२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशसमुदायस्तरमा कोरोना परीक्षण गरिदै, कसरी हुँदैछ नमुना संकलन ?

समुदायस्तरमा कोरोना परीक्षण गरिदै, कसरी हुँदैछ नमुना संकलन ?


बुटवल—प्रदेश ५ सामाजिक विकास मन्त्रालयले प्रदेशमा कोभिड–१९ समुदायस्तरमा फैलिएको वा नफैलिएको पत्ता लगाउन नमुना संकलन कार्य सुरु गरेको छ । परीक्षण भने चरणबद्ध रुपमा हुनेछ ।

समुदायस्तरमा परीक्षणका लागि नमुना संकलन गर्न स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको छ । अहिलेसम्म शंकास्पद व्यक्तिहरुको मात्र आरडिटी र पिसिआर परीक्षण गरिँदै आएको थियो ।

प्रदेश नं ५ मा अहिलेसम्म ४ हजार ९९ कोभिड पोजेटिभ रहेकोमा ३ हजार ७ सय ७१ जना निको भएर घर फर्किसकेका छन् भने अझै ३ सय १५ जना अस्पताल तथा ओइसोलसन सेन्टरमा उपचाररत छन् । प्रदेशमा १३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ ।

कसरी गरिनेछ नमुना संकलन ?

सामाजिक विकास मन्त्रालयले पहिलो चरणमा नमुना छनोट विधीअनुसार पिसिआर गर्न सुरु गरेको छ । पहिलो चरणमा प्रदेशका ६ जिल्लामा नमुना संकलन भैरहेको प्रदेश ५ सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए ।

उनीहरुले निश्चित मापदण्डअनुसार नमुना संकलन गर्नेछन् । मन्त्री बरालका अनुसार समुदायस्तरमा नमुना संकलन गर्न स्वास्थ्यकर्मीहरु गइसकेका छन् ।

तराईका जिल्लाहरु कपिलवस्तु, रुपन्देही, बर्दिया त्यस्तै पहाडी जिल्ला अर्घाखाँची र भित्री मधेशको जिल्ला दाङमा नमुना संकलन हुनेछ । ‘अर्घाखाँची, नवलपरासी, रुपन्देही, बर्दिया कपिलवस्तु र दाङबाट १२ सय जनाको रेन्डम स्याम्पलिङ विधिबाट नमुना छनोट गरिनेछ,’ मन्त्री बरालले भने ।

कसको हुनेछ परीक्षण ?

समाजिक विकास मन्त्रालयले गर्ने परीक्षण नमुना छनोट विधीमा आधारित हुनेछ । केही व्यक्तिहरुलाई नमुनाको रुपमा छनोट गरी उनीहरुको कोरोना परीक्षण गर्ने गरी मन्त्रालय लागेको मन्त्री बराल बताउँछन् । पहिलो चरणमा धेरै मानिसहरुको प्रत्यक्ष सम्पर्कमा आउनेहरुको नमुना संकलन हुनेछ । पसले, सुरक्षाकर्मी, स्वास्थ्य कर्मीलगायतको यो चरणमा परीक्षण हुने मन्त्री बरालले बताए ।

‘अधिक जनसम्पर्क हुने स्थानहरु, वित्तिय संस्था अत्यावश्यक सामाग्री बिक्री वितरण गर्ने पसल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुबाट नमुना संकलन गरी परीक्षण गर्न लागिएको छ,’ मन्त्री बरालले भने, ‘यसले समुदायस्तरमा कोरोनाको जोखिमको अवस्थाबारे जानकारी हुनेछ र त्यसैको आधारमा महामारी रोकथाम तथा नियन्त्रणको योजना बनाइनेछ ।’


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ