२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशपालिकामा तथ्यांक बुझाउँदैनन् निजी क्लिनिक

पालिकामा तथ्यांक बुझाउँदैनन् निजी क्लिनिक


बीपी गौतम

बुटवल-निजी क्लिनिकले बिरामीको तथ्यांक सम्बन्धित निकायमा बुझाउने नगरेको पाइएको छ । कतिपय निजी क्लिनिकले बिरामीको रेकर्ड समेत राख्दैनन् । निजी क्लिनिकमा अस्पतालमा भन्दा बढी बिरामीले उपचार गराउँछन् । तर यस्ता निजी क्लिनिकमा कति संख्यामा कुन प्रकृतिका बिरामीले उपचार गराए भन्ने रेकर्ड कतै भेटिंदैन ।

स्वास्थ्य संस्थाहरुको नियमनकारी निकाय स्थानीय पालिकाको स्वास्थ्य शाखा र जनस्वास्थ्य कार्यालयसँग निजी क्लिनिकमा उपचार गराउने बिरामीको यकिन तथ्यांक छैन । नियमतः सबै स्वास्थ्य संस्थाले आफूले दिएको सेवाको विवरण मासिक रुपमा सम्बन्धित पालिकाको स्वास्थ्य शाखामा बुझाउनुपर्छ । यसअघि यस्तो विवरण जनस्वास्थ्य कार्यालयमा बुझाउनु पर्दथ्यो । आधारभूत स्वास्थ्यको जिम्मेवारी स्थानीय सरकार मातहत आएपछि निजी अस्पताल तथा क्लिनिकले सबै विवरण स्थानीय पालिकामा बुझाउनुपर्ने भएको हो ।

पालिकाका स्वास्थ्य शाखाले र यसअघिको जनस्वास्थ्य कार्यालयले निजी क्लिनिकलाई विवरण उपलब्ध गराउन पटक–पटक ताकेता गर्दै आएपनि त्यो कार्यान्वयन हुन सकेको छैन । ‘क्लिनिकहरुले रेकर्ड दिनुपर्ने हो । तर दिएको पाइँदैन्,’ स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा. राजेन्द्र कुमार गिरीले भने ।

बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल, भैरहवाको भीम अस्पताल आसपासमा थुप्रै निजी क्लिनिकहरु सञ्चालनमा छन् । पछिल्लो समय ग्रामीण क्षेत्रमा समेत धेरै क्लिनिकहरु सञ्चालनमा आएका छन् । यस्ता क्लिनिकमा प्रायः सरकारी तथा निजी अस्पतालमा कार्यरत चिकित्सकहरुले नै बिरामीको चेकजाँच गर्छन् । तर क्लिनिकमा चिकित्सकले उपचार सेवा दिएका बिरामीको तथ्यांक नियमनकारी निकायसम्म पुग्दैन ।

सबै तथ्यांक सरकारी निकायसम्म नपुग्दा यथार्थ स्वास्थ्य अवस्था थाहा नहुने स्वास्थ्य अधिकारीहरु बताउँछन् । तिलोत्तमा नगरपालिकाका सिनियर अहेव अधिकृत ईश्वरी पौडेल निजी अस्पतालले विवरण बुझाए पनि क्लिनिकले विवरण नबुझाएको बताए । ‘निजी क्लिनिकलाई हाम्रो सिष्टममा ल्याउन सकिएको छैन्,’ उनले भने ।

क्लिनिकको विवरण नआउँदा स्वास्थ्य चौकी र अस्पतालले उपलब्ध गराएको तथ्यांकको आधारमा समग्र पालिकाको स्वास्थ्य योजना बन्ने गरेको छ । सरकारी अधिकारीहरु कार्यालयको प्राथमिकतामा अन्य कामहरु पर्ने भएकाले पनि यो विषयमा कडाइ गर्न नसकिने बताउँछन् ।

सिनियर अहेव अधिकृत पौडेल पालिकामा उपलब्ध तथ्यांक अनलाइन ईन्ट्री गरिने बताउँछन् । सबै पालिकाहरुले अनलाइन ईन्ट्री गर्दा स्वास्थ्यको समग्र अवस्थाको बारेमा प्रदेश सरकार र संघीय सरकारका सम्बन्धित कार्यालयलाई जानकारी हुने उनको भनाइ छ ।

क्लिनिकले रेकर्ड नराख्दा एकातिर यथार्थ स्वास्थ्य अवस्था सरोकारवाला निकायलाई जानकारी हुँदैन भने अर्कातिर बिरामीहरु पनि समस्यामा पर्ने गरेका छन् । क्लिनिकले दिने कार्ड वा पर्चा हराएमा बिरामीको विवरण भेटिंदैन । यसले उपचार सेवा पनि प्रभावित हुने स्वास्थ्य अधिकारीहरु बताउँछन् ।

बुटवल–७ की पार्वती क्षत्रीले क्लिनिकले स्वास्थ्य विवरण नराख्दाको नियति भोगिन् । बुटवलको एउटा क्लिनिकमा आफ्नो दुई वर्षीया छोरीलाई उपचार गराएको पर्चा गुमाउँदा उनले एक हप्तामैं चिकित्सकको सेवा शुल्क दुई पटक तिर्नु प¥र्यो । दोस्रो पटक क्लिनिकमा जाँदा पहिलो पटक दिएको पर्चा हराएको बताएपछि उनले चिकित्सकको सेवा शुल्क तिर्नुपरेको हो । ‘कार्ड ल्याउनुहोस् । नत्र फेरि चार्ज लाग्छभने । हराएको कार्ड मैले कसरी दिने,’ उनले गुनासो गरिन्, ‘बिरामीको विवरण त उनीहरुले पनि राख्नुपर्ने हो नि ।’ प्रायः क्लिनिकले एक पटक शुल्क तिरेपछि दुई हप्तासम्म सेवा दिन्छन् ।

रुपन्देहीमा अधिकांश क्लिनिक र औषधि पसल एकै ठाउँमा सञ्चालन गरिएका छन् । क्लिनिक सञ्चालकहरुले बिरामीलाई पालो लगाउने प्रयोजनबाहेक अरु प्रयोजनका लागि तथ्याङ्क नराख्ने गरेको बिरामीहरु बताउँछन् । कतिपय चिकित्सकले त आफूले सेवा दिएका बिरामीको संख्या यकिन गर्न कागजमा धर्को तानेर राख्ने गरेको पाइएको छ । बिरामीले चिकित्सकलाई तोकिएको शुल्क तिरे पनि शुल्कअनुसारको सेवा क्लिनिकले उपलब्ध गराउन नसकेको आम सेवाग्राहीको गुनासो छ ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ