२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १हातसँगै गाँसिएको खुसी

हातसँगै गाँसिएको खुसी


विराटनगर – सुनसरीको इनरुवा ५ की अंशु खतिवडा ६ वर्षकी भइन् । उनको जन्मजातै बायाँपट्टीको हातको कुइनोभन्दा तलको भाग छैन । कक्षा एकमा पढदै आएकी अंशुलाई हातकै कारण नियमित पठनपाठनमा समस्या थियो । आफूले कृत्रिम चलाउन मिल्ने हात हाल्न पाउने खबर पाएपछि उनी निकै दंग परेकी थिइन् ।

बुधबार विराटनगरस्थित न्यूरो अस्पतालमा आमा इन्दिरा आचार्य खतिवडासँग आएर उक्त हात हालेपछि त्यसलाई कसरी चलाउने भनेर उनी निकै आतुर भएकी थिइन् । हात हालेर घर पुगेकी अंशुसँग अहिले उनका स्कुलका साथीहरू पनि खेल्न आउँछन् । सबैभन्दा बढी त अंशु लेख्न र खेलाउन सामान चलाउन सक्छु भन्नेमा खुसी भएकी छिन् ।

विराटनगर – १ पोखरीयाका ३० वर्षीय  मौसम खड्कालाई पनि यही हातले जीवनमा नयाँ उमङ्ग दिएको छ । उनले ‘कृत्रिम हात लगाउनसाथ बोतलको बिर्को समातेर लगाए । सँगै रहेको प्लाष्टिको बाल्टिन पनि उठाए । १५ वर्ष अगाडी एक प्लाष्टिक उद्योगमा काम गर्ने क्रममा दुर्घटनामा पर्दा उनको दाया हात गुमेको थियो । ‘एकपटक मरेर बाँचे पनि अरुको बोझ हुन्छु भन्ने लागेको थियो । अहिले ममा आशा पलाएको छ,’ ‘कृत्रिम हात लगाएपछि उनले हर्षित हुँदै भने, ‘ ‘हात गुमाएको त्यो क्षण विर्सिन थालेको छु ।’ सबलाङ्ग मानिस जस्तै गरी अहिले हातले काम गर्ने गरेको उनले बताए । ‘गुमेको हात कृतिम पाएपछि घरमा आवश्यक पर्ने सामग्रीहरू अब आफै बजार गएर ल्याउने गर्नेछु,’ उनले भने, ‘सामान उठान मिल्दो रहेछ ।’

 

हात गुमाए पनि ज्यान बचाएका उनी जीवन यत्तिकै रहेछ भनेर हरेश खाइरहेका बेला कृत्रिम हात लगाइरहँदा हर्षित मुद्रामा देखिन्थे । उनी भन्छन्, ‘कृत्रिम हात पाएपछि सग्लो मान्छे जस्तै हिँडडुल गर्न सक्ने भएको छु ।’

सवारीसाधन आफै चलाएर बजार जाने गरेको उनले बताए । ‘कृत्रिम हात लगाएपछि हलुका पनि हुँदो रहेछ,’ उनले भने, ‘कति सजिलो छ । जत्ति दुःख भोग्नु थियो भोगेँ, अब म सुखीको दिन आयो ।’

इलामको देउमान नगरपालिका ९ का १२ वर्षीय बिनायक जंग विश्वकर्मा पनि कृत्रिम हात लगाएपछि खुसी देखिए । कक्षा ६ मा पढदैछ आएका बिनायकको पनि जन्मजात दाया हाको कुइनोदेखि मुनिको भाग छैन । बुवा हर्कबहादुर विश्वकर्मासँग कृत्रित हात लगाएपछि उनी खेल्न पाइने भन्दै खुसी देखिन्थे ।

हात लगाएर गाउँ गएपछि उनका साथीहरूको पनि हेर्ने लर्को लागेको थियो । पहाडको ठाउँ भएकाले काम पनि त्यत्तिकै गर्नुपर्छ । बुवालाई सघाउने जिम्मेवारी पनि बिनायकसँग छ । तर पनि उनले हातलाई चलाउने दिनहँ अभ्यास गर्ने र सकेसम्म सम्हालेर काम गर्ने बानी बसालेका छन् ।

अंशु र मौसम जस्तै बिनायक जंगको खुसीको जीवनमा पनि निःशुल्क हात लगाइदिएर खुसी थप्ने काम रोटरी क्लब अफ विराटनगर र करुणा फाउेण्डेसनले गरेको छ । बुधबारसम्म ५० जनाले मात्रै हात लगाए पनि १ सय १० जना हात लगाउने लाइनमा छन् ।

‘कृत्रिम हात लिएर जर्मनी संस्था ह्याण्ड प्रोजेन्ट द टिम बेनिफिटका प्राविधिक टोली विराटनगर आइसकेको छ । यसका लागि आवश्यक कोठाहरू र प्रवाधिक सहयोग न्यूरो अस्पतालले गरेको छ । बिहीबारसम्म संचालन हुने निःशुल्क कृत्रिम हात प्रतिस्थापन शिविर १ सय १० जना अपाङगता भएका व्यक्तिहरूलाई कृतिम हात लगाइदिने लक्ष्य लिएको क्लबका सचिब मनोज विक्रम शाहले जानकारी दिए । ६ वर्षदेखि ६५ वर्ष उमेर समूहलाई लगाउन मिल्ने कृत्रिम हात जर्मनी कम्पनीको रहेको छ । कृत्रिम हात लगाउने प्राविधिक क्रिसले अपाङगता भएका व्यक्तिले लगाउने कृत्रिम हात १० केजी तौल उठाउन मिल्ने बताए । ‘कृत्रिम हात लगाउने व्यक्तिले १० केजीसम्मको सामाग्रीहरू उठाउन सक्दछन्,’ उनले भने, ‘यो कृतिम हात लागउँदा कुनै एलर्जी पनि हुदैन । विगत १० वर्षदेखि हामीले यसरी कृतिम हात लगाउँदै आएका छौं । यसको साइट इफेक्ट पनि केही छैन ।’

करूणा फाउन्डेसनको सहकार्यमा भएको यो शिविरमा प्रदेश १ भरीका अपाङगता भएका व्यक्तिहरूलाई कृत्रिम हात लगाउन विराटनगर आएका छन । मोरङबाट २५, सुनसरी २, धनकुटा ५, इलाम ५, पाँचथर १० जना अपाङगता भएका व्यक्तिहरू कृतिम हात लगाउन इच्छुक भएका र उनीहरू शिविरमा आएका थिए ।

६ महिनाको तयारी पछि अपाङगता भएका व्यक्तिहरूलाई कृतिम हात लगाइदिने शिविर आयोजना गरिएको रोटरी क्लबका सर्भिस चियर तथा कार्यक्रम संयोजक सरिता अग्रवालले बताइन् ।

हात बालबालिकाकै इच्छाअनुसारको रङको बनाउन मिल्छ भने नचाहिने बेलामा फुकालेर राख्न पनि सकिन्छ । हात लगाउँदा त्यसभित्र नरम खालका कपडा पनि राखिने हुनाले चिलाउने, पोल्ने वा एलर्जी हुने जस्ता समस्या आउँदैन ।

हात नभएका कारण बालबालिका विद्यालय जान मान्दैनन् । कतिपय परिवारमा बाबुआमाले पनि छोराछोरीलाई घरमै लुकाएर राख्ने गरेका छन् । यस्ता हातले उनीहरूलाई बाहिर एक्सपोज हुन शारीरिक र मानसिक रूपमा उत्प्रेरित गर्ने क्लबका सचिव शाहले बताए ।

कृत्रिम हात पाएपछि खुसी हुँदै बाल्टिन उठाउँदै एक वृद्ध

ठूला मानिसले हात नहुँदा पनि आफूलाई त्यसैमा बानी पारिसकेका हुन्छन् । तर, साना बालबालिकालको जीवन धेरै लामो र महत्वपूर्ण पनि हुन्छ । उनीहरूलाई जीवनमा धेरै खेल्नुपर्ने र लेखपढ गरी करियर बनाउनुपर्ने पनि हुन्छ । त्यसैले हरेक बालबालिकासँग हात होस् भन्ने सोचाइले संस्थाले यो सुरु गरेको क्लबका सभापति सुरेन्द्र गोल्छाले बताए ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ