२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोनाको पूर्व तयारीः १० अस्पतालमा आइसोलेसन वार्ड, को तोकिए ‘फोकल पर्सन’ ?

कोरोनाको पूर्व तयारीः १० अस्पतालमा आइसोलेसन वार्ड, को तोकिए ‘फोकल पर्सन’ ?


बुटवल—प्रदेश ५ सरकारले ६ वटा जिल्लाका ११ वटा नाकामा स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क सञ्चालन गरिएको जनाएको छ । सामाजिक विकास मन्त्रालयले हेल्थ डेस्क स्थापनासँगै औषधिको व्यवस्थापन, संक्रमित बिरामीलाई उपचारका लागि अस्पतालमा आइसोलेसन वार्डसमेत तयार पारेको दावी गरेको छ ।

प्रदेश सरकारले १२ वटै जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर कोरोना भाइरसको जोखिमबाट बच्न सावधानी अपनाउन तथा मानिसहरुको भिड लाग्ने मेला–महोत्सव, सभा सेमिनारजस्ता कार्यक्रम नगर्न निर्देशन दिन सुझाएको छ । प्रदेश सरकारको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी गरेका छन् ।

१० अस्पतालमा आइसोलेसन वार्ड

प्रदेशका १० वटा अस्पतालमा आइसोलेसन वार्ड तयारी अवस्थामा राखेको छ । मन्त्रालयले स्वास्थ्यसँग सम्बन्धित विभिन्न निकायहरुसँग छलफल गरेर कोरोना संक्रमणको पूर्वतयारी र संक्रमित व्यक्तिको उपचारका लागि आइसोलेसन वार्ड तयार पारेको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

उनले नाकामा हेल्थ डेस्क स्थापना गर्नेदेखि लिएर जनशक्तिको व्यवस्थापन चुस्त पारिएको बताए । सामाजिक विकास मन्त्रालयले प्रदेशका १२ वटै जिल्लालाई केन्द्रमा राखेर एक जना चिकित्सकलाई फोकल पर्सन तोकेर आइसोलेसन वेड तयार पारेको जनाएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा २ वटा क्याविन आइसोलेसन बेडका रुपमा छुट्याइएको छ । यस अस्पतालमा बिरामीको चापअनुसार बेड थप्न सकिने अस्पतालले जनाएको छ ।

कुन अस्पतालमा को चिकित्सक तोकिए ?

प्रदेशको सामाजिक मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पतालमा डा. सुदर्शन थापालाई कोरोना संक्रमित बिरामीको उपचार गर्ने फोकल चिकित्सकका रुपमा तोकिएको छ ।

यसैगरी भेरी अस्पताल नेपालगञ्जमा डा. प्रकाश थापा, पृथ्वीचन्द्र अस्पताल, परासीमा डा. पवन अग्रहरि, तौलिहवा अस्पताल डा. गणेश क्षत्री, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान डा. सदीक्षा योगी, देवदह मेडिकल कलेज डा. सुन्दर पाण्डे, लुम्बिनी मेडिकल कलेज पाल्पमा डा. दीपक भण्डारी, यूसिएमएस भैरहवामा डा. नवीनजंग रायमाझी, नेपालगञ्ज मेडिकल कलेजमा डा. सुन्दरजंग शाह र मिसन अस्पताल पाल्पामा डा. गजेन्द्र नेपालीलाई फोकल पर्सन तोकिएको छ ।

यी सबै अस्पतालमा आइसोलेसन बेड तयार पारिएको र बिरामीको चापअनुसार बेडको व्यवस्था गरिने सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सक सेवा महाशाखा प्रमुख वरिष्ठ स्वास्थ्य प्रशासक डा. उमाशंकरप्रसाद चौधरीले बताए ।

लुम्बिनीमा आउने पर्यटकलाई लक्षित गरेर समेत निगरानी बढाइएको छ । प्रदेश ५ का १ सय ९ वटा स्थानीय तहले आ–आफ्नै किसिमले तयारी गरेका छन् । तर, नेपालमा पर्याप्त उपकरणहरु नहुँदा यसको उपचारमा असहजता आउने हो कि भन्ने आशंका छ । प्रदेश सरकारले विपद व्यवस्थापनका लागि ९ करोड बजेट छुट्याएको छ । विभिन्न संघसंस्थाले निःशुल्क रुपमा मास्क वितरण गर्ने कामसमेत गरेका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ