२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्ट२५ वर्षमा कसरी बन्यो तिलगंगा ‘ग्लोबल ब्राण्ड’

२५ वर्षमा कसरी बन्यो तिलगंगा ‘ग्लोबल ब्राण्ड’


तिलगंगा आँखा प्रतिष्ठान नेपाली भिजन र बाहुबलमा स्थापित नेपालको ‘ग्लोबल ब्राण्ड’ हो । २०५१ सालमा स्थापना भएको तिलगंगाले आज सोमबार आफ्नो सिल्भर जुब्ली (२५ औं वार्षिकोत्सव) मनाउँदैंछ । अहिलेसम्म तिलगंगाले ६० लाखभन्दा बढीलाई आँखासम्बन्धी सेवा दिइसकेको छ ।

तिलगंगाले स्थापनाको तीन वर्षपछि १९९७ बाट सस्तो मुल्यमा ख्यातिप्राप्त गुणस्तरीय लेन्स उत्पादन गरी विश्वभर पु¥याउन थालेको हो । यसले यो २२ वर्षको अवधिमा करिब ४७ लाख बढी लेन्स उत्पादन गरिसकेको छ । सुरुमा दैनिक २ सय उत्पादन हुँदैं आएको अहिले त्यो बढेर १८ सय पुगेको छ । उत्पादित आइएलओ मान्यताप्राप्त लेन्स विश्वका ७० भन्दा बढी देशहरुमा पुगिसकेको छ । जसले ती देशहरुमा मोतियाविन्दुबाट हुने अन्धोपना निवारणका लागि अतुलनीय योगदान दिइरहेको छ ।

अधिकांश वस्तुहरुका लागि विदेशमा निर्भर भैरहेका बेला नेपालजस्तो तेस्रो विश्वको गरिब देशबाट ४७ लाख लेन्स युरोपदेखि एसिया, अफ्रिका एवं अन्य महादेशका नागरिकलाई उज्यालो संसार दिन बनिरहेका छन् । तिलगंगा नेपालीले गर्व गर्ने ग्लोबल ब्राण्ड हो ।

यो सफल मोडलका परिकल्पनाकार र अगुवा हुन्Ðडा. सन्दुक रुइत । डा. रुइट टिमवर्कलाई नै तिलगंगाको सफलताको प्रमुख कारण मान्छन् । ‘तिलगंगा सफलताको मुख्य कारण टिमवर्क हो,’ उनी भन्छन् । नेतृत्वको भिजनमा सबैलाई बुझाउन सकिएमा सफल हुने बताउँछन् । तिलगंगाको विश्वस्तरीय सफलताका पछाडि गुणस्तरीयतामा सम्झौता नगर्नु पनि मुख्य कारण हो । तिलगंगाले उत्पादन गर्ने लेन्स बेलायतको एसजीएस कम्पनीबाट सिइ मार्क र आइओएस सर्टिफाइड छ । ‘आइओएल’मा बेलायतबाट आइओएस मार्क पाउने तिलगंगा दक्षिण एसियाकै तेस्रो हो ।


नानी प्रत्यारोपण अर्को नमुना

आइएलओ लेन्सका लागि जति तिलगंगा प्रख्यात छ । त्यस्तै, यसको अर्को सफल कार्यक्रम पनि छ । त्यो हो-नानी प्रत्यारोपण । मरेपछि खरानी हुने आँखा संकलन गरेर अन्धोपना भएकाहरुको संसारमा उज्यालो भर्न यो कार्यक्रम २०५१ सालमै सुरु गरिएको थियो । पहिलो पटक चिनीमैया महर्जनले आँखा दान गर्ने साहसिलो निर्णय गरेकी थिइन् । चिनीमैयालाई पछ्याउँदैं अहिलेसम्म झण्डै १४ हजार बढीले आफ्नो आँखा दान गरेर अरुलाई उज्यालो दिइसकेका छन् ।

अस्पतालका संस्थापक डा. सन्दुक आँखा संकलन केन्द्र स्थापना गर्दा ताकाको समय सम्झन्छन् । सुरुमा आर्यघाटको एउटा कुनामा नदेखिने सानो साइजको ‘आँखा दान महादान, एकजनाको बलिदानले दुईजनाको जिन्दगी बन्छ भन्ने’ साइनबोर्ड राखिएको थियो । प्रारम्भमा यो प्रयासमा राम्रा प्रतिक्रिया आएका थिएनन्, तर विस्तारै नेतादेखि कार्यकर्तासम्म सर्वसाधारणदेखि ब्यवसायीसम्मले आँखा दान दिने घोषणा गरेर समाजमा नयाँ सन्देश प्रवाहित गरे । जसले आँखा दान गर्नेहरुको संख्या बढ्दै गयो ।

सुरुमा आर्यघाटको कुनामा राखिएको प्रचार बोर्ड पनि विस्तारै मुख्य ठाउँहरुमा देखिन थाल्यो । पहिलो पटक कम्युनिष्ट नेता नेता निर्मल लामाले आँखा दान गरे । त्यसपछि क्रमसः मनमोहन अधिकारी, जगदीश घिमिरेजस्ता ब्यक्तित्वले आँखा दान गरे । विस्तारै—विस्तारै यो क्रम बाक्लिदैं गयो । अहिले झण्डै—झण्डै रक्तदानकै अवस्थामा आँखादान हुन थालेको डा. रुइतको अनुभव छ ।


परिकल्पनाकार डा. रुइत

सुदूरपूर्वको हिमाली गाउँ ओलाङचुङ गोलामा जन्मिएका हुन्—तिलगंगाका परिकल्पनाकार डा. सन्दुक रुइत । सामान्य किसान परिवारमा जन्मिएका उनी ८० को दशकतिर जुनियर चिकित्सकका रुपमा आँखा सम्बन्धी एक सर्वेमा सहभागी भएका थिए । सर्वेयात्राका क्रममा देशाटन गर्दा मोतियाबिन्दुबाट हुने अन्धोपनाबाट धेरै मानिसहरुले अन्धकारयुक्त जीवन जिइरहेको देखे । त्यही दृश्यले उनमा मोतियाविन्दुको सेवा कसरी विश्वस्तरीय बनाउन सकिन्छ भन्ने हुटहुटीलाई जन्म दियो ।

नेपालीको मोतियाविन्दु र त्यसको उपचार पद्धतिका बारेमा चिन्तित बनिरहेकै बेला डा. रुइतले अल इन्ड्यिा इन्सटिच्युट अफ मेडिकल साइन्स (एम्स)मा आँखा रोग विशेषज्ञताका छात्रवृत्ति पाए । एम्सबाट पिजी गरेर फर्किएपछि सन् १९८६ नेपाली माटो सुहाउँदो मोतिविन्दुको उपचार पद्धतिको अनुसन्धानमा लागे । जतिबेला शल्यक्रियामा लेन्स प्रयोग हुँदैनथ्यो, शल्यक्रिया माइक्रोस्कोपीक पनि हुदैनथ्यो । त्यतिबेला विश्वबजारमा एउटा लेन्सको मात्र एक सय डलर पथ्र्यो । त्यत्रो पैसा तिरेर आँखामा लेन्स राख्नु नेपालीका लागि प्रायः असम्भवजस्तै थियो । नेपालीलाई सित्तैमा दिनसक्ने अवस्था त झन परैको कुरा थियो ।

उनले नेपालीलाई सुहाउँदो उपचार पद्धति खोजी तथा विकासका लागि अनुसन्धान गर्न सिंगो देश भ्रमण गरे । उनले आँखाको कुनामा हाल्ने पातलो लेन्सको कुरा कल्पना गर्न थाले । त्यो कुरा साथीहरुलाई सुनाए, तर धेरैले त्यसलाई पत्याएनन् । किनभने त्यो ज्यादैं महत्वकांक्षी र जोखिमपूर्ण काम थियो । तर, उनले प्रयास गर्न छोडेनन् । संयोग नै मान्नुपर्छ सन् १९८५ मा उनको भेट अष्ट्रेलियन गुरु डा. फ्रेड हलोजसँग भयो । सन् १९८५ फ्रेड विश्व स्वास्थ्य संगठनको तर्फबाट आँखामा हुने खस्रे (ट्रकोमा) रोगको विशेषज्ञका रुपमा नेपाल आएका थिए । उनको रिसर्च सकिएपछि डा. रुइतका सहयात्री बने । जुन कुरामा लिएर रुइत चिन्तित थिए, त्यही कुरामा फ्रेड उत्साह भर्न आइपुगे ।

विश्वबजारमा सस्तो र गुणस्तरीय आइओएल लेन्स उत्पादनका लागि ख्यातिप्राप्त तिलगंगा डा. रुइतको नेतृत्वमा ७ जुन १९९४ मा तत्कालीन राजा वीरेन्द्र शाह र प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई एउटै मञ्चमा राखेर उनले सपनाको रोपियो । तर, त्यो बिउमात्रै जुटाउन पनि उनले थुप्रै अप्ठ्यारा र चुनौतीहरु सामना गर्नुप¥यो ।

रोचक त के भने कुनै समयमा विश्वबजारमा १ सय डलर पर्ने बाक्लो लेन्सलाई विस्थापित गर्ने तिलगंगाले बनाएको आँखाको कुनामा हालिने पातलो लेन्सको मुल्य मात्र ४ डलर छ । जसले सस्तो र गुणस्तरीय लेन्सका लागि नेपाललाई विश्वभर चिनाएको छ । यो २५ वर्षको अवधिमा नेपालमा नमुना संस्था बनाएर विश्वकै ध्यान केन्द्रित गर्ने डा. रुइत र उनको टिम नेपाली समाजका लागि रोलमोडल हो ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ