२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलुकीछिपी नेपाल प्रवेश गर्नेहरुबाट कोरोना फैलिने जोखिम

लुकीछिपी नेपाल प्रवेश गर्नेहरुबाट कोरोना फैलिने जोखिम


बुटवल – लकडाउनको समयमा समेत लुकिछिपी नेपाल प्रवेश गर्नेहरु नैं कोरोना संक्रमण फैलाउने मुख्य चुनौतीको रुपमा देखिएका छन् । तराईका जिल्लामा देखिएका कोरोना संक्रमणका बिरामीहरु अधिकांश भारतबाट लुकीछिपी नेपाल आएकाहरु छन् । लकडाउन कायम भ रुपन्देहीको कोटहीमाई गाउँपालिकामा मात्रै भारतबाट लुकिछिपी १ सय ६३ जना मानिस भित्रिएको तथ्य बाहिरी भएको छ ।

यहाँका एक जना युवालाई कोरोना संक्रमण पुष्टि भएपछि गरिएको खोजको क्रममा यो तथ्य बाहिर आएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरेले चोरबाटोबाट गाउँपालिका छिर्नेका संख्या जिल्ला प्रशासन कार्यालयलाई बुझाइएको जानकारी दिए । कोरोना संक्रमित युवा लकडाउनको समयमै चोरबाटोबाट वैशाख ५ गते आफ्नो गाउँ छिरेका थिए ।

पछिल्लोपटक गत शुक्रबार राति सेमहरानी हुँदै नेपाल छिरेका ५ जना युवालाई सुरक्षाकर्मी र स्थायीय स्वयंसेवकको सहयोगमा क्वारेन्टाइनमा पुर्याइएको थाहा गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरीले जानकारी दिए । अध्यक्ष चौधरी लुकिछिपी भारतबाट नेपाल आउनेहरुलाई रोक्न स्थानीय युवाको सहयोगमा सुरक्षाकर्मीले बाक्लो पहरा दिनुपर्ने बताउँछन् ।

भारतबाट मालवाहक सवारीसाधनमा समेत लुकिछिपी नेपाली वा भारतीय नागरिक नेपाल प्रवेश गर्नेगरेको सुरक्षाअधिकारीहरु बताउँछन् । थाहा पाएसम्म यहाँका स्थानीय तहले भारतबाट आएकाहरुलाई क्वारेन्टाइनम राख्ने गरे पनि सबै क्वारेन्टाइनमा नपुग्ने जानकारहरु बताउँछन् । प्रदेश ५ मा कोरोनाको जोखिम भारतबाट आउनेबाटै देखिएको तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले बताए । प्रदेश पाँचका ६ जिल्ला भारतसँग जोडिएका छन् ।

सीमावर्ती छवटै जिल्लास्थित जिल्ला प्रशासन कार्यालय प्रत्येक तीन तीन सय मिटरको दुरीमा सशस्त्र प्रहरीको अस्थायी पोस्ट खडा गरिएको बताउँछन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्तले एउटा पोस्टले अर्को पोष्टलाई देख्न सक्ने गरी सिमावर्ती क्षेत्रमा शसस्त्र प्रहरी राखिएको बताउँछन् । सुरक्षाकर्मीले दिउँसोमा ‘आइ कन्ट्रयाक’ र रातिमा ‘लाइट कन्ट्रयाक’ का माध्ययमबाट सीमा सुरक्षा गरेको अधिकारीहरु बताउँछन् । तर, लुकिछिपी आउने क्रम रोकिएको छैन । सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक तेज पोखरेलले एकाध मानिस प्रहरीको आँखा छलेर प्रवेश गर्ने कुरालाई हेरेर प्रहरी सुरक्षामा चुकेको भन्न नमिल्ने बताउँछन् ।

रुपन्देहीका प्रहरी प्रमुख हेमकुमार थापाले लुकीछिपी नेपाल प्रवेश गर्नेहरुले प्रयोग गरिरहेको बाटोको बारेमा प्रहरीले अध्ययन गरिरहेको बताए । उनले खेतीपातीको बहाना बनाएर यताउता गर्नेहरुले समस्या बढाएको पाइए त्यसमा पनि कडाइ गरिने प्रष्टाए ।
कोरोना पोजेटिभ व्यक्तिका परिवार र आफन्तको रिपोर्ट नेगेटिभ

यता, कोरोना पोजेटिभ देखिएका कोटहिमाई गाउँपालिका सिपवा पुर्निहवाका २५ बर्षिया युवाको परिवार तथा उनले भेटेका व्यक्तिहरूको कोरोना परिक्षण नेगेटिभ आएको छ । कोरोना पुष्टि भएका ब्यक्तिको सम्पर्कमा आएका परिवारका सदस्य तथा सम्बन्धीतलाई क्वारेन्टाइनमा राखेर स्वाब परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीका प्रमुख राजेन्द्र गिरीले जानकारी दिए ।

उनको सम्पर्कमा आएका व्यक्तिहरुको स्वाव परिक्षणका लागि शुक्रबार नमुना संकलन गरिएको थियो । प्रदेश जनस्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख गिरीका अनुसार कोरोना सङकर्मित परिवारका सदस्य ७ जना र उनले भेट गरेका ३ जना गरी १० जनाको स्वाव परिक्षणका लागि नमुना लिईएको थियो । उनीहरु दशै जना कोटहिमाई ५ मा रहेको क्वारेन्टाइनमा बसेमा छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ