२०८१ वैशाख ८, शनिबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशअर्घाखाँचीमा ‘तपाईको मास्क खै ?’ अभियान सुरु

अर्घाखाँचीमा ‘तपाईको मास्क खै ?’ अभियान सुरु


बुटवल– अर्घाखाँचीमा प्रहरीले ‘तपाईको मास्क खै ? अभियान सुरु गरेको छ । लकडाउन हटेपनि कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेकोले नागरिकहरूलार्ई मास्क लगाउन आग्रह गर्ने उद्धेश्यका साथ अभियान सुरु भएको हो ।

जनचेतना अभिवृद्धिका साथै जिम्मेवार बनाउन तपाईको मास्क खै ? अभियान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधब बुढाथोकीले बताए । उनले कोरोना संक्रमणको जोखिम भैरहदा पनि मास्क नलगाई हिड्न थालेपछि सर्वसाधारणलाई मास्क लगाउन प्रेरित गर्ने उद्देश्यले अभियान चलाइएको बताए ।

जिल्ला सदरमुकाम सन्धिखर्क र चुत्राबेसी बजारमा मास्क लगाउन आग्रह गर्दै जनचेतनामुलक कार्यक्रम स्वरुप माईकिङ गर्ने, मास्क नलगाएका व्यक्तिलाई सम्झाउने, बुझाउने लगायतका कामहरू भएको उनको भनाई छ । अभियान अन्तर्गत हालसम्म स्वास्थ्य सुरक्षा मापदण्ड उल्लंघन गर्ने ८८ जनालाई प्रति व्यक्ति रु १ सयका दरले जरीवाना गरिएको र ४ हजार ३ सय ८ जनालाई स्वास्थ्य सुरक्षा सम्बन्धि प्रशिक्षण दिइएको प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए ।

लकडाउन खुल्ला भयो भनेर धेरैजना मास्क बिनै बजारमा ओहोरदोहोर गर्ने गरेको र जसका कारण संक्रमण फैलन सक्ने जोखिम रहेकाले अब जिल्लामा पनि मास्क नलगाईकन हिँड्न नपाईने प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । उनले नागरिकहरू आफै सचेत बन्न, भिडभाड नगर्न, घर बाहिर निस्कँदा मास्क अनिवार्य लगाउन आग्रह गरेका छन् ।

अबदेखि घरबाहिर निस्कँदा र भिडभाडमा मास्क नलगाई हिँड्नेलाई संक्रामक रोग ऐन २०२० अनुसार एक सय रुपैयाँ जरिवाना समेत तिराउने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ