२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसरकारी कार्यालय नै कोरोना संक्रमण फैलाउने ‘अखडा’

सरकारी कार्यालय नै कोरोना संक्रमण फैलाउने ‘अखडा’


बुटवल—प्रदेश ५ का सरकारी कार्यालय नै कोरोना संक्रमण फैलाउने ‘अखडा’ हुने खतरा देखिएको छ । रुपन्देहीको बुटवलमा रहेका यातायात ब्यवस्था कार्यालय, मालपोत कार्यालय, तिलोत्तमामा रहेको नेपाल विद्युत प्राधिकरणको वितरण शाखा आदि कार्यालयहरुले सरकारको निर्णयको धज्जी उडाएका छन् । यी कार्यालयमा कुनै सावधानीका उपाय अबलम्वन गरेको पाइदैन् ।

कोरोना संक्रमणमा नयाँ—नयाँ तथ्यहरु बाहिर आइरहेका छन् । हावाबाट समेत संक्रमण सर्ने पछिल्लो तथ्य आइरहेका बेला सरकारी संयन्त्रबाट नै सरकारको निर्णयको उलंघन हुनु दुःख भएको सेवाग्राही महेश आचार्य बताउँछन् । ‘हामी त मास्क लगाएरै आएको हो तर समाजिक दूरी कायम हुने स्थिति नै छैन् । सरकारी निकायले नै यस्तो लापरवाही गर्न नहुने हो,’ बुधबार विजुलीको विल तिर्न नेपाल विद्युत प्राधिकरण मणिग्राम शाखामा आएका उनले प्रश्न गर्दै भने, ‘यसरी कोरोना फैलिएमा कसले जिम्मा लिने ?’

लकडाउनको प्रकृतिमा हेरफेर गरी सार्वजनिकस्थल तथा सरकारी कार्यालयमा जाँदा समाजिक दूरी र मास्क अनिवार्य गरिएको छ । तर, यहाँका सरकारी कार्यालयमा भाडाका घरमा संचालनमा रहेका कारण पनि समाजिक दूरी कायम गर्ने अवस्था नै छैन । सेवाग्रहीले समेत मास्कको प्रयोग न्यून रुपमा गरेको पाइन्छ । जसका कारण पनि यहाँका सरकारी कार्यालय नै कोरोना संक्रमणको उच्च जोखिममा छन् । बाटोमा मास्क लगाए नलगाएको निगरानी गर्ने प्रहरी प्रशासनको पनि ती कार्यालयहरुमा उपस्थिति देखिदैन् ।

प्रहरीले सार्वजनिक स्थानहरुमा भएका भिडभाडलाई नियन्त्रणको प्रयास गरिरहेको बताउँछ । ‘हामी र हाम्रा अफिसरहरुले माइकिङसहित चेतना अभिवृद्धि गर्ने, चेकजाँच गर्नेलगायतका काम गरिरहेकै छौं । सरकारी कार्यालयहरुमा भिडभाड देखिएमा प्रहरीले व्यवस्थापनमा सघाउ पु¥याउने काम गर्नेछ,’ प्रदेश ५ प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार बैदवार भन्छन्, ‘नागरिक पनि आफै सचेत र सावधान हुनुपर्छ ।’

सामाजिक दूरी र मास्क बिना सार्वजनिक स्थानमा आवत—जावत गर्न नपाउने गरी सरकारले परिपत्र गरिसकेको छ । तर, सरकारी कार्यालयमा हुने अस्वभाविक भिडभाड नियन्त्रणका लागि कसैको ध्यान गएको छैन । सरकारी निर्णय उल्लंघनमा सरकारी संयन्त्र नै उद्दत देखिएका छन् । असार १ बाट खुलेका सरकारी कार्यालयहरुले आफ्नै सरकारले गरेको निर्णय कार्यान्वयनमा ल्याउनुपर्नेमा सेवाग्राही माग गर्दछन् ।

सरकारले संक्रामक ऐनअनुसार सर्वसाधारणको जमघट हुन सिनेमा हल, विद्यालय, बैंक, पार्टी प्यालेस, जिमखाना, व्यायामशालाजस्ता निकायहरुलाई सञ्चालनमा प्रतिबन्ध लगाएको छ । तर, सरकारी कार्यालयहरुमा अनाधिकृत रुपमा मानिसहरुको भिडभाड हुनु र त्यसको व्यवस्थापन नहुनुले संक्रमणको जोखिम उच्च देखिन्छ ।

कार्यालयमा भएको अस्तव्यस्ततामा कार्यालय प्रमुखले समेत जिम्मेवारी पन्छाउँछन् । नागरिक आफै सचेत बन्नुपर्ने उनीहरुको भनाइ छ । कतिपय कार्यालय प्रमुखहरुले भने न्यूनतम स्वास्थ्य सुरक्षाको समाग्री माग गरी पठाउँदा पनि उपलब्ध नभएको बताउँछन् ।

सरकारी कार्यालयहरुमा हुने भिडभाडको व्यवस्थापन गर्ने जिम्मा सम्बन्धित कार्यालय प्रमुखको रहेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थल बताउँछन् । ‘संक्रमणको जोखिम घट्यो भन्ने भ्रमबाट मुक्त हुनुपर्छ । आफै सुरक्षित हुनु नै बुद्धिमानी हुन्छ । कार्यालय प्रमुखहरुले आफ्नो कार्यालयमा हुने भिडभाडको व्यवस्थापन गर्नु उहाँहरुको दायित्व हो,’ उनले भने ।

गृह मन्त्रालयले मास्क नलगाउने र सामाजिक दूरी कायम नगर्नेहरुमाथि कारवाही चलाउन ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ