२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठलुम्बिनी प्रदेशपरम्परागत पोषिला खानेकुरा प्रवर्द्धन गर्न खाद्य मेलाको तयारी

परम्परागत पोषिला खानेकुरा प्रवर्द्धन गर्न खाद्य मेलाको तयारी


बुटवल—‘परम्परागत पोषिला एवं स्थानीय खाद्य पदार्थको प्रवर्द्धन गरौँ, असल पोषणका लागि खाने बानीको सुधार गरौं’ भन्ने मूल नाराका साथ रुपन्देहीको तिलोत्तमामा खाद्य मेला–२०७६ हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको आयोजना, तिलोत्तमा नगरपालिकाको सह–आयोजनामा फागुन २३ गतेदेखि २५ गतेसम्म तिलोत्तमा–१५ कोटिहवास्थित पशुपति माविमा मेला हुने भएको हो ।

परम्परागत एवं स्थानीय खाद्यपदार्थको उपभोगबारे चेतना अभिवृद्धि गर्दै खानपानको बानी परिवर्तनमा प्रोत्साहन गर्ने र पौष्टिक महत्वबारे उपभोक्तालाई जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको कार्यालयका खाद्य निरीक्षक श्रवणकुमार ढुंगानाले जानकारी दिए । मेलामा निःशुल्क प्रवेश र निःशुल्क स्टलको व्यवस्था गरिएको छ । स्टल राख्न चाहनेहरुले कार्यालयमा सम्पर्क राख्न सक्ने र पहिले प्राप्त भएको आवेदनलाई पहिलो प्राथमिकता दिइने कार्यालयले जनाएको छ । मेलामा ६० स्टल रहनेछन् ।

मेलामा स्थानीय स्तरका कृषिजन्य उद्योगहरु, स्थानीय परम्परागत खाद्यवस्तुको सेवा व्यापार गर्ने होमेस्टे, होटल, रेष्टुरेन्टहरु, पोषण र प्रविधिको क्षेत्रमा काम गर्ने संघ संस्थाहरु सहभागी हुनेछन् । साथै मेलामा स्थानीय कृषिजन्य खाद्य उद्योगबाट उत्पादित खाद्य वस्तुहरुको प्रदर्शनी, पोषण तथा जनस्वास्थको क्षेत्रमा कार्यरत संघ संस्थाहरुको सुचनामुुलक प्रदर्शनीसँगै सरकारको स्थानीय कृषि उत्पादन अभिवृद्धि गर्ने कार्यक्रमबारे जानकारीमूलक प्रदर्शनी गरिनेछ । त्यस्तै विभिन्न जातजातीका परम्परागत खानेकुराको प्रदर्शनी समेत गरिने आयोजकले जनाएका छन् ।

खाद्य स्वच्छतामा ध्यान दिन विज्ञहरुको सुझाव

यसैबीच खाद्य स्वच्छतामा ध्यान दिएर स्वास्थ्यको ख्याल गर्न विज्ञहरुले उपभोक्तालाई आग्रह गरेका छन् । खाद्य बजारमा पाइने सबै खाद्य उत्पादनहरु गुणस्तरहीन नहुने तर पनि केही खाद्य उत्पादनहरु गुणस्तरहीन हुने गरेको भन्दै उनीहरुले यसका लागि उपभोक्ता आफै सचेत हुनुपर्नेमा जोड दिएका हुन् ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा बुधबार मणिग्राममा आयोजना गरेको उपभोक्ता भेला तथा सचेतना कार्यक्रममा विज्ञहरुले यस्तो बताएका हुन् । कार्यक्रममा खाद्य स्वच्छता सम्बन्धी अवधारणा प्रस्तुत गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विमलकुमार दाहालले आम उपभोक्ताहरु खाद्य पदार्थको गुणस्तका बारेमा सतर्क र चनाखो हुनु जरुरी रहेको बताए । सर्वसाधारण उपभोक्ताहरुले आफू नठगिन र गुणस्तरीय खाद्य उत्पादन खरिद गरी उपभोग गर्न आवश्यक रहेको उनको भनाइ छ ।

उनले खाद्य उत्पादनहरुको आवरणको लेबल विवरण राम्ररी हेरेर उत्पादन मिति, म्याद नाघ्ने उपभोग्य मिति, उत्पादकको नाम ठेगाना, तौल, मूल्य, त्यस खाद्य पदार्थमा प्रयोग भएको बनावटको मिश्रण आदि उचित र सही अवस्थामा छ भने मात्र खरीद गर्ने बानी बसाल्न आग्रह गरे ।
तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधवप्रसाद शर्माले आयातीतभन्दा परम्परागत खाद्य पदार्थमा ध्यान दिन आग्रह गर्दै स्वादका लागि स्वास्थ्यका लागि खाने बानीको विकास गर्न सुझाव दिए ।

उपभोक्ता हित संरक्षण मञ्चका प्रदेश ५ अध्यक्ष तेजकुमार पाठकले आफूले उपभोग गरिरहेको भरपर्दो एवं विश्वासिलो उद्योग एवं उत्पादकको खाद्य पदार्थ रोजेर उपभोग गर्न आग्रह गरे । पशुपति माविका प्रधानाध्यापक वेदनारायण भट्टराईले विद्यालयका बालबालिकालाई पनि गुणस्तरहीन खाद्य पदार्थको उपभोग गरिरहेको भन्दै स्वास्थ्यका लागि हानीकारण वस्तुहरुको उपभोगलाई कम गर्नेतर्फ अभिभावकले पनि भूमिका खेल्नुपर्ने बताए ।


क्याटेगोरी : लुम्बिनी प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ