२०७८ असोज ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठविशेष रिपोर्टती साढे १३ हजार महादानी

ती साढे १३ हजार महादानी


काठमाडौं—२०५१ बाट पहिलोपटक नेपालमै आँखाको नानी निकालेर दुई जना व्यक्तिमा प्रत्यारोपण भएको थियो । नेपालीबाटै निकालेर पहिलो प्रत्यारोगण गरेको २४ वर्षमा साढे १३ बढी दृष्टि गुमाएका मानिसले पुनः संसार देख्न पाए । तिलगंगा आँखा प्रतिष्ठानको आईबैकको तथ्यांकअनुसार हालसम्म १३ हजार ५ सय ७५ जनाको नानी प्रत्यारोपण गरिएको छ । ७ सय ६३ जनामा भने विदेशबाट दान स्वरुप उपलब्ध भएका नानी प्रत्यारोपण भएको छ ।

मृत्युपछि आँखा दान गर्न इच्छा राख्दैं हस्ताक्षर गर्नेको संख्या ७२ हजार पुगेको छ । तर, इच्छापत्रमा हस्ताक्षर गर्ने सबैको मृत्युको खबर आइनपुग्ने हुँदा नानी निकाल्न नपाइने गरेको बैंकका व्यवस्थापन पंख नारायण त्वाएना बताउँछन् । ‘आँखा दान गर्छु भनेर इच्छापत्र दिनेमध्ये कतिपय दुर्गम स्थानमा पनि हुनुहुन्छ, सबैको मृत्यु भएको हामीलाई थाहा हुँदैन्,’ उनले भने, ‘नियमित सम्पर्कमा रहनको लागि पनि नैतिक रुपमा मिल्दैन, जसको परिवारबाट जानकारी आउँछ उहाँहरु कहाँ हामी पुग्ने गरेका छौं ।’

नेपालमा हालसम्म सबैभन्दा बढी नानी संकलन काठमाडौं उपत्यकामा नै छ । प्रत्यारोपणको ८० प्रतिशत संकलन काठमाडौंबाटै हुन्छ । काठमाडौं बाहिर विराटनगर, पोखरा, कैलाली, वीरगञ्जबाट पनि आँखाको नानी संकलन हुँदै आएको थियो । पछिल्लो ५ महिनादेखि मेची, भरतपुर र पोखराबाट पनि संकलन सुरु भएको छ ।

काठमाडौंका वीर अस्पताल, पाटन, गंगालाल अस्पताल र पशुपती आर्यघाटमा आँखा संकलन हुन्छ । ‘अब उपत्यकाबाहिर पनि संकलन केन्द्र स्थापना भएका छन् । पहिलेभन्दा केही सहज हुन्छ,’ त्वाएनाको दाबी छ । उपत्यकामा आँखा संकलन बढी भएतापनि आवश्यकताअनुसार संकलित आँखा प्रत्यारोपण गर्नै पूर्वाधार भएका पुर्व मेचीदेखि पश्चिमको कैलालीमा रहेको गेटा अस्पतालसम्म रहेका अस्पतालमा पुर्‍याइने गरिन्छ ।

३१ भाद्र २०५१ मा सालमा आँखा बैकको स्थापना भएसँगै विदेशबाट नानी ल्याएर तिलगंगामा प्रत्यारोपण हुन्थ्यो । त्यसको ६ महिनापछि व्यक्तिको नानी निकालेर दुई जनामा प्रत्यारोपण भयो । तर, त्यसले निरन्तरता पाउन धेरै समय कुर्नुपर्‍यो । ‘विदेशबाट कतिबेला नानी आइपुग्ला भनेर दिनभर एयरपोटमा कुरेर बस्थ्यौ,’ डा. सन्दुक रुइत सम्झन्छन् ‘अनि रातभर लगाएर प्रत्यारोपण गर्थ्यौ ।’ जब पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारीले मृत्युपश्चात आँखा दान गर्ने घोषणा गरे त्यसपछि आँखा दान गर्ने लहरै चल्यो । उनको मृत्युपछि आँखा निकाली अर्को मानिसलाई प्रत्यारोपण गरिएको थियो ।

त्यसैगरी, कम्युनिष्ट नेता निर्मल लामा, साहित्यकार केदारमान व्यथित, सर्वोच्च अदालतका पूर्व न्यायाधीस भरतराज उप्रेती, साहित्यकार जगदीस घिमिरे, चरित्र अभिनेत्री शान्ति मास्के, हाँस्य कलाकार हरिवंस आचार्यकी श्रीमती मीरा आचार्य, पूर्व प्रधानमन्त्री कृतिनिधी विष्ट, पूर्व प्रधानमन्त्री माधव नेपालका बाबु मंगलकुमार उपाध्यायले पनि मृत्युपश्चात आँखा दान गर्नको लागि इच्छापत्रमा हस्ताक्षर गरेका थिए । उनीहरुको अन्त्येष्टी अघि आँखाको नानी निकाली अन्य मानिसमा प्रत्यारोपण गरिएको थियो ।

९६ प्रतिशतमा सफल

प्रतिष्ठानकी नानी प्रत्यारोपण विशेषज्ञ डा. लिना बज्रचार्यका अनुसार मानिसमा आँखाको नानीको संक्रमणको कारण हुने अन्धोपन हटाउन नानी प्रत्यारोपण गर्नुपर्ने हुन्छ । नानीको माथिल्लो पारदर्शी भागमा कुनै कारणले फुलो परेको छ भने प्रकाशभित्र जान पाउदैन र मानिसमा अन्धोपना हुन्छ । चोटपट लाग्नु, साना केटाकेटीमा भिटामीन एको कमी हुनु, प्रोटीनको कमीको कारण मालन्यूट्रसन हुनु पनि यसको अर्को कारण हो ।

साथै वंशाणुगत कारण हुने क्याटोकोलस पनि अन्धोपन हुने बज्राचार्यको भनाइ छ । यस्तो समस्या भएकाहरुमा समयमै समस्या पत्ता लगाएर गरिने प्रत्यारोपणको सफलताको दर उच्च रहेको उनको भनाइ छ । क्याटोकोलस तरुण अवस्थाबाटै सुरु हुने डा. बज्राचार्य बताउँछिन् । जुनसुकै कारण भएपनि आँखाको नानीमा हुने अन्धोपन निवारका लागि प्रत्यारोपणको विकल्प छैन । प्रत्यारोपणअघि मात्र नभएर प्रत्यारोपणपछि पनि विरामीले धेरै विचार पुर्‍याउनुपर्नेमा जोड दिन्छिन् । ‘अंग प्रत्यारोपण त्यसैपनि जटिल हुन्छ,’ उनी भन्छिन् ‘प्रत्यारोपणपछि चिकित्सकले दिएको सल्लाहलाई पालना गरे समस्या हुँदैन ।’

हालसम्म आँखा प्रत्यारोपण गरिएकामध्ये ९६ प्रतिशतमा सफल भएको तिलगंगा आँखा प्रतिष्ठान आई बैंकको तथ्यांकमा उल्लेख छ । सफल नभएका ४ प्रतिशतमा पनि प्रत्यारोपण गर्ने विरामीले चिकित्सकको सल्लाहलाई वास्ता नगर्दा समस्या हुने गरेको विज्ञहरु बताउँछन् ।


क्याटेगोरी : विशेष रिपोर्ट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)