविष्य देखेका बालरोग विशेषज्ञ डा. थापा

गृहनगरमा भविष्य देखेका बालरोग विशेषज्ञ डा. थापा

‘केयर सिटी हस्पिटल एन्ड रिसर्च सेन्टर’मार्फत गुणस्तरीय स्वास्थ्य सेवा दिने प्रयास


पश्चिम नेपालमै कमै मात्र विशेषज्ञ चिकित्सकहरु छन् । धेरैजसो विशेषज्ञ चिकित्सकहरु काठमाडौं केन्द्रीत भएर काम गर्न रुचाउँछन्, अहिलेको नयाँ पुस्ताका युवा चिकित्सकहरु त अझ युरोप अमेरिका ताकिरहेका हुन्छन् । तर, नेपालगन्जमा जन्मिएका बालरोग विशेषज्ञ डा. विष्णु थापा भने गृहनगरमै फर्किएका छन् ।

पश्चिम नेपालका बालबालिकाका स्वास्थ्य सेवा नेपालगन्जबाटै दिने उद्देश्यले उनी नेपालगन्ज फर्किएका हुन् । नेपालगन्ज फर्केर उनले गुणस्तरीय सेवा दिने उद्देश्यले ‘केयर सिटी हस्पिटल एन्ड रिसर्च सेन्टर’ संचालनमा ल्याएका छन् । जसमार्फत उनी चिकित्सकलाई घण्टौ कुनुपर्ने अवस्थालाई परिवर्तन गर्न खोजिरहेका छन् ।

डा. थापाले नेपालगन्जको जय बागेश्वरी बोर्डिङ स्कुलबाट एसएलसी गरेका हुन् । काठमाडौंको ह्वाइट हाउस कलेजबाट प्लस टु गरेका उनले छात्रवृत्तिमा नाम निकालेर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान एमबीबीएस गर्ने अवसर पाए । सन् २०१० मा एमबीबीएस अध्ययनका लागि उनी धरान पुगे । त्यहाँबाट सन् २०१६ मा उनले एमबीबीएसको अध्ययन पूरा गरे ।

एमबीबीएस अध्ययन पूरा गरे लगत्तै भारतको ख्याति प्राप्त मेडिकल कलेज पोस्ट ग्राजुयट इन्स्टिच्युट अफ मेडिकल एजुुकेशन रिसर्च (पिजीआई) चण्ढीगढमा उनले विशेषज्ञता हासिल गर्ने छात्रवृत्ति पाए । पिजीआईको छात्रवृत्ति पाएपछि सन् २०१७ मा उनी बाल रोगमा विशेषज्ञता हासिल गर्न चण्ढीगढ गए । त्यहाँबाट उनले सन् २०२० मा बाल रोगमा विशेषज्ञता हासिल गरे ।

डा. थापाले पढाइ पूरा गर्दा कोभिड—१९ महामारीको जारी थियो । कोभिड—१९ महामारीका कारण डा. थापा पढाइ पूरा हुनासाथ गृहनगर नेपालगन्ज फर्किए । र, नेपालगन्जको भेरी अस्पतालमा बाल रोग विशेषज्ञका रुपमा काम सुरु गरे । करिब एक वर्ष काम गरेपछि डा. थापाले सरकारी अस्पतालको उपचार सेवाका बारेमा राम्रोसँग बुझे ।

भेरीमा अनेकौ समस्याहरुमा देखेपछि उनी नवजात शिशुलाई गुणस्तरीय उपचार सेवा फरक वातावरणमा दिने सोच बनाउन थाले । नेपालगन्जको भुजईस्थित आफ्नै घर जग्गा भएको ठाउँमा क्लिनिकका लागि आवश्यक पूर्वाधार बनाए । वि.सं. २०७८ असोजबाट उनले १५ शैय्या क्षमताको आफ्नै लगानीमा ‘केयर सिटी हस्पिटल एन्ड रिसर्च सेन्टर’ संचालनमा ल्याए । शिशुका लागि उपचार मैत्री वातावरणमा उनले जोड दिएका छन् ।

करिब ५ करोड लगानीमा सुरु गरेको ‘केयर सिटी हस्पिटल एन्ड रिसर्च सेन्टर’मा बाल रोग विशेषज्ञ सहित फूल टाइम र पार्ट टाइम गरेर करिब एक दर्जन चिकित्सक कार्यरत छन् । तीमध्ये अधिकांश चिकित्सकहरु विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) तथा भारतको पिजीआई र एम्समा पढेका छन् ।

पूराना अस्पतालभन्दा टाढा भएपनि केयर सिटी अस्पतालमा बिरामीको चाप बढ्दै गएको उनले जानकारी दिए । ‘बिरामी विश्वास र चाप बढ्दै गएपछि अस्पतालमा विशेषज्ञ चिकित्सकहरुको संख्या पनि थपिदै गएको छ,’ डा. थापाले भने, ‘राम्रो टिम र लगानी थपेर एक सय बेडको अस्पताल बनाउने लक्ष्यका साथ हामीले तयारी गरिरहेका छौं ।’ नेपालगन्जमा भइरहेको उपचार सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन ब्यवसायिक सोचसँगै अत्याधुनिक उपकरण र दक्ष चिकित्सकहरुको राम्रो टिम आवश्यक रहेको उनले भनाइ छ । डा. विष्णुले एउटा चिकित्सकका अतिरिक्त टिम लिडरको रुपमा युवापुस्ताका विशेषज्ञ चिकित्सकहरुको टिम बनाएर उपचार सेवालाई थप प्रभावकारी बनाउन लागिरहेका छन् ।

अझै पनि नेपालगन्जलगायत यस क्षेत्रका वासिन्दाहरुमा नेपालगन्जका अस्पतालहरुमा राम्रो उपचार हुँदैन् भन्ने सोच छ । त्यस्तो सोचका पछाडि केही सत्यता पनि होलान् तर पछिल्ला दिनहरुमा नेपालगन्जमा नेपाल र भारतका ख्यातिप्राप्त मेडिकल कलेजबाट पढाइ पूरा गरेका दक्ष विशेषज्ञ चिकित्सकहरुको संख्या निक्कै बढेको छ । चिकित्सककै कुरा गर्ने हो भने लखनउ र काठमाडौंकै अस्पतालमा कार्यरत चिकित्सकहरुले नै पढेका कलेजमा पढेका र उनीहरुकै बराबर योग्यता भएका केही चिकित्सकहरु नेपालगन्जमा सेवा दिइरहेका छन् ।

उनीहरुले नेपालगन्जको स्वास्थ्य उपचार सेवाको गुणस्तरमा सुधार गरिरहेका छन् । आफ्नै सहरका सक्षम चिकित्सकहरुलाई पनि विश्वास नगर्ने मानसिकता पनि क्रमसः बदलिदै जाने विश्वास डा. विष्णु व्यक्त गर्छन् । उनको सोच अन्य अस्पतालका संचालक र क्लिनिसियनभन्दा अलि फरक छ । ‘बिरामीले डाक्टरलाई घण्टौ पर्खनुपर्ने अवस्था हुनु हुँदैन्,’ डा. विष्णु भन्छन्, ‘अस्पताल वा स्वास्थ्य संस्थामा पुगेको एक घण्टाभित्रै बिरामीले उपचार सेवा पाउनुपर्छ । डाक्टरलाई भेट नै घण्टौ पर्खनुपर्ने अवस्था हुनु हुँदैन् ।’

यही बाध्यतालाई ध्यान दिएर केयर सिटी अस्पतालले अस्पतालमा उपचारका लागि पुगेका बिरामीले कुनु नपर्ने गरी प्रतिष्ठित संस्थाबाट जनरल मेडिसिनमा एमडी गरेका डाक्टरलाई फुलटाइम राखेको छ । ‘कन्सल्ट्यान्ट फिजिसियन आफैले बिरामीलाई हेरेर बिरामीको उपचारका लागि थप समन्वय गर्ने ब्यवस्था मिलाएका छौं,’ डा. थापा भन्छन्, ‘जसका कारण बिरामीलाई गुणस्तरीय उपचार पाउन केही हदसम्म भएपनि सहज भएको छ ।’

ख्याति प्राप्त मेडिकल कलेजबाट दीक्षित भएर गृहनगर फर्किएका डा. थापा नेपालगन्जका उदीयमान बाल रोग विशेषज्ञमा पर्छन् । भन्छन्, ‘हामीले हाम्रो योग्यता र क्षमताले भ्याएसम्म आफ्नै सहरमा योगदान गर्नुपर्छ । असल सोच र इमान्दारीपूर्वक काम गर्ने हो भने नेपालीलाई विदेश जानै पर्दैन् । नेपालमै धेरै सम्भावना र अवसरहरु छन् । उनी विदेशभन्दा आफू जन्मे हुर्केकै माटोमा कर्म गर्न रमाउँछन् । ‘अहिलेसम्म एक पटक पनि विदेश जाउ उतै सेटल हौं भन्ने सोचेको आएको छैन्,’ उनले भने ।

पछिल्ला केही वर्षहरुमा नेपालमा केही हुँदैंन भन्ने निराशा समाजमा बढ्दो छ । डा. थापालाई स्वदेशमा केही सम्भावना छैन भन्ने भावनाले समाजमा गलत सोच बढाउने काम गरिरहेको लाग्छ । ‘जानेर नजानेर धेरै क्षेत्रबाट गलत सोच बढाउने काम भइरहेको छ,’ उनी भन्छन्, ‘जसले गर्दा युवाहरुमा यो देशमा केही सम्भव छैन भन्ने नकारात्मक सोच बढ्दै गएको छ ।’ अहिले पनि देशमा राम्रो पढेलेखेका मानिसहरु देशमै भविष्य छ है भन्ने सोचका साथ काम गरिरहेका छन् । यही सोच युवाहरुमा आउनुपर्ने खाँचो उनी देख्छन् । ‘देशमा देखिएका अप्ठ्यारा र बाधाहरु क्तमसः हटदै गएर भविष्य सहज र अनुकुल हुन्छ, बन्दै जान्छ भन्ने विश्वासका साथ काम गर्दै जानुपर्छ,’ डा. थापा भन्छन् ।


क्याटेगोरी : प्रोफाइल
ट्याग : #केयर सिटी हस्पिटल एन्ड रिसर्च सेन्टर, #डा. विष्णु थापा, #बालरोग विशेषज्ञ


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ