२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशप्रदेश ५ मा कोरोना संक्रमण जितेर घर फर्किने बढे, जोखिम अझै बाँकी

प्रदेश ५ मा कोरोना संक्रमण जितेर घर फर्किने बढे, जोखिम अझै बाँकी


बुटवल—रुपन्देहीको तिलोत्तमा—८ का एक प्रौढ व्यक्तिमा कोरोना संक्रमण देखियो । उनमा खासै तत्कालीन असर केही थिएन । उनी अहिले कोरोनामुक्त भएर नियमित काममा फर्किसकेका छन् ।

त्यस्तै अर्घाखाँची भूमिकास्थान—३ मा पनि एक युवालाई कोरोना संक्रमण देखियो । गाउँको एक विद्यालयमा बनाइएको आइसोलेसनमा बसेर नै उनले कोरोना जित्न सफल भए । भारतबाट आएका उनीमा संक्रमण देखिएपनि लक्षण बिना नै कोरोनाबाट मुक्त भए ।

यता कपिलवस्तुका एक युवामा भने कोभिड—१९ का केही लक्षणहरु देखिए । उनमा ज्वरो, खोकी र श्वास–प्रस्वासमा समस्या देखियो तर आईसीयु सहितको उपचारपछि उनी पनि निको भए । कपिलवस्तुका अत्याधिक कोरोना संक्रमितमध्ये अधिकांशमा संक्रमण देखियो । तर, कोभिडका लक्षणहरु देखिएनन् ।

प्रदेश ५ मा कोरोना जित्नेहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । संक्रमितहरु दिनहँुजसो डिस्चार्ज हुँदै गएका छन् । संक्रमितहरुको भन्दा कोरोना भाइरसमुक्त हुनेको संख्या दोब्बरभन्दा बढी हुँदै गएको छ । जसका कारण सर्वसाधारणमा मनोबल समेत उच्च हुँदै गएको देखिन्छ ।

९१ प्रतिशत संक्रमित निको भए

प्रदेश ५ अन्तर्गतका जिल्लाहरुमा रहेका क्वारेन्टाइनहरु खाली हुँदै गएका छन् । प्रदेशमा कोरोना जित्नेहरुको संख्या झन्डै ९१ प्रतिशत रहेको प्रदेश ५ स्वास्थ्य महाशाखा प्रमुख डा.उमाशंकर चौधरी बताउँछन् । उच्च जोखिम र तीव्र संक्रमणको चपेटामा परेको प्रदेशमा निको भएर घर फर्कने दरले सकारात्मक संकेत गरेको उनको भनाइ छ ।

भारतबाट आउने नेपालीहरुमा कोरोना संक्रमण बढी देखिएका प्रदेशका कपिलवस्तु, रुपन्देही, बाँके जिल्लाहरुमा संक्रमित निको भएर फर्कने क्रम बढिरहेको छ । प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

‘आराम गर्दा नै निको हुँदो रहेछ’

धेरै कोरोना संक्रमितहरु आराम र घरायसी उपचारले नै निको भएर फर्किने गरेको चिकित्सकहरुले बताएका छन् । ‘प्रतिरोधात्मक क्षमता राम्रो भएमा लक्षण बिना ठिक हुन्छ । क्षमता कमजोर रहेछ भने ‘को–इन्फेक्सन’ पनि हुने हुन्छ । जटिलताहरु थपिन्छन्,’ डा.चौधरीले भने ।

विज्ञहरु पनि मनोबल उच्च राख्ने र नियमित व्यायाम र पोषिलो खानेकुराले कोरोना संक्रमणलाई जित्न सकिेन बताउँदै आएका छन् ।

जोखिम कम भएको छैन्

संक्रमणमुक्त हुनेहरु बढ्दै गएपनि संक्रमणको जोखिम भने कम नभएको विज्ञहरु बताउँछन् । समाजिक दूरी, मास्कको प्रयोग, सावुन पानीले हात धुनेजस्ता कार्यहरु भने सचेततापूर्वक नै गर्नुपर्नेमा उनीहरुको जोड छ ।

‘मानसिक रुपमा कोरोनालाई जितिएको छ । दैनिक रुपमै निको हुनेको संख्या पनि उत्साहजनक नै छ । तर, सावधानी अपनाउनुपर्छ,’ डा. सन्तोष पोखरेल भन्छन्, ‘फ्लु जन्य जोखिम सधै रहिरहन्छ ।’


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ