२०८१ असार ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशऔषधिद्वारा गरिने सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन स्टाफ नर्सहरुलाई तालिम

औषधिद्वारा गरिने सुरक्षित गर्भपतन सेवालाई प्रभावकारी बनाउन स्टाफ नर्सहरुलाई तालिम


नेपालगन्ज—लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रले औषधिको प्रयोग गरेर सुरक्षित गर्भपतन सेवा संचालन गर्ने स्वास्थ्य संस्थाका स्टाफ नर्सहरुका लागि ५ दिने तालिम संचालन गरेको छ ।

नेपालगन्जको भेरी अस्पतालमा संचालित तालिमका सहभागीहरुलाई भेरी अस्पताल नेपालगन्जका वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. उर्मिला अर्याल, डा. नवीन बुढाथोकीले प्रशिक्षण दिएका थिए । तालिममा बाँके बर्दिया र दाङका विभिन्न अस्पतालहरुमा कार्यरत नर्सहरु सहभागी भएका छन् । नेपाल सरकारले सन् २००२ देखि सुरक्षित गर्भपतन सेवालाई कानुनी रुपमा मान्यता दिएको थियो ।

औषधिद्वारा गरिने गर्भपतन सेवा सन् २००९ देखि सुरू भएको हो । यो सेवा अहिले लुम्बिनी प्रदेशका १२ वटै जिल्लाका करिब ६ सय वटा स्वास्थ्य संस्थाहरुमा विस्तार भइसकेको छ । औषधिद्वारा गरिने गर्भपतन सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउन सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुका लागि तालिम संचालन गरिएको लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत अरुण ज्ञवालीले बताए ।

सन्तानको रहर पुगिसकेपछि पनि गर्भ रहन सक्छ । अनिच्छित अवस्थामा रहेको गर्भलाई १० हप्ता अर्थात ७० दिनसम्म औषधिको प्रयोग गरेर सुरक्षित रुपमा गर्भपतन गराउन सकिन्छ । नेपालका सूचीकृत स्वास्थ्य संस्थाहरुमा औषधिको प्रयोग गरेर गरिएका गर्भपतन करिब ९६ प्रतिशत प्रभावकारी भएको विज्ञहरुले दाबी गर्दै आएका छन् । त्यसैले लुम्बिनी प्रदेश स्वास्थ्य तालिम केन्द्रले यो वर्ष नेपालगन्जको भेरी अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र परिवार नियोजन शाखा कार्यालय बुटवलमा गरी १ सय ३० जना स्वास्थ्यकर्मीहरुलाई तालिम दिएको छ ।

गर्भपतन सेवाका लागि गर्भपतन सेवा दिने संस्था र चिकित्सक वा स्वास्थ्यकर्मी दुवै सूचीकृत हुनुपर्छ । गर्भपतन सेवाका लागि सूचीकृत भएका वा मान्यता प्राप्त गरेका संस्थामा सुरक्षित गर्भपतन सेवाको लोगो राखिएको हुन्छ ।

नेपालमा औषधि मुखबाट सेवन गरेको २४ देखि ४८ घण्टासम्ममा अर्कोथरीका औषधि योनीमार्गमा वा जिब्रोमुनि राख्नु पर्छ । बिना कुनै प्राविधिक जटिलता, सजिलै अनि घरमा पनि प्रयोग गर्न सकिने बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत ज्ञवालीले बताए ।

औषधिहरुद्वारा सुक्षित गर्भपतनको गराउनका लागि पाठेघरको आकार पत्ता लगाउन भिडियो एक्स—रे (अल्ट्रासाउण्ड) गर्नुपर्छ । र, गर्भपतन पूर्ण रुपले भयो वा भएन भनेर परिक्षण गर्नुपर्छ ।

पहिलेको गर्भ तथा प्रसुति सम्बन्धि समस्याहरु, अन्य दीर्घरोगहरु, विभिन्न स्वास्थ्य समस्याका लागि औषधिहरु सेवन गरिरहेको अवस्था आदिका बारेमा जानकारी लिएर मात्रै गर्भपतन गरँउनुपर्छ ।

समयको अभावमा वा सूचीकृत चिकित्सकलाई झन्झट मानेर उचित परामर्श र पूर्ण परीक्षण बिना गरिने गर्भपतन असुरक्षित हुन्छ । त्यसैले पैसा, समय र गोपनीयता बचाउनका लागि सूचीकृत स्वास्थ्य संस्थामा नगएर अनाधिकृत व्यक्तिको भर पर्दा दुःख पर्ने मात्र होइन्, ज्यानै पनि जान सक्छ ।

निश्चित समयसम्म गर्भपतन गराउनु सुरक्षित भएपनि यो अन्तिम विकल्प मात्र हो । गर्भपतन नगराएर अनावश्यक बच्चाको जन्म दिनु पनि उपयुक्त हुँदैन् । र गर्भपतन रोज्नुपर्ने हुन्छ । त्यसैले यस्तो अवस्था आउन नदिनु नै उत्तम उपाय हुन्छ । यसका लागि परिवार नियोजनका साधनहरु प्रयोग गर्नु उपयुक्त हुन्छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ