२०८१ वैशाख १७, सोमबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअपसर्जिकल उत्पादनमा २९ वर्षीय सतिश, दुई वर्षमा ५ करोडको कारोबार

सर्जिकल उत्पादनमा २९ वर्षीय सतिश, दुई वर्षमा ५ करोडको कारोबार

युनाइटेड एग्रो इन्जिनियरिङमा ६ करोड लगानी, ३० जनालाई रोजगारी


४ वर्षअघि बाँके कोहलपुरका सतिश केसी भारतको बैग्लोरमा कम्प्युटर इन्जिनियरिङ अध्ययन सकेर फर्किए । नेपाल फर्केको केही समय उनले जागिरमा बिताए । जागिर होइन्, उद्यममा व्यवसायमा उनको अभिरुचि थियो । त्यही कारण आफ्नो छुट्टै उधोग खोल्न जुटे ।

फागुन २०७६ मा कोहलपुर—९ झन्डवारमा ‘युनाइटेड एग्रो इन्जिनियरिङ प्रा.लि.’ निर्माण अगाडि बढाए । उधोग निर्माण सकेर सामान्य उत्पादनहरु सुरु हुनै लागेको थियो । त्यही बेला कोभिड-१९ को विश्वव्यापी महामारी सुरु भयो । कोभिड-१९ महामारी सुरु भएपछि चैत २०७६ देखि नेपालमा लडकडाउन सुरु भयो ।

नेपालका अस्पतालहरुमा बेड अभाव भएका समाचारहरु मिडियामा छाउन थाले । २९ वर्षीय युवा सतिशका आँखामा ती हेडलाइनहरु नपर्ने कुरै थिएन् । धेरै मान्छेहरु लकडाउनमा घरभित्र थुनिएका बेला यी उर्जावान युवा भने सर्जिकल फिल्डमा लगानी गर्ने दुस्साहस गर्दै थिए । त्यही क्रममा नेपालगन्जको ओलिया कम्पनीले २ सय बेड अर्डर गरेपछि उनी झनै उत्साहित भए । ६ बैशाख २०७७ मा उनी बाँके जिल्ला प्रशासन कार्यलयमा गए । त्यहाँ जानुको उद्देश्य अस्पतालमा देखिएको बेडहरु अभाव पूर्तिका लागि बेड उत्पादन अनुमति माग्नु थियो ।

बाँकेका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायलाई प्रस्ताव राखे, ‘अस्पतालमा बेड अभाव भयो । हामी वेड उत्पादन गर्छौ । स्वीकृती दिनुप¥यो ।’

उपाध्यायले सोधे, ‘दिनमा कति उत्पादन गर्न सक्नुहुन्छ ?’

सतिशले जवाफ दिए, ‘एक दिनमा ३०—४० वटा सकिन्छ ।’

बेड नपाएर बिरामी अलपत्र हुने परिस्थिती नियालिरहेका उपाध्यायले स्वीकृती दिइहाले । १२ बैशाखदेखि सबै तयारी सकेर सतिशको कम्पनी ‘युनाइटेड एग्रो इन्जिनियरिङ’ले बेड उत्पादनका सुरु ग¥यो । सतिशले जसरी ३०—४० को संख्यामा दैनिक बेडहरु उत्पादन गर्ने सोचेका थिए । तर, त्यो सम्भव भएन् । ‘सुरु—सुरुमा त दिनमा दुई वटा वेडभन्दा बढी बनाउन सकेनौं,’ उनले भने, ‘कहिले के नमिल्ने कहिले के । ट्रायलमै झण्डै एक हप्ता समय लाग्यो ।’ प्रयास गरेपछि के असम्भव छ ? एक हप्तामै उनको बेड उत्पादन गर्ने प्रयास सार्थकता पाउन थाल्यो ।

‘युनाइटेड एग्रो इन्जिनियरिङ’ले लकडाउनका बेला धेरै अस्पतालहरुमा बेडहरु पु¥याउन भूमिका खेल्यो । अस्पतालका बेडहरुमार्फत थालिएको उत्पादन अहिले आईसीयु वेड, नर्मल वेड, क्रेस कार्ड, सर्जरीमा आवश्यक पर्ने इन्ट्रुमेन्ट ट्रली, ओटी टेबल, ओटी लाइट, लकर, आईभी स्टेन्डसम्म पुगेको छ । ‘अस्पतालमा आवश्यक पर्ने थ्री फंसन, फाइभ फंसन, म्यानुअल सबै प्रकारका सामाग्रीहरु उत्पादन गरिरहेका छौं,’ युनाइटेड एग्रो इन्जिनियरिङका अध्यक्षसमेत रहेका  सतिश भन्छन्, ‘नेपालमै सबै उत्पादन गरिरहेका छौं ।’

उनले उद्यम सुरु गर्दा भौतिक पूर्वाधार उपकरणलगायतका गरी झण्डै २ करोड लगानी गरेका थिए । अहिले उपकरण र जग्गासमेत थप गर्दा त्यो लगानी ६ करोड हाराहारीमा पुगेको छ । सुरुमा ५ जनाबाट बेडहरु उत्पादन थालेको उनको कम्पनीमा नियमित ३० जना कर्मचारी काम गर्छन् । ‘आउने जाने कर्मचारी गरेर ६०—७० जना हुन्छन्,’ उनले भने । युनाइटेड एग्रो इन्जिनियरिङसँगै उनका थप दुई कम्पनी पनि त्यही छन्, जसले कृषि र घरायसी सामाग्रीलगायतका अन्य उत्पादनहरु गर्छन् ।

सतिशको लकडाउनमा अंकुराएको युनाइटेड एग्रो इन्जिनियरिङ भविष्य बोकेको कम्पनी हो । ‘हाम्रो उत्पादनहरुमा गुणस्तरीयतालाई विशेष ध्यान दिन्छौं,’ उनले भने, ‘यो लामो फ्युचर बोकेको कम्पनी हो । अस्पतालहरुमा नयाँ नयाँ बनिरहेका छन् । गाउँ—गाउँमा सरकारी अस्पतालहरु स्थापना हुँदैछन् ।’ भारत र चीनको शुल्कमै नेपालमा बेडहरु दिन सकेमा कम्पनीमा चाडै बजारमा पकड स्थापित गर्ने उनले देखेका छन् । सतिशले झण्डै दुई वर्षकै अवधिमा भारतको उत्तर प्रदेश र नेपालभर आफ्नो उत्पादनहरुको बजार विस्तार गरेका छन् । दुई वर्ष नपुग्दै कम्पनीले ५ करोडको कारोबार गरिसकेको छ ।

अहिले उनको कम्पनीको उत्पादन मात्रै बढेको छैन् । उत्पादन गर्ने सामाग्रीको क्वालिटी पनि वृद्धि हुँदै गएको छ । कम्पनीले आईएसओ समेत पाएपछि सतिश दंग छन् । अस्पतालका लागि आवश्यक वेडलगायतका सामाग्रीहरुको उत्पादन त एकातिर छदैंछ । त्यसबाहेक वेड, ओटी टेबलको रिपेयरिङ सेवा पनि उनको कम्पनीले उपलब्ध गराउँदैं आएको छ ।

को हुन् सतिश ?

सतिश वि.सं. २०४९ सालमा सल्यानको खलंगामा जन्मिएका हुन् । बुवा खुमबहादुर खत्री र तिला खत्रीका तीन सन्तानमध्ये उनी माइला हुन् । उनका बुवा तत्कालीन समयमा जिल्लाकै फेकोफोन संस्थामा कार्यरत थिए । आमा भने हाउस वाइफ । वि.सं. २०६० सालमा उनको परिवार सल्यानबाट कोहलपुरमा बसाइँ स¥यो ।

उनको प्रारम्भिक शिक्षादीक्षा सल्यानमै भएको हो । त्यसपछि थप प्रारम्भिक शिक्षा कोहपुरमा भयो । कोहलपुरको बागेश्वरी र बालज्योतिमा उनले अध्ययन गरेका हुन् । ९ कक्षामा पढ्दा उनको स्पाइनल कडको शल्यक्रिया भएपछि स्कुल जान सकेनन् । चिकित्सकले धेरै मुभमेन्ट नगर्ने सल्लाह दिएपछि घरमै तयारी गरेर उनले वि.सं. २०६६ सालमा लक्ष्मी माविबाट एसएलसी दिए । एसएलसी पास गरेपछि उनी थप उच्च शिक्षाका लागि काठमाडौं आए ।

काठमाडौंको भिएस निकेतनबाट साइन्समा प्लस सकेपछि उनी इन्जिनियरिङ अध्ययनका लागि भारत गए । भारतको बैग्लोरको रेवा कलेजबाट कम्प्युटर इन्जिनियरिङ पढाइ सकेर उनी ४ वर्षअघि नेपाल फर्किए । भारतमा रहँदा बस्दा उनको संगत केही उद्यमीका छोराहरुसँग भयो । जसले उनमा उद्यमप्रति सोच विकास गराएको हो ।

उनका बुवा पनि सल्यानबाट कोहलपुर बसाइँ सरेदेखि नै विजनेशमा संलग्न थिए । उनका दाजुले एसएलसी सकेलगतै कम्प्युटर सिकाउने इन्स्टिच्युट खोलेका थिए, पछि ट्युसन सेन्टर हुँदै कलेज खोले । वि.सं. २०५९ सालतिर उनका बुवा र दाजुले बर्जर पेन्ट्सको मध्य र सुदूरपश्चिम डिपो पनि चलाए । त्यो छोडेर पछि चाउचाउ, विस्कुट र पेय पदार्थको डिष्टिब्युटर्समा लगानी गरे ।

परिवारका सदस्यका विजनेश नजिकबाट देखेकाले सतिशमा पनि उद्यममा रुचि गएको हो । नेपाल फर्केपछि उनले फरक काम गर्ने योजना बनाए । त्यही क्रममा उनको विवाह भयो । विवाह भएपछि उनले केही समय ‘मेरो टिभी’को टिममा काम गरे । ‘८-९ महिना काम गरे, मन त्यहाँ धेरै अडिएन्, आफ्नै केही काम गर्नुपर्छ भनेर उधोग खोल्ने योजनामा लागे,’ उनले सुनाए । त्यसका लागि उनले कोहलपुरमा ४०-५० लाख खर्च गरेर भवन निर्माण गरे । सुरुमा सतिश पाइप, ट्यांकीलगायतका सामाग्री उत्पादन गर्ने सोच बनाएका थिए । केही पार्टनरहरु पनि जोडिएपछि ठूलो भोल्युममा मास प्रडक्टसन गर्ने योजना बन्यो ।

‘भवन बनाइसकेपछि प्लास्टिकका पाइप र टंयाकीहरु बनाउने मेसिनका लागि अनुसन्धान गर्न गयौं,’ उनी भन्छन्, ‘मास प्रडक्सनका लागि भवनमा मेसिनहरु नअट्ने भए ।’ त्यसपछि उनले त्यो ठाउँ त्यतिकै थाती राखे । उनका बुवाले कोहलपुर-९ झन्डवारमा १ विगाह जग्गा उनलाई उधोग स्थापना गर्नका लागि दिए । त्यसमा भौतिक संरचनाहरु तयार गरियो ।

उनका कान्छा भाइ डाक्टरी पढिरहेका थिए । उधोग स्थापनाका सिलसिलामा उनको भारत जाने—आउने चलिरहेको थियो । ‘भाइ पनि डाक्टरी पढिरहेको छ । कुनै नयाँ इन्जिनियरिङ गरेर मेसिनहरु बनाउनुप¥यो भन्ने लाग्यो,’ उनले भने, ‘त्यही क्रममा कोभिड—१९ आयो, अस्पतालमा वेडहरु अभाव देखियो । त्यसैलाई अवसर बनाएर उत्पादन सुरु ग¥यौं ।’ अस्पतालका सामाग्रीबाहेक अन्य कृषि र घरायसी सामाग्री उत्पादन गर्ने थप दुई कम्पनी पनि उनका त्यही छन् ।


क्याटेगोरी : मेरो स्टार्टअप



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ