२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशभारतीय क्वारेन्टाइनमा रहेका नेपाली आउन थाले स्वदेश

भारतीय क्वारेन्टाइनमा रहेका नेपाली आउन थाले स्वदेश


बुटवल – भारतबाट लुकिछिपी नेपाल छिरेकाहरुबाट कोरोना संक्रमण फैलिन थालेपछि सीमा नाकामा अलपत्र नेपालीहरुलाई वैधानिक बाटोबाटै नेपाल ल्याउन थालिएको छ । स्थानीय पालिकाहरुको सक्रियतामा जिल्ला सुरक्षा समितिको निर्णयअनुसार अलपत्र नेपालीलाई वैध बाटोबाट नेपाल ल्याउन थालिएको हो ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे यस कार्यमा केही दिनदेखि नै लागेका थिए । उनले नेपाली लुकिछिपी आउने सीमा नाकाको स्थलगत निरीक्षण गरी यस विषयमा प्रमुख जिल्ला अधिकारी तथा प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए । बुधबार साँझ ७ बजेतिर उनी प्रमुख रहेको तिलोत्तमा र सिद्धार्थनगर नगरपालिकामा गरी ५१० जना नेपाली आएका छन् । उनीहरुलाई नगरपालिकाले तयार गरेको क्वारेन्टाइनमा राखिएका छ । सीमा अड्किएका नेपालीहरुलाई लिन स्थानीय तहका प्रमुख र सुरक्षा अधिकारीहरु नाकामै पुगेका थिए । रुपन्देहीका २४ जना संक्रमित मध्ये अधिकांश लुकिछिपी नेपाल छिरेको पाइएपछि यसलाई रोक्नका लागि वैधानिक बाटो अपनाइएको हो ।

बुधबार साँझ ल्याइएका पाँचसय १० नेपाली भारतको नौतनामा २१ दिन क्वारेन्टाइन अवधि पूरा गरेका हुन् । यी मध्ये २७७ जनालाई सिद्धार्थनगर नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनस्थल लिलाराम न्यौपाने माविमा राखिएको छ । बाँकी दुईसय ३३ जनालाई तिलोत्तमा नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनस्थल मधवलिया मावि र शंकरनगर दुर्गादत्त माविमा राखिएको छ । भारतीय क्वारेन्टाइनमा १४ दिन पूरा गर्नेको संख्या भने नौ सय ७६ छ ।

यी सबैलाई स्थानीय तहहरुसँगको समन्यमा नेपाल ल्याइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । पूर्वप्रतिबद्धताअनुसार क्वारेन्टाइन व्यवस्थापन गर्न नसकेपछि अन्य पालिकाहरुले बुधबार नेपालीलाई ल्याउन सकेनन् । तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले नेपाल ल्याइएकाहरुलाई यथाशीघ्र पिसिआर परीक्षण गरेर सम्बन्धित जिल्ला पठाइने बताए । नाकामा लामो समय अलत्र परेर बुधबार साँझ स्वदेश फर्कन पाएकोमा नेपालीहरु खुशी देखिन्छन् । उनीहरु “नेपाल आमाकी जय” नारा लगाउँदै स्वदेश छिरेका थिए । स्वदेश भित्रिएका उनीहरु रुपन्देही, गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जालगायत जिल्लाका छन् । भारतमा रेलसेवा सुरु भएपछि स्वदेश फर्कने नेपालीको संख्या सीमानाकामा बढ्न थालेको इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले बताए ।

सीमावर्ती भारतीय सहर नौतनवास्थित विभिन्न नौ वटा क्वारेन्टाइनमा ११ सय नेपालीलाई राखिएको छ । क्वारेन्टाइन अवधि पूरा गरेकाहरुलाई निकालेर दशगजामा पु¥याइएको छ । घर फर्कनका लागि हिंडेका नेपालीहरुलाई सुरक्षितरुपमा स्वदेश भित्र्याउन सरकारले छिटै पहल नथालेमा भारतमा उनीहरुको व्यवस्थापन गर्न समस्या पर्ने र उनीहरु सीमामा आइपुगेमा सुरक्षाकर्मीहरुलाई रोक्नमा समस्या पर्नसक्ने दुवै देशका सुरक्षा अधिकारीहरु बताउँछन् । सीमामा अलपत्र परेकालाई सुरक्षित तरिकाले नेपाल ल्याएर सम्बन्धित स्थानीय स्थानीय तहले जिम्मा लिन हो भने संक्रमण फैलिन कम हुने सुरक्षा अधिकारीहरुको भनाइ छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ