२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशपीपीई नहुँदा ‘रेनकोट’ लगाएर काम गर्न बाध्य छन्, चिकित्सक

पीपीई नहुँदा ‘रेनकोट’ लगाएर काम गर्न बाध्य छन्, चिकित्सक


बुटवल-बुटवलका डा. सुदर्शन थापा यतिबेला चर्चामा छन् । कोभिड १९ का शंकास्पद बिरामीको उपचारमा उनी तल्लीन छन् । प्रदेश नं. ५ कैं ठूलो अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना फोकल पर्सन हुन्, उनी । वरिष्ठ कन्सलटेन्ट फिजिसियन डा. थापालाई धागो कारखानामा स्थापना गरिएको कोरोना आइसोलेसन अस्पतालमा रहेका बिरामी हेर्ने जिम्मेवारी छ ।

डा. थापा भन्छन्, ‘काम उही हो तर जिम्मेवारी थपिएको छ । अभावकाबीच कोभिड १९ संक्रमणको शंका लागेर अस्पताल आएका बिरामीहरुको उपचारमा खटिएको छु । तर, राम्रो पक्ष अहिलेसम्म यहाँ कुनै पनि बिरामीमा पोजेटिभ रिपोर्ट देखिएको छैन । अत्यावश्यक उपकरण बिना नै जोखिम मोलेर काम गरेका छौं ।’

उनलाई अहिले दैनिक १०० भन्दा बढी फोन आउँछन् । फोन गर्नेमा मुख्यमन्त्रीदेखि स्थानीय तहका जनप्रतिनिधिसम्म छन् । के भइरहेको छ, कस्तो छ तयारीदेखि कोरोना संक्रमितको आशंका गरिएको बिरामीको रिपोर्ट के आयो, नयाँ बिरामी आएका छन् कि छैनन, यस्ता लक्षण छन् त्यहाँ पठाउँ की नाई ? भनेर उनलाई सोधिन्छ ।

उनी लुम्बिनी प्रादेशिक अस्पतालमा बिरामीको चेकजाँच गर्छन् । त्यसपछि बुटवल–१० रामनगरमा रहेको कोरोना विशेष अस्पतालमा पुुग्छन् । त्यहाँ आइसोलेनसनका बिरामीको चेकजाँचमा खटिन्छन् । डा. थापाले देशभरका कोरोनाको क्षेत्रमा काम गर्ने चिकित्सकहरु अत्यावश्यक तयारी सामग्रीबिनै काम गर्न बाध्य भएको गुनासो गरे । उनले भने, ‘स्वास्थ्यकर्मी तथा बिरामीले प्रयोग गर्नुपर्ने पर्सनल प्रोटिक्टभ इक्युपमेन्ट (पीपीई) को अभाव छ । पीपीईबिना नैं हामी उपचारमा काम गर्नुपर्ने अवस्था छ ।’

अभावकाबीच जनताको जीवनरक्षाका लागि पीपीई नपाएपछि प्लाष्टिकको ‘रेनकोट’ लगाएर काम गरिरहेका उनको भनाइ छ । बुटवलमा मात्रै दैनिक ६ वटासम्म पीपीई आवश्यक छ । तर, एउटा पनि पीपीई नहुदा चिकित्सक त्यसको सट्टामा रेनकोट प्रयोग गरेर काम गरिरहेका छन् ।

गएको फागुुन २९ गते बुटवलका एक युुवालाई कोरोना भाइरसका बिरामीसँग मिल्दाजुुल्दा लक्षण देखिएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना गरियो । अस्पतालमा भागाभागको जस्तै स्थिति बन्यो । तर, थापा उपचारमा खटिने अन्य स्वास्थ्यकर्मीको आत्मबल बढाउँदै उपचारमा खटिए । बिरामीमा कोरोनाको संक्रमण देखिएन ।

डा. थापासँग २० जनाको टिम छ । बुटवलको कोरोना विशेष अस्पतालमा ६ जना बिरामीलाई आइसोलेसनमा राखेर उपचार भइरहेको छ । भने, ‘८ जना शंकास्पद विरामीको स्वाब परिक्षण गर्दा नगेटिभ रिपोर्ट आएपछि उनीहरु घर फर्किसकेका छन् ।’ उनी कोभिड १९ को सम्भावित जोखिम विरुद्ध प्रदेशको तयारी कम रहेको बताउँछन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ