२०८१ वैशाख २८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोना अस्थायी अस्पतालमा १० वेडको आईसीयु निर्माण

कोरोना अस्थायी अस्पतालमा १० वेडको आईसीयु निर्माण


बुटवल-तीव्र दबाबबीच बुटवल धागो कारखानास्थित कोरोना अस्थायी अस्पतालमा १० बेडको आईसीयु निर्माण भएको छ । आईसीयु नहुँदा एक जना बिरामीको ज्यान गएपछि अस्थायी अस्पतालमा यो सुविधा थप्न चौतर्फी दबाब परेको थियो । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाको सहयोगमा आईसीयु निर्माण गरिएको हो ।

आईसीयु स्थापनामा करिब २ करोड लगानी भएको जनाइएको छ । आठ थान आईसीयुका बेडसहित आवश्यक ४ थान भेन्टिलेटर, ८ थान मनिटरलगायतका उपकरणहरु मुटु अस्पतालले सहयोग गरेको हो ।

आईसीयुको मुख्यमन्त्री शंकर पोखरेलले निरीक्षण गरेका छन् । त्यसक्रममा उनले अस्पताल निर्माणमा संघ संस्थाहरुले गरेको सहकार्य र सहयोगको प्रशंशा गर्दै सबैको साझा प्रयासबाट कोरोनाको महामारीलाई जित्न सकिने बताए ।

उक्त आईसीयु कक्षका लागि रुपन्देहीका संघ संस्थाहरुको सञ्जालले करिव ३५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने तयारी गरेको छ भने अस्पतालका लागि आबश्यक ३० वटा अस्थायी शौचालय निर्माण व्यवसायी संघ रुपन्देहीले निर्माण गरिदिएको छ ।

यस क्षेत्रमा हालसम्म कोरोनाको संक्रमण भएको पुष्टि नभएको भएपनि कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर दैनिक चार/पाँच जना बिरामी आउने गरेको र पाल्पाका बावुराम थापाको आईसीयु अभावका कारण मृत्यु भएपछि आईसीयु स्थापना गर्न दबाब परेको थियो ।

कोरोनाको संक्रमणको बढदो त्रासका कारण सम्भावित खतरा तथा छिमेकी देशमा फैलिदै गएको प्रभावलाई हेरेर पूर्व तयारी स्वरुप सघन उपचार कक्ष (आईसीयु) निर्माण गरीएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सुर्यबहादुर भटराईले बताए ।

यसैबीच कोरोना रोकथाम तथा नियन्त्रणमा भइरहेका काम र आगामी योजनाबारे मुख्यमन्त्री पोखरेलले सर्वदलीय बैठक राखेर जानकारी गराएका छन् । उनले प्रदेश सरकारले बाँके, दाङ, बुटवल र भैरहवामा चार वटा आईसीयुसहितका कोरोना विशेष अस्पताल तयार गरी उपचार सुरु गरेको जनाए । त्यसैगरी भैरहवामा प्रदेश प्रयोगशालामा कोरोना भाइरसको परीक्षण भइरहेको केही दिनमै नेपालगञ्जमा पनि परिक्षण हुने र दाङमा पनि पिसिआर मेसिन ल्याउन प्रक्रिया अघि बढेकोले छिट्टै हुने बताए ।

उनले नेपाल भारत सीमा क्षेत्रमा कडाई गरिएको र सशस्त्र प्रहरी बलको आवश्यक संख्या थप गरी परिचालन गरिएको जानकारी दिएका छन् । स्थानीय तहहरुले भारत लगायत विदेशबाट आएका नागरिकको तथ्यांक संकलन र क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालेको उनको भनाइ छ ।

सर्वदलीय बैठकमा प्रदेशसभा नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकाल, संसदीय समितिका सभापति दधिराम न्यौपाने, हरि रिजाल, कांग्रेस सचेतक निर्मला क्षेत्री, प्रदेशसभा सदस्य फकरुद्दीन खान, विजय जयसवाल, समाजवादी फोरमका प्रदेशसभा सदस्य सन्तोष पाण्डे र राजमो प्रदेशसभा सदस्य तारा जिसी सहभागी थिए । बैठकमा सहभागीहरुले कोरोना विरुद्धको लडाइ सरकारको मात्रै नभएर सबैको साझा भएकाले सबैले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको नेकपा संसदीय दलका प्रमुख सचेतक भुमिश्वर ढकालले जानकारी दिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ