२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशअत्याधुनिक बनाइँदैं लुम्बिनी र भीम अस्पताल

अत्याधुनिक बनाइँदैं लुम्बिनी र भीम अस्पताल


बुटवल—प्रदेश सरकार मातहतमा रहेका रुपन्देहीका प्रमुख दुई अस्पतालले सुधारको लय पक्रिन थालेका छन् । यसअघि केन्द्र सरकारको मातहतमा रहेका लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल र भीम अस्पताल, भैरहवामा व्यापक सुधारको संकेत देखिएको हो । प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पताललाई गौरवको आयोजनाको रुपमा राखेको छ ।

दुवै अस्पताललाई अत्याधुनिक बनाउने गरी गुरुयोजना निर्माण भएको छ । प्रादेशिक अस्पतालको १० तले नयाँ भवन बनाउने गरी प्रदेश सरकारले गुरुयोजना निर्माणको काम गरिरहेको छ । गुरुयोजनाअनुसार अस्पतालको संरचना निर्माणका लागि ७ अर्बको लागत अनुमान गरिएको छ । तीन महिनामा डिपिआरको काम सकेर डेण्टर गरिसक्ने र ३ वर्षभित्रमा अस्पतालको निर्माण कार्य सक्ने लक्ष्यमा सरकार जुटेको सामाजिक विकास मन्त्रालयका एक अधिकारीले बताए ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन डा. राजेन्द्र खनालले नयाँ भवन निर्माण सम्पन्न भएपछि अस्पताल १२ सय शैय्याको हुने जनाए । भवनको अगाडिको भागमा अत्याधुनिक ओपिडी, इमर्जेन्सी, इन्डोर सर्भिस कक्ष रहनेछन् । साथै बिशिष्टीकृत ग्याष्ट्रो, न्यूरो, कार्डियोलगायतका सबै विशेषज्ञ सेवा प्रदान गरिने पनि मेसु खनालले जानकारी दिए । भवनको माथि हेलिप्याड समेत रहने उल्लेख गरिएको छ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत बन्नेछ ।

यता, भैरहवामा रहेको भीम अस्पतालको गुरुयोजना पनि तयार भएको छ । करिव ३६ करोडको लागतमा उक्त अस्पतालको नयाँ भवन निर्माण हुने भएको हो । वि.सं. १९९० मा स्थापना भएको जिल्ला अस्पताल अत्याधुनिक सुविधा सम्पन्न अस्पतालका रुपमा विकास हुनेछ ।
अस्पताल १ सय शैय्याको हुनेछ । भवनको माथि हेलिप्याडसमेत रहने गुरुयोजनामा उल्लेख गरिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले अब बन्ने जिल्ला अस्पताल अत्याधुनिक सुविधासहितको हुने बताए । अस्पतालका सूचना अधिकारी डा. गोपाल उपाध्यायले अस्पतालले भैरहवा क्षेत्रमा उपचारका लागि आउने विशेषत रुपन्देही दक्षिणी भेगका बिरामीहरुलाई लक्षित गरेर सुविधा सम्पन्न बनाइने बताए ।

गुरुयोजना निर्माणपछि यस आर्थिक वर्षभित्र नै प्रदेश नं ५ सामाजिक विकास मन्त्रालयले टेण्डर आव्हान गरेर निर्माण कार्य सुरु गर्नेछ । अस्पताल निर्माण सुरु भएपछि २ वर्षभित्र सक्ने लक्ष्य रहेको छ ।

वि.सं. १९९० मा ३ शैय्यासहित स्थापनामा भएको अस्पताल वि.सं. २०३५ सालमा १५ शैय्यामा स्तरोन्नती भएको थियो भने वि.सं. २०४० सालमा २५ शैय्यामा स्तरोन्नती भएको हो । पछिल्लो समय २५ शैय्याको स्वीकृत भएपनि अस्पताल ब्यवस्थापन समितिले ६८ बेडमा अस्पताल संचालन गर्दै आएको छ ।

यस्तो बन्नेछ लुम्बिनी अस्पताल

यस्तो बन्नेछ भीम अस्पताल 


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ