२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशलागुऔषध नियन्त्रणका लागि परामर्श केन्द्रको स्थापना

लागुऔषध नियन्त्रणका लागि परामर्श केन्द्रको स्थापना


बुटवल—लागुऔषधको प्रयोग रोकथाम र नियन्त्रणका लागि बुटवल उप–महानगरपालिकामा निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याइएको छ । बुटवल उप–महानगरपालिकाको वडा नंं ५ कार्यालय नजिकै सञ्चालनमा ल्याइएको उक्त परामर्श केन्द्रको बिहीबार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र बुटवल उप–महानगरपालिका प्रमुख शिवराज सुवेदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटनपछि समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक (आईजिपी) सर्वेन्द्र खनालले लागुऔषध प्रयोगकर्तालाई दण्ड होइन, परामर्श दिने उद्देश्यले बुटवल उप–महानगरको सहकार्यमा परामर्श केन्द्र सञ्चालनमा ल्याइएको बताए । बुटवलमा सञ्चालित केन्द्रबाट लागु औषधको नियन्त्रण हुने विश्वास व्यक्त गर्दै प्रहरी प्रमुख खनालले लागू औषध विकराल सामाजिक समस्या बन्दै गएकाले प्रहरीले स्थानीय सरकारसँग मिलेर परामर्श केन्द्र स्थापना गर्ने अभियान नै सुरु गरेको बताए ।

महानिरीक्षक खनालले भारतसँगको खुला सीमाको कारण लागुऔषधको प्रयोग तथा ओसार पसारका अपराधहरु हुने गरेको उल्लेख गर्दै समुदायको सहयोगले मात्र लागु औषध, अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न सम्भव हुने बताए । कुनै पनि पहुँच वा ओहादाको भएपनि अपराधीलाई उन्मुक्ति नदिइने र लहलहैमा कुलतमा फसेकालाई परामर्शमार्फत पुनस्थापना गर्न केन्द्रको स्थापना गरिएको उनको भनाइ थियो ।

कार्यक्रममा बुटवल उप–महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले युवा पुस्ताहरुमा लागुपदार्थ सेवनको कुलत हटन नसकेकोमा चिन्ता व्यक्त गर्दै कारोबार तथा ओसारपसार नियन्त्रणका लागि प्रहरी र समुदायका बीचमा सामूहिक प्रयास जरुरी रहेको धारणा व्यक्त गरे ।

लागुऔषध प्रयोगको रोकथाम र नियन्त्रणका लागि बुटवलमा स्थापित कानुनी तथा मनोसामाजिक निःशुल्क परामर्श केन्द्रलाई सेवा केन्द्रका रुपमा विकास गरिने उल्लेख गर्दै लागुऔषधको प्रयोग र कारोबारमा संलग्नलाई निरुत्साहित गर्न सहकार्य गरिने प्रमुख सुवेदीको भनाइ थियो ।

लागुऔषध प्रयोगकर्ताको पुनस्थापनाका लागि खुलेका निजी केन्द्रहरुमा चर्को शुल्क दिने गरेको र राम्रोसँग उपचार नहुने गरेका गुनासाहरु आइरहेको बताउँदै प्रमुख सुवेदीले बुटवलमा सुरु भएको निःशुल्क कानुनी तथा मनोसामाजिक परामर्श केन्द्रले धेरै लाभान्वित हुने दाबी गरे । कार्यक्रममा परामर्श केन्द्र सञ्चालनको लागि बुटवल उप–महानगरपालिकाका प्रशासकीय अधिकृत चक्रपाणि शर्मा र जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमबहादुर थापाले सम्झौता—पत्रमा हस्ताक्षर गरेका थिए ।

बुटवलको वडा नं. ५ को कार्यालय परिसरमा यो परामर्श केन्द्र स्थापना गरिएको छ । यहाँ दक्ष परामर्शदाताले नियमित सेवा प्रदान गर्ने छन् । अपराधविरुद्धको समुदायको सहकार्यका लागि पनि यसखालको परामर्श केन्द्र उपयोगी हुने बताइएको छ । कार्यक्रममा प्रदेशसभाका सदस्य सन्तोष पाण्डे रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थ, नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, प्रहरी कार्यालयका वसन्त थापा, महिला अगुवा रीतासेन ओलीलगायतले शान्ति सुरक्षा कायम राख्ने काममा प्रहरी र नागरिकको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गरेका थिए ।

समारोहमा तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरे, सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की, वुटवल उप–महानगरपालिका उप–प्रमुख गुमादेवी आचार्य, रुपन्देहीका सामाजिक संघ—संस्थाहरु, निजी क्षेत्रहरु, नागरिक अगुवाहरु, युवा तथा विद्यार्थीहरुको सहभागिता थियो । कार्यक्रमका वक्ताहरुले युवा र विद्यार्थी लक्षित सचेतनाका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ