२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोनाबाट मृत्यु भएका युवकको गाउँपालिका अध्यक्ष भन्छन् ‘एम्बुलेन्स खोज्दाखोज्दैं ज्यान गयो’

कोरोनाबाट मृत्यु भएका युवकको गाउँपालिका अध्यक्ष भन्छन् ‘एम्बुलेन्स खोज्दाखोज्दैं ज्यान गयो’


बुटवल—कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु भएका बाँकेको नरैनापुर गाउँपालिकाका २५ वर्षीय युवाको एम्बुलेन्स खोज्दाखोज्दैं मृत्यु भएको गाउँपालिका अध्यक्ष इश्तीयाक अहमद शाहले बताएका छन् । भारतको मुम्बईबाट आएका उनलाई गाउँपालिकाको दीपेन्द्र मावि भोजभगवानपुरस्थित क्वारेन्टाइनमा राखिएको थियो ।

३० बैशाखमा बाँके आइपुगेका उनको दुई साताको यात्राका कारण खुट्टा सुन्निएका थिए । शनिबार राति उनलाई एक्कासी ज्वरो आएपछि अस्पताल लैजान एम्बुलेन्सको बन्दोबस्ती गर्दागर्दै मृत्यु भएको थियो ।

गाउँपालिका अध्यक्ष शाहले एम्बुलेन्स खोज्दाखोज्दै उनको मृत्यु भएको बताए । ‘उनलाई कुनै दीर्घ रोग भएको मलाई थाहा छैन । हिजो राति एक्कासी ज्वरो आयो । बान्ता पनि गरेका रहेछन्,’ अध्यक्ष शाहले भने, ‘हामीले एम्बुलेन्सको व्यवस्था गर्दागर्दै उनको ज्यान गयो ।’

शनिबार नै उनको पीसीआर जाँचका लागि स्वाब संकलन भएपनि आइतबार रिपोर्ट कोरोना पोजेटिभ आएको छ । उनी प्रदेश पाँचमा कोरोनाबाट मृत्यु हुने पहिलो व्यक्ति हुन् । प्रदेश नम्बर पाँचका सामाजिक विकास मन्त्रालयका सचिव गोपी खनालले शवको दाह संस्कारका लागि तयारी भइरहेको बताए ।

बाँकेमा हालसम्म कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । बाँकेको कोरोना अस्पताल बिरामीले भरिएपछि २ दिन अगाडिदेखि नै नरैनापुर गाउँपालिका ८ संक्रमितलाई बेलझुण्डीस्थित कोरोना अस्पतालमा लगिएको छ । प्रदेश नम्बर पाँचमा १ सय ५ जनामा संक्रमण र १ जनाको मृत्यु भएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ