२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोनाको पूर्व तयारीमा जुट्यो प्रदेश ५ सरकार

कोरोनाको पूर्व तयारीमा जुट्यो प्रदेश ५ सरकार


बुटवल—प्रदेश ५ सरकारले कोरोना भाइरसको जोखिमबाट बच्नका लागि पूर्व तयारी सुरु गरिएको जनाएको छ । यसअघि प्रदेशमा सबै प्रकारका भेला, महोत्सवमा रोक लगाउने निर्णय गरेको प्रदेश सरकारले जिल्लास्थित स्वास्थ्य कार्यालयहरुसँग पूर्व तयारीका लागि बैठक छलफलसँगै कामलाई तीव्रता दिइएको जनाएको हो ।

कोही शंकास्पद बिरामी भेटिए सार्वजनिक यातायात वा अन्य गाडी नभई केही सम्पर्क स्थानसहित विशेष एम्बुलेन्स तयारी अवस्थामा राख्नेगरी कामको तयारी अघि बढाइएको प्रदेश ५ को सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए । स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदकुमार गिरीले प्रदेश सरकारले तीन वटै तहका सरकारको समन्वयमा कोरोना विरुद्धको काममा अघि बढ्ने गरी छलफल र काम अघि बढाइएको बताए ।

निर्देशनालयका अनुसार आइसोलेसनसहित उपचारको प्रबन्धसहित फोकल पर्सन तोक्नका लागि प्रदेशका १४ वटा सरकारी र ४ वटा मेडिकल कलेजहरुलाई निर्देशन दिइसकेको छ । प्रदेशका ८ वटा अस्पतालमा आइसोलेसन कक्ष स्थापना गरिएको छ । ती अस्पतालले पत्रमार्फत फोकल पर्सनको नामावलीसहित आइसोलेसन कक्षको व्यवस्था गरेको जानकारी पठाएको निर्देशनालयले जनाएको छ ।

विवरण पठाउनेमा लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्ज मेडिकल कलेज, देवदह मेडिकल कलेज छन् । त्यसैगरी यूनिभर्सल मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज, युनाइटेड मिसन अस्पताल र भेरी अस्पतालले पनि निर्देशनालयमा विवरण पठाएका छन् ।

निर्देशनालयका ल्याब टेक्निसियन गोपाल गौतमले थर्मो स्केल किन्नका लागि मन्त्री सुदर्शन बरालले निर्देशन दिइसकेको जानकारी गराए । मन्त्री बरालले कोरोनाका संक्रमित र शंकास्पद बिरामी भेटिए नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एम्बुलेन्स प्रयोग गर्ने गरी काम अघि बढेको बताए ।

एम्बुलेन्स चालकलाई पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई) पोशाक लगाएको हुने, त्यसका लागि सम्पर्क नम्बर सार्वजनिक गर्न लागिएको मन्त्री बरालले जानकारी दिए । मन्त्री बरालले के कसरी जाने ? भन्ने विषयमा शुक्रबार २३ गते नागरिक समाज, उद्योगी व्यवसायीहरु, नेपाल प्रहरी, नेपाली सेना, पत्रकार, बृहत भेला गर्न लागेको बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ