२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेश‘कोभिड-१९’ को प्रभाव : बजारमा मास्कको अभाव, मूल्यमा भारी वृद्धि

‘कोभिड-१९’ को प्रभाव : बजारमा मास्कको अभाव, मूल्यमा भारी वृद्धि


बुटवल – चीनबाट सुरु भएको कोभिड-१९ को जोखिम नेपालमा पनि फैलिन सक्ने संभावनाकाबीच प्रदेश नं. ५ मा मास्कको अभाव हुन थालेको छ । कोरोना भाइरसबाट जोगिन सबैभन्दा सुरक्षित मानिने एन ९५ नामक मास्कमात्रै नभएर साधारण पेपर मास्कको समेत बजारमा अभाव देखिन थालेको हो । बिक्रेताका अनुसार मास्कको मूल्यमा भारी वृद्धि भएको छ ।

बुटवलका सर्जिकल व्यवसायी विष्णु भण्डारीले बजारमा सबै प्रकारका मास्कको अभाव बढेको जनाए । उनका अनुसार कोरोनाको सन्दर्भमा शनिबार प्रधानमन्त्रीले बैठक बोलाएपछि बजारमा मास्कको माग उच्च छ । मागअनुसारको आपूर्ति नहुँदा मास्कमा कालोबजारी हुने सम्भावना बढेको छ । चीनमा कोरोना भाइरस देखिएलगत्तै मास्कको माग खासै थिएन । तर, पछिल्लो समय विश्व स्वास्थ्य संगठन समेतले नेपाल कोरोना भाइरसको उच्च जोखिमा रहेको जनाएयता सामान्य र एन ९५ मास्कको माग अत्यधिक बढेको हो।

तिलोत्तमा नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव अधिकृत ईश्वरी पौडेलले अभावले मास्क खरिद गर्न नसकिएको बताए । विगतमा १-२ वटा मात्र मास्क किन्नेहरुले पछिल्लो समय पाएसम्म बट्टानै किन्ने गरेका छन् । नेपालबाट चीनमा मास्क पठाइएकाले पनि यहाँ अभाव भएको बिक्रेताहरु बताउँछन् । ‘बजारमा मास्क अभाव नै भइसकेको छ । मैले कपडाको बनाएर काम चलाएको छु ।’ तिलोत्तमाका सुनिल कुमार जयसवालले भने ।

सर्जिकल पसलहरु मास्कविहीन छन् । विगतमा धुलोधुवाबाट बच्न मात्र मास्क प्रयोग गरिँदा अभाव थिएन । यस्तै अवस्था रह्यो भने कपडाको मास्कको व्यापार फष्टाउने कतिपयको अनुमान छ ।

नेपालमा मास्क उत्पादन गर्ने कम्पनी सीमित छन् । यी कम्पनीले साधारण पेपर मास्क मात्र उत्पादन गर्छन् । कोरोना भाइरसबाट जोगिन उपयुक्त मानिने एन ९५ मास्कको उत्पादन चीनमा हुन्छ । चीनबाटै नेपाल आयात गरिँदै आएको एन ९५ मास्क पछिल्ला दिनमा नेपाल भित्रिएको छैन ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ