२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशनेपालगञ्जका सेना र प्रहरी अस्पताललाई कोरोना अस्पताल बनाइने

नेपालगञ्जका सेना र प्रहरी अस्पताललाई कोरोना अस्पताल बनाइने


बुटवल – प्रदेश नं. ५ को नेपालगञ्जमा कोरोना संक्रमण बढ्दै जाँदा प्रदेश सरकारले कोरोना भाइरसको उपचारका लागि नेपालगञ्जस्थित नेपाली सेनाको अस्पताल र नेपाल प्रहरीको अस्पताललाई प्रयोग गर्ने निर्णय गरेको छ । बुधबार मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वमा रहेको क्राइसिस म्यानेजमेण्ट सेन्टरको बैठकले कोरोना अस्पतालको क्षमता विस्तार गर्नुपर्ने देखिएको निष्कर्षसहित ती दुई अस्पताल आवश्यकता अनुसार प्रयोग गर्ने निर्णय गरेको हो ।

बैैठकले प्रदेशमा कोरोना भाइरसको खासगरी नेपालगञ्जमा बढी प्रभाव देखिएकोले परीक्षणको दायरा बढाउन आवश्यक किट, स्वास्थ्य सामग्री, पर्सनल सेक्युरिटी इक्वीपमेन्ट, औषधी उपलब्ध गराउन सामाजिक विकास मन्त्रालयलाई आवश्यक संयोजन गर्ने जिम्मेवारी दिएको छ ।

कोरोना भाइरसका संकास्पद विरामीहरुको पीसिआर परीक्षणलाई जोड दिने, कोभिडका शंकास्पद बिरामीका हकमा आइसोलेसन बेड भएका अस्पतालमा राखी स्वाव संकलनको व्यवस्था मिलाउने र रिपोर्ट पोजेटिभ देखिएमा कोरोना बिशेष अस्पतालमा पुर्याउने निर्णय पनि बैठकले गरेको छ ।

कोरोना विशेष अस्पतालका लागि आवश्यक सबै खर्च कोरोना भाइरस (कोभिड (१९) रोकथाम तथा उपचार कोषबाट नियमानुसार खर्च गर्ने व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने निर्णय समेत बैठकले गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए ।

बैठकले नेपाल भारत सीमा क्षेत्रको सुरक्षासम्वन्धी जनशक्ति, आवश्यक सामग्री र आवास लगायतको समस्याका सम्वन्धमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले गृह मन्त्रालयसँग आवश्यक समन्वय गरी कार्ययोजना तयार गर्ने निर्णय पनि गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ