२०८१ वैशाख २३, आईतबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशक्यान्सर अस्पताल खजुरामा ल्याइएको २५ करोडको रेडिसन मेसिन ६ महिनादेखि अपलत्र

क्यान्सर अस्पताल खजुरामा ल्याइएको २५ करोडको रेडिसन मेसिन ६ महिनादेखि अपलत्र


नेपालगन्ज—बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले रेडियसन थेरापी (सेकाइ प्रविधी)बाट उपचारका लागि २०७९ पुसमा ल्याएको लिन्याक मेसिन अझै जडान हुन सकेको छैन । लामो समयको प्रयासपछि क्यान्सर अस्पतालले करिब ६ महिना पहिले करिब २५ करोड रुपैयाँ मुल्य पर्ने लिन्याक मेसिन ल्याएको थियो ।

पाठेघरको मुख, स्तन, नाक, कान घाँटीलगायत शरीरका विभिन्न अंगहरुमा हुने क्यान्सरको उपचारका लागि बाहिरी सेकाइ गर्न लिन्याक मेसिन आवश्यक पर्छ ।

क्यान्सर अस्पताल खजुरामा लिन्याकको रेडियसन मेसिन जडान नहुँदा बाहिरी सेकाइ प्रबिधीबाट उपचार गर्नुपर्ने ३० जनासम्म बिरामीहरु भरतपुर र भक्तपुर क्यान्सर अस्पताल जान बाध्य छन् । बिरामीको अत्याधिक चाप हुँदा भरतपुर र भक्तपुर क्यान्सर अस्पताल बाहिरी सेकाइका लागि बिरामीहरुले एक महिनादेखि ४५ दिन सम्म पालो पर्खनुपर्ने बाध्यता कायमै छ ।

नेपाल सरकारको बजेटबाटै लिन्याकको रेडिसन मेसिन क्यान्सर अस्पताल खजुराले खरिद गरेको हो । मेसिन संचालनमा आएपछि क्यान्सर अस्पताल खजुराले क्यान्सरको उपचारमा नयाँ फड्को मार्ने क्यान्सर अस्पताल खजुराका रेडियसन अंकोलोजिष्ट डा. मुकेश यादवले बताए ।

मेसिनलाई जडान भई उपचार सेवा सुरु हुन करिब ३ महिना लाग्ने क्यान्सर अस्पताल खजुराका कार्यकारी निर्देशक डा. निरज भटट्राईले बताउँदै आएका थिए । तर, ६ महिना बितिसक्दा पनि मेसिन जडान हुन सकेको छैन ।

लिन्याक मेसिनलाई जडान गर्नका लागि आवश्यक बंकर निर्माणलगायतमा ढिलाइ भइरहेको छ । मेसिन जडानका लागि विभिन्न प्रक्रिया पु¥याउनुपर्ने भएकाले केही ढिलाइ भएपनि आगामी असोज महिनासम्म सबै प्रक्रियाहरु पूरा गरी संचालन गर्ने गरी काम अगाडि बढाइएको कार्यकारी निर्देशक डा. भट्टराईले बताए ।

लिन्याक मेसिनलाई जडान हुन लागेको क्यान्सर अस्पताल खजुरा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशकै पहिलो सरकारी क्यान्सर अस्पताल हो । क्यान्सर अस्पतालमा लिन्याक मेसिन आउँदा निक्कै उत्साहित भएका बिरामीहरु मेसिन जडानमा ढिलाइ हुँदा निराश भएका छन् ।

क्यान्सर अस्पतालले पछिल्ला ३ वर्षमा, सर्जरी, हिष्टोप्याथोलोजी ब्राकीथेरापी र कल्पोस्कोपी सेवा विस्तार गर्दै आएको छ । करिब २० जना विशेषज्ञ चिकित्सकसहित करिब १ सय २५ जनाको टिमले बिरामीलाई शल्यक्रियासहितको उपचार सेवा प्रदान गर्दै आएका छन् ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ