२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रदेश ५ मा कोरोना भाइरस परीक्षण प्रयोगशाला सञ्चालनमा

प्रदेश ५ मा कोरोना भाइरस परीक्षण प्रयोगशाला सञ्चालनमा


बुटवल—प्रदेश नं. ५ को भैरहवामा प्रदेशस्तरीय कोरोना भाइरस (कोभिड—१९) परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ । भैरहवाको राष्ट्रिय गहुँबाली अनुसन्धान केन्द्रको विउ विजन कार्यालय भवनको माथिल्लो तलामा प्रयोगशाला स्थापना गरिएको हो ।

प्रयोगशालामा कोरोना भाइरस परीक्षण सुरु भैसकेको प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिए । प्रयोगशालाबाट एक घन्टामा एकजनाको नमूना परीक्षण गर्न सकिने छ । प्रयोगशालामा बाहिरी हावासमेत पस्न नसक्ने, प्रयोगशालामा कार्यरत प्राविधिकको पनि सुरक्षा र त्यहाँ प्रयोग गरिएका नमूनाहरु पनि हानिकारक तत्वबाट जोखिम नहुने प्रविधि बायोसेफ्टी लेबल समेत तयार भएको डा. गिरीले बताए ।

भैरहवामा पीसीआर र किटसहितको सामग्री चैत २० गते आएपनि मेसिन जडान लगायतका पूर्वाधार निर्माणका काम पूरा गर्न ढिलाइ भएको थियो । कोरोना जाँचका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंका माइक्रोबायोलोजिष्ट विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज बस्नेतको टोली आएको छ ।

सामाजिक विकास मन्त्रालयले चैत २२ गते प्रयोगशालाका लागि ५ जना जनशक्तिका लागि आवेदन पनि माग गरेको छ । २०७७ असार मसान्तसम्मका लागि करार सेवामा काम गर्ने गरी निवेदन आव्हान गरिएको हो । यहाँ प्रयोगशाला नहुँदा स्वाबहरु संकलन गरी काठमाडौं पठाउनुपर्ने बाध्यता थियो । रुपन्देहीमा हाल दैनिक सरदर ६ वटा स्वाब संकलन हुने गरेको डा. गिरीले बताए । यो बाहेक प्रदेश ५ सरकारले दाङ र नेपालगन्जमा पनि प्रयोगशाला स्थापना गर्दैछ । तर, त्यहाँ भने संचालनमा आउन केही दिन लाग्ने जनाइएको छ । रुपन्देहीमा प्रयोगशाला स्थापना भएपछि रुपन्देहीसँगै कपिलवस्तु, पश्चिम नवलपरासी, पाल्पा, अर्घाखाँची र गुल्मी जिल्लाका कोरोना शंकास्पद बिरामीको स्वाब परीक्षण र रिपोर्ट छिटो आइ उपचार सहज हुने अपेक्षा गरिएको छ ।

यसैबीच प्रदेश ५ कोरोना शंकास्पद बिरामीको संख्या १२८ पुगेको छ । उनीहरु प्रदेशका विभिन्न आइसोलेसन अस्पतालमा भर्ना भएर उपचार गराइरहेको प्रदेश स्वास्थ्य निर्देशनालय बुटवलका तथ्याङ्क अधिकृत मनबहादुर वलीले जानकारी दिए । कोरोना शंकास्पद बिरामीमध्ये ८९ जनाको स्वाबको नमूना परीक्षण गरिएको र ७५ जनाको रिपोर्ट नेगेटिभ आएको वलीले बताए । १४ जनाको रिपार्ट आउन बाँकी रहेको उनले जानकारी दिए ।

कोराना शंका गरिएका बिरामीहरु नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्ज, सोही मेडिकल कलेजको कोहलपुर, आर्मी अस्पताल बाँके, केन्द्रीय आयुर्वेद विद्यापीठ दाङ, बर्दिया अस्पताल, लुम्बिनी मेडिकल कलेज पाल्पा, बुटवल धागो काराखानाको कोरोना अस्पताल, भीम अस्पताल भैरहवालगायतका अस्पतालमा उपचाररत छन् । प्रदेश ५ मा कोरोना आशंकामा उपचारका लागि भर्ना भएका विरामी मध्ये हालसम्म कसैको पनि पोजेटिभ रिपोर्ट आएको छैन ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ