२०८१ वैशाख २२, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशकोरोना विरुद्ध फ्रन्टलाइनमा खटिनेको पीडा : ओछ्यानमै सर्प, परिवारमा त्रास

कोरोना विरुद्ध फ्रन्टलाइनमा खटिनेको पीडा : ओछ्यानमै सर्प, परिवारमा त्रास


बुटवल—कोरोना संक्रमण भर्खरै नेपालमा प्रवेश गर्न थालेको थियो । डा. संजोग पाठकलाई सुरुवाती चरणमा संक्रमित हुन्छु की भन्ने मनमा अलिअलि डर थियो । तिलोत्तमा नगरपालिका—०६ का स्थायी वासिन्दा डा. पाठक तिलोत्तमा नगरपालिकाका मेडिकल अधिकृत हुन् ।

‘नोवेल कोरोना’ नयाँ भाइरस भएका कारण स्वास्थयकर्मीहरुमा समेत भाइरसका बारेमा आंशिक ज्ञान मात्रै थियो । उनको अवस्था पनि त्यस्तै थियो । ‘सुरुसुरुमा त सुरक्षा समाग्री पनि थिएन । अन्योलता मात्रै थियो । डरले डेरा जमाएको थियो,’ अनुभव सुनाउँछन् । विगत दुई महिनादेखि उनी कोभिड–१९ मै केन्द्रित भएर काम गरिरहेका छन् । डा. पाठक सुनाउँछन्, ‘घरमा जाने अवस्था थिएन । सबैले शंकाको दृष्टिले हेर्ने अवस्था थियो । तर पनि हामी कर्तव्य सम्झिएर लागि रहेका हुन्थ्यौं ।’ उनलाई कोरोना भाइरस नयाँ भएकाले संक्रमितहरु ठीक होला कि नहोला भनेर चिन्ताले भने दिनहुँ सताउने गर्दछ । नगरपालिकामा कोभिड—१९ को पहिलो केसदेखि नै उनी फ्रन्टलाइनमा रहेर बिरामीको उपचारमा सक्रिय छन् ।

विष्णुचन्द्र नेपाली रुपन्देहीको तिलोत्तमा नगरपालिका—१६ मा रहेको मधौलिया स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट हुन् । उनी ११ वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत छन् । ९ महिना अघि मात्र उनी मधौलिया स्वास्थ्य चौकीमा आएका हुन् । अहिले कोभिड–१९ आइसोलेसन सेन्टर तिलोत्तमा नगरपालिकामा काजमा कार्यरत छन् । चैत ११ गतेबाट तिलोत्तमा नगरपालिकामा रहेको दुर्गादत्त उच्च मा.वि क्वारेन्टाइन स्थलमा खटिएका नेपाली असार ४ गतेबाट उक्त आइसोलेसन सेन्टरमा कोभिड–१९ संक्रमितको रेखदेखमा छन् । चार महिनादेखि निरन्तर क्वारेन्टाइन हुँदै आइसोलेसनमा खटिएका नेपाली भन्छन्, ‘सुरुमा त निकै डर लाग्यो । घरपरिवारमा पनि चिन्ता बढ्न थाल्यो । मनमा डर भएपनि अनुहारमा देखाइन्, आत्मविश्वास बढाएर निरन्तर काम गरिरहें । पछि निरन्तर काम गर्दै जाँदा डर हरायो । विस्तारै आफूलाई नर्मल लाग्न थाल्यो ।’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ३ वर्षको अनुभव भएका कारण हौसला मिलेको उनी बताउँछन् । कोभिड—१९ संक्रमित उपचारमा काम गर्नु नयाँ अनुभव हासिल गर्ने अवसरका रुपमा उनले लिएका छन् । अहिले उनी २४ सै घन्टा ड्युटी खटिएको बताउँछन् । भन्छन्, ‘सुरुका दिनमा क्वारेन्टाइनस्थलमै आवासीय रुपमा बस्दा स्वास्थ्यकर्मी साथीहरुले पनि फरक दृष्टिकोणले हेर्नुहुन्थ्यो । यसलाई पनि कोरोना लागेको छ भन्ने गर्नुहुन्थ्यो । टाढा हुनुहुन्थ्यो । त्यहाँ बस्दा पनि एक किसिमको डर हुन्थ्यो । कहिले कोठामै सर्प आउने, कहिले बेडमै सर्प आउँथे ।’

तिलोत्तमा नगरपालिकाको शंकरनगर स्वास्थ्यचौकीमा कार्यरत अनमी शारदा रिजाल पनि असार ४ बाट कोभिड–१९ आइसोलेसन सेन्टर तिलोत्तमामा संक्रमितको रेखदेखमा छिन् । ६ वर्षदेखि स्वास्थ्य सेवामा कार्यरत शारदा गुल्मीको मर्भुङ्ग स्वास्थ्य चौकी रुपन्देहीको ओमसतिया गाँउपालिकामा रहेको पड्सरी स्वास्थ्य चौकी हुँदै कोरोना संक्रमितको उपचारमा प्रत्यक्ष रेखदेखमा रहेकी छन् । उनलाई सुरुमा के गर्ने कसो गर्ने भन्ने अन्योल भएको थियो । ‘हाम्रा लागि यो नौलो अनुभव थियो,’ ४३ वर्षीया रिजाल भन्छिन्, ‘कत्तिको सुरक्षित रहनुपर्छ, यो रोग कसरी सर्छ भन्ने पनि थाहा थिएन । विस्तारै बुझ्दै आयौं ।’

सुरुका दिनमा अलि आतंकित नै भएको उनी बताउँछिन् । हप्तादिन पछि सामान्य हुँदै गएको उनको मनमा अहिले डर छैन् । ‘सतर्कता भने अपनाइरहेका छौं । यो बेला हामीले नगरे कसले गर्ने ?,’ उनले सुनाइन् । अहिले सबैभन्दा धेरै कर्तव्यबोध भएको उनी सुनाउँछिन् । ‘यस्तो महामारीका बेला हामीले कर्तव्यबोध गरेनौं भने त राम्रो भएन्,’ उनी भन्छिन्, ‘यतिबेला कोभिड—१९ संक्रमितको रेखदेखमा संलग्न भइरहँदा सुरुवाती अवस्था र अहिलेमा निकैै सहज महसुस भएको छ ।’

रूपन्देहीको तिलोत्तमा नगरपालिकाले सञ्चालनमा ल्याएको आइसोलेसन सेन्टरमा एक चिकित्सक, एक नर्ससहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसहित ९ जना खटिएका छन् । कोरोना महामारी नियन्त्रण गर्न शंकरनगर स्वास्थ्य चौकीमा आइसोलेसन सेन्टर बनाइएको छ । जसमा हाल ९ जना कोरोना संक्रमित उपचाररत छन् ।

बुटवल कोरोना अस्पतालसँगको समन्वयमा सञ्चालित आइसोलेसन सेन्टरमा कोरोना संक्रमितहरुको उपचार गर्ने गरिन्छ । २० वेड क्षमता रहेको आइसोलेसन सेन्टरमा नेपाल सरकारले तोकेको एक तहको कोरोना अस्पतालको सुविधा छ । सेन्टरमा आईसीयु र भेन्टिलेटरको सुविधा नचाहिने अवस्थाका संक्रमितलाई आवश्यक अन्य सबै सुविधा छन् । नगरपालिकाले आइसोलेसनका लागि आफ्नै स्रोतमा दुई जना चिकित्सक तथा एक स्टाफ नर्स नियुक्त गरेको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ