२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशचिकित्सकीय सेवा पछि स्वास्थ्य चौकीमा बिरामीको संख्या वृद्धि

चिकित्सकीय सेवा पछि स्वास्थ्य चौकीमा बिरामीको संख्या वृद्धि


बुटवल – चिकित्सकीय सेवा दिन थालेसँगै रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १० स्थित सेमरा बजार स्वास्थ्यचौकीमा उपचारका लागि आउने बिरामीको संख्यामा वृद्धि भएको छ । नगरबासीमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचलाई सर्वसुलभ बनाउन नगरपालिकाले पुस २० गतेबाट आफ्नै स्रोतबाट चिकित्सक नियुक्त गरी सेवा प्रारम्भ गरेको हो ।

सेमरा बजार स्वास्थ्य चौकीबाट सुरु गरिएको चिकित्सकीय स्वास्थ्य सेवा क्रमशः अन्य स्वास्थ्य चौकीमा पनि विस्तार गरिने नगरपालिकाले जनाएको छ । तिलोत्तमामा सात वटा स्वास्थ्यचौकी, दुई वटा शहरी स्वास्थ्य केन्द्र, दुई वटा बर्थिङ सेन्टर सञ्चालनमा छन् । चालु आर्थिक वर्षमा थप पाँच वटा शहरी स्वास्थ्य केन्द्र स्थानपना हुने क्रममा छन् ।

१५ शैंयाको अस्पतालमा स्तरोन्नती गर्ने लक्ष्यका साथ सेमरा बजार स्वास्थ्य चौकीबाट चिकित्सकीय सेवा सुरु गरिएको नगर उप–प्रमुख जागेश्वरी चौधरीले जानकारी दिइन् । सेमरा बजार स्वास्थ्य चौकीलाई अस्पतालमा स्तरोन्नती गर्न नगरपालिका पूर्ण प्रतिबद्ध रहेको बताउँदै उनले जग्गाको समस्या समाधान हुने वित्तिकै निर्माण अघि बढ्ने प्रष्टाइन् ।

यो नगरमा रहेका मध्ये सबैभन्दा बढी बिरामी उपचारका लागि आउने सरकारी स्वास्थ्य संस्था हो । चिकित्सकीय सेवा प्रारम्भसँगै दैनिक सरदर २५ जना बिरामी उपचारका लागि आउने गरेको स्वास्थ्य चौकी ईञ्चार्ज कमल पाण्डेयले जानकारी दिए । ’जाडोयाममा पनि दैनिक २५ जना बिरामी आउनुको प्रमुख कारण चिकित्सकीय सेवा हो । प्रचारप्रसार हुँदैछ । बिरामीको फ्लो अझै बढ्ने विश्वास छ ।’ उनले भने । यहाँ छाला, रुघाखोकी, टाइफाइट, ग्याष्ट्रिक, रक्तचाप, सुगरलगायतका बिरामी धेरै आउने गर्छन् । यस्तै प्रसुति सेवा लिने महिलाको रोजाइ पनि स्वास्थ्य चौकी पर्ने गरेको छ ।

आफ्नै गाउँठाउँमा चिकित्सकीय सेवा पाएकोमा स्थानीय बासिन्दा खुशी छन् । स्थानीय भविश्वर खनालले स्वास्थ्य चौकीमा आधारभूत उपकरणहरु पनि व्यवस्थापन गर्न नगरपालिकाको ध्यानाकर्षण गराए । यहाँ प्रयोगशाला समेत सञ्चालनमा छ । एक्सरे, ईसिजीलगायतका उपकरण थप्ने तयारीमा स्वास्थ्य चौकी रहेको पाण्डेयले बताए । ५ नं. प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद गिरीले स्वास्थ्य चौकीमा अत्यावश्यक उपकरणका लागि निर्देशनालयले आवश्यक सहयोग गर्ने बताए । चिकित्सकीय सेवा सुरु गरेर तिलोत्तमाले राम्रो कामको प्रारम्भ गरेको बताउँदै उनले गुणस्तरीय स्वास्थ्य सेवा विस्तारमा यसले महत्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गरे ।

निःशुल्क चिकित्सकीय सेवा सुरु गरिएको सेमराबजार स्वास्थ्य चौकीमा हाल डा. विनोद बढई कार्यरत छन् । डा. बढईले एच. ए. पढेर एमबिबिएस गरेका छन् । नगरपालिकाले खुला विज्ञापन गरी चिकित्सक नियुक्त गरेको हो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ