२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशदादुरा–रुबेलाविरुद्धको खोप पूर्णतः सुरक्षित : स्वास्थ्य अधिकारी

दादुरा–रुबेलाविरुद्धको खोप पूर्णतः सुरक्षित : स्वास्थ्य अधिकारी


बुटवल-स्वास्थ्य अधिकारीहरुले फागुन १ देखि सुरु हुने दादुरा–रुबेलाविरुद्धको खोप पूर्णतः सुरक्षित रहेको जनाउँदै अभियानमा सफल बनाउन सबैलाई आग्रह गरेका छन् । राष्ट्रिय यो अभियान पहिलो चरणमा फागुन १ देखि ३० सम्म प्रदेश नं. १, २ र ५ मा यो अभियान चल्नेछ ।

यी प्रदेश दादुरा–रुबेलाबाट बढी प्रभावित छन् । स्वास्थ्य कार्यालय, रुपन्देहीले आइतबार पत्रकारसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा कार्यालयका प्रमुख डा. राजेन्द्रकुमार गिरीले खोप पूर्णतः सुरक्षित रहेकाले यसमा विश्वस्त भई आफ्ना सबै बालवालिकालाई खोप लगाउन अभिभावकलाई आग्रह गरेका थिए । साविकका खोप केन्द्र तथा अभियानका लागि थपिने विशेष खोप केन्द्रबाट स्वास्थ्यकर्मीले ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई यो खोप लगाउने छन् । यो खोपसँगै जन्मेदेखि ५ वर्षसम्मका बालबालिकालाई पोलियो थोपासमेत खुवाइने उनले जानकारी दिए । कोही नछुटून् भन्ने उद्देश्यले खोप लगाएका बालबालिकाको हातमा चिन्हसमेत लगाइनेछ ।

यसअघि नियमित खोप लगाएका वा छुटेका सबै बालबालिकालाई यो खोप लगाइनेछ । नेपालबाट सन् २०२३ सम्म दादुरा–रुबेला रोग निवारण गर्ने लक्ष्यका साथ राष्ट्रव्यापी रुपमा यो अभियान सञ्चालन हुँदैछ । बच्चा जन्मिएको ९ र १५ महिनापछि यो खोप लगाउनुपर्छ । नेपालमा २१ प्रतिशत बालबालिकाले पूर्ण खोप नलगाएको सरकारी तथ्यांक छ भने एक प्रतिशत बालबालिका पूर्णतः खोपबाट वञ्चित छन् ।

रुपन्देही जिल्लामा तीन चरणमा खोप अभियान सञ्चालन गर्ने योजना बनाएको छ । प्रथम चरणमा बुटवल उप–महानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रोहिणी गाउँपालिका र ओमसतिया गाउँपालिकामा यो अभियान सञ्चालन हुनेछ । पहिलो चरणको अभियान फागुन १ देखि ९ गतेसम्म चल्ने कार्यालयका खोप अधिकृत भेषराज शर्माले जानकारी दिए ।

यस्तै फागुन १३ देखि १७ गतेसम्म चल्ने दोस्रो चरणको अभियान सिद्धार्थनगर नगरपालिकामा कार्यान्वयन हुनेछ । फागुन १६ देखि बाँकी ८ स्थानीय तहमा तेस्रो चरणमा खोप अभियान चलाउने कार्यालयको तयारी छ ।

यस पटकको अभियानमा कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले तीन तहका सरकारले विशेष तयारी गरेका छन् । रुपन्देहीको सन्दर्भमा १५ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित रहेको सरकारी तथ्यांक छ । तिलोत्तमा नगरपालिका उप–प्रमुख जागेश्वरी चौधरीले यो अभियानमा लक्षित समूहका सबै बालबालिकालाई समेट्न स्वास्थ्यकर्मी, जनप्रतिनिधि, स्वास्थ्य स्वयम्सेविका, सरोकारवाला सबै आ–आफ्नो ठाउँबाट खटिने बताइन् । ‘पूर्ण खोप : सुरक्षित भविष्य’ भन्ने नारासहित स्वास्थ्य मन्त्रालयले यो अभियान सञ्चालन गर्न लागेको हो ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ