२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसुनचाँदी व्यवसायी संघद्वारा तिलोत्तमा नगरपालिकालाई २ हजार मास्क प्रदान

सुनचाँदी व्यवसायी संघद्वारा तिलोत्तमा नगरपालिकालाई २ हजार मास्क प्रदान


बुटवल–नेपाल सुनचाँदी व्यवसायी संघ तिलोत्तमा शाखाले तिलोत्तमा नगरपालिकालाई दुई हजार मास्क प्रदान गरेको छ । कोरोना भाइरसका कारण बजारमा मास्कको कमी भइरहेका बेला संघले युनिक सेनेटरी प्याड उद्योगबाट उत्पादित मास्क ल्याएर नगरपालिकालाई प्रदान गरेको हो ।

नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउने कार्यका लागि मास्क प्रदान गरिएको संघका उपाध्यक्ष विष्णु कालीराजले बताए । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले नगरपालिकालाई प्रदान गरिएको मास्क नगरमा हरेक वडामा खटिने कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, नगर प्रहरीलगायतलाई प्रदान गरिने जानकारी दिए । उनले नगरपालिकाले कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा उपकरण (पीपीई उत्पादन गर्न लागेको पनि जानकारी गराए ।

तिलोत्तमा चेम्बर अफ कमर्सका उपाध्यक्ष रामचन्द्र पाण्डेले स्वास्थ्य संकटको यो घडीमा संक्रमणको रोकथाममा पहिलो पंक्तिमा रहने स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउन आवश्यक रहेको बताए । नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्री, सुनचाँदी व्यवसायी संघ तिलोत्तमाका कोषाध्यक्ष मीन विश्वकर्मा, सल्लाहकार जित गहतराज र जिल्ला सदस्य मनोज सेन्चुरीले बजारमा मास्क अभाव भइरहेको अवस्थामा संघले प्रदान गरेका मास्कले थोरै भएपनि राहत पुग्ने बताए ।

तिलोत्तमाको राहत कोषमा स्वास्थ्यकर्मीद्वारा रकम प्रदान

यसैबीच कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तिलोत्तमा नगरपालिकाले स्थापना गरेको विशेष राहत कोषमा रकम जम्मा गर्ने अभियान तीव्र बनेको छ । आइतबार उक्त राहत कोषका नगरपालिका स्वास्थ्य शाखा अन्तर्गतका कर्मचारीले राहत कोषमा रकम जम्मा गर्ने घोषणा गरेका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत सिनियर अहेव अधिकृतद्वय गणेश गौतम र इश्वरी पौडेलले राहत कोषमा २५–२५ हजार रकम प्रदान गर्ने घोषणा गरेका छन् । त्यस्तै आनन्दवन स्वास्थ्यचौकीका इन्चार्ज एवं जनस्वास्थ्य निरीक्षक ज्ञानप्रसाद पौडेल र गंगोलिया स्वास्थ्य चौकीका इन्चार्ज लिलाधर घिमिरेले पनि नगरपालिकाको राहत कोषमा २५–२५ हजार रकम प्रदान गर्ने घोषणा गरेका छन् ।

तिलोत्तमा नगरपालिकाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि जम्मा हुने रकममा एकद्वार नीति अपनाएको छ । अरू कसैलाई पनि रकम जम्मा गर्ने उद्देश्यले कोष खडा नगर्न आग्रह गरिएको नगर प्रमुख वासुदेव घिमिरेले बताए । कोषका लागि नगरपालिकाले एनआईसी एशिया बैंकमा खाता खोलेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ