२०८१ वैशाख १४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअप८ करोड लगानीमा ओखती सोलुसनः जसले नेपाली स्वास्थ्य सेवा डिजिटलाइज्ड गर्दैछ

८ करोड लगानीमा ओखती सोलुसनः जसले नेपाली स्वास्थ्य सेवा डिजिटलाइज्ड गर्दैछ

२१ जनालाई रोजगारी दिएको ओखती सोलुसनको सफ्टवेयर १६० बढी स्वास्थ्य संस्थाले चलाउँछन्


बुटवलका शरद अधिकारी पेशाले आईटी कन्सल्ट्यान्ट हुन् । पढाइका सिलसिलामा फिनल्याण्ड पुगेका उनी अहिले त्यही बस्दैं आएका छन् । उनले फिनल्याण्ड बसाइँमा त्यहाँको डिजिटलाइज्ड हेल्थकेयर सिष्टमलाई नजिकबाट बुझ्ने अवसर पाए । नेपालमा बिरामीको हेल्थ हिस्ट्री कागजसँगै हराउने, कागजनै बोकेर यत्रतत्र धाउनुपर्ने, प्रयोगशालाका रिपोर्टका लागि घण्टौ कुनुपर्ने, डाक्टर जाँच गराउन बेलामा घण्टौ कुनुपर्नेजस्ता झन्झटपूर्ण अवस्थाले उनलाई चिमोटिरहेको थियो । त्यही कारण शरद नेपालका क्लिनिक, अस्पताल र हेल्थकेयर संस्थाहरुलाई डिजिटलाइज्ड गर्ने गरी काम गर्ने आइडिया खोज्न थाले ।

करिब तीन वर्षअघि यो आइडिया आइटी सेक्टरमा लामो समयसम्म कार्यरत साथीहरु बालकृष्ण श्रेष्ठ र आशिष भट्टराईलाई सेयर गरे। साथीहरु पनि यसलाई अगाडि बढाउन सहमत भए । रात दिन नभनी कम गर्न थालियो । त्यसपछि उनीहरुको टिमले ओखती सोलुसन नामक कम्पनी स्थापना गरे | यस दौरानमा चार्टर्ड एकाउण्टेन्ट राजु काफ्ले, चिकित्सक डा. महेश अधिकारी, सफ्टवेयर इन्जिनियरद्वय विष्णु थापामगर, जनकप्रसाद कोइराला पनि थपिए । जसले फिनल्याण्डका नवीनतालाई समेट्दैं नेपाली फलेवरमा इलेक्ट्रोनिक मेडिकल रेकर्डिङ प्रणाली विकास गर्न योजना अगाडि बढाउने गरी काम सुरु ग¥यो ।

‘नेपालको स्वास्थ्यको अस्तव्यस्त अवस्था, डाक्टरलाई भेट्न जाँदा घण्टौ कुर्नुपर्ने बाध्यता छ,’ ओखती सोलुसनका संस्थापक शरद भन्छन्, ‘तर, हामीले यो असुविधालाई हटाउन डाक्टर—बिरामीको सहज भेट र पैसा तिरिसकेपछि सुविधायुक्त उपचार होस् भनेर यसलाई समाधान गर्ने सफ्टवेयर निर्माण थाल्यौं ।’ तर, फिनल्याण्ड र नेपालको हेल्थकेयर सिस्टममा धेरै भिन्नताहरु थिए ।

ती भिन्नताहरु हल गर्नका लागि ओखती सोलुसनले जावलाखेलस्थित ‘क्लिनिक वान’सँग सहकार्य अगाडि बढायो । ‘क्लिनिक वानसँग मिलेर हामीले सफ्टवेयरमा काम गर्न सुरु ग¥र्यौं,’ शरदले हालैको एक मध्यान्ह फिनल्याण्डबाट हेल्थआवाजसँगको टेलिफोन कुराकानीमा सुनाए, ‘सुरुमा हामी रातदिन गरेर फिनल्याण्डमा सफ्टवेयरमा काम गर्ने गथ्यौं ।’ आफूले विकास गरेको सफ्टवेयरलाई उनीहरुले केसीसीएस, सेवा फाउन्डेसन र क्लिनिक वानलाई देखाउँथे । त्यहाँ काम गर्ने डाक्टर, नर्स र स्वास्थ्यकर्मीको सुझाव लिन्थे । त्यही सुझावका आधारमा सफ्टवेयरलाई समृद्ध बनाउँदैं गए । सुरुमा कम्पनीमा ३ जनाको टिमबाट काम अगाडि बढाएको थियो ।

सुझावका आधारमा विकास गरिएकाले ओखती सोलुसनले निर्माण गरेको सफ्टवेयर एकदमै प्रभावकारी बनेको उनी बताउँछन् । ‘यस्तो सफ्टवेयर बनायौं कि कुनै बच्चा बिरामी हुँदा उनको अभिभावकले अस्पतालमामा डाक्टरको टाइमका लागि अपोइन्टमेन्ट लिने र सिस्टमबाट दिशा पिसाबको रिपोर्टसमेत घरमै पुग्ने गरी डिजिटलाइजेसनको सुविधा उपलब्ध गरायौं ।’ ओखती सोलुसनले स्वास्थ्य सेवा र प्रणालीलाई डिजिटलाइज्ड गर्ने सफ्टवेयर विकास गर्नकै लागि १ वर्ष समय लगायो ।

एक वर्षमा सफ्टवेयर विकास भइसकेपछि यसको बजारीकरण प्रक्रिया सुरु भयो । ‘हामीले डेढ वर्षअघिबाट यसलाई बेच्न सुरु गर्यौं,’ शरद थप्छन्, ‘यसमा बिरामीको पहलमा हुने बुकिङ, ल्याब, फार्मेसीजस्ता कुरालाई डिजिटलाइजेसन गर्ने गर्छौं ।’ सफ्टवेयर एउटा सिंगो अस्पताललाई डिजिटलाइज गर्न सक्ने सुविधा छ । बिरामीका अपोइन्टमेन्ट, हिस्ट्री, ल्याब रिपोर्ट, फार्मेसी, एकाउण्ट, एचआरलगायतका सबै पक्षहरु समेट्न सकिने व्यवस्था छ । जसमा अस्पताल र स्वास्थ्य संस्थामा पेपरमा आधारित हुने सबै काम पूर्ण रूपमा सम्भव भएसम्म डिजिटलको माध्यमबाट गर्न सकिन्छ ।

ओखती सोलुसनको अर्को सुन्दर पक्ष के भने यसले स-साना स्वास्थ्य संस्थालाई सुलभ पैसा आवश्यक ईएमआर सफ्टवेयर उपलब्ध गराइरहेको छ । शरदकाअनुसार स-साना स्वास्थ्य संस्थालाई इम्पावर गर्ने उद्देश्यका साथ मासिक रुपमा सुलभ दरमा सफ्टवेयर चलाउन दिइने गरिएको छ । ‘कम्तिमा मासिक १५ सयदेखि बढीमा २५ हजारसम्म लिने गर्छौं,’ उनले भने ।

ओखती सोलुसनको सफ्टवेयर नेपालमा डिजिटल पीसीआर रिपोर्ट डेलिभर गर्ने बजारमा अग्रणी नै छ । डेढ वर्षको छोटो अवधिमै सात वटै प्रदेशमा १ सय ६० भन्दा बढी अस्पताल, प्रयोगशाला तथा अन्य स्वास्थ्य संस्थाले यो सफ्टवेयर प्रयोग गरिरहेका छन् । ‘पिसिआर रिपोर्ट अनलाइनमार्फत पठाउनेमा हाम्रो सफ्टवेयर बढी प्रयोग भइरहेको छ, ४० वटा जति डेन्टल क्लिनिक हाम्रा ग्राहक छन्,’ उनले भने, ‘दूरदराजको बैतडी अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानदेखि टेकु अस्पतालसम्मका सरकारी स्वास्थ्य संस्थामा पनि हाम्रो सफ्टवेयर छ ।’ ग्रिनसिटी अस्पताल पिसिआर ल्याबलगायतका निजी क्षेत्रका केही ठूला अस्पतालहरुमा पनि यो सफ्टवेयर प्रयोग भइरहेको छ । २० वटाजति ठूला अस्पतालहरुले नै आफूहरुले बनाएको सफ्टवेयर प्रयोग गरिरहेको शरद बताउँछन् ।

सफ्टवेयर विकासमा मात्रै ओखती सोलुसनले झण्डै ८ करोड रुपैयाँ लगानी गरेको छ । ओखती सोलुसनले क्लिनिक म्यानेजमेण्ट सिष्टम, ल्याब म्यानेजमेण्ट सिष्टम, फार्मेसी म्यानेजमेण्ट सिष्टम साथै हस्पिटल म्यानेजमेण्ट सिष्टम डेभलप गरिसकेको छ । टेकुस्थित नेपालमा अवस्थित ओखती सोलुसनमा अहिले १४ जना कर्मचारी कार्यरत छन् । विदेशमा समेत गरी २१ जना कर्मचारीले काम गरिरहेका छन् । उनकाअनुसार सफ्टवेयरमा फिनल्याण्डकै हुबहुभन्दा पनि त्यहाँका राम्रा कुरालाई नेपाली मौलिकता ढालेर बनाइएको छ ।

अब चाडै ओखती सोलुसनले सबै हस्पिटल र क्लिनिकमा डाक्टर तथा ल्याबको लागि समय बुक गर्न्ने एप्प लन्च गर्दैछ । यसले सबै आम मानिसलाई एउटै एप्पबाट जुनै हस्पिटल अनि क्लिनिकका डाक्टरको समय बुक गर्नु र ल्याब टेस्ट साथै अनन्य प्याकेज किन्न सजिलो बनाउनेछ। नेपालको स्वास्थ्य सेवाका क्षेत्रमा सकारात्मक प्रभाव पार्ने हिसाबले काम गरिरहेको शरद बताउँछन् । ‘हाम्रो इलेक्ट्रोनिक मेडिकल रेकर्डिङ प्रणालीले स्वास्थ्य सेवा अभ्यासहरू परिवर्तन गर्न सक्ने उत्तम र नवीनतम प्रविधि प्रदान गर्दछ,’ उनले सुनाए, ‘हामी नेपालको स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पार्ने गरी काम गर्छौ ।’

 


क्याटेगोरी : मेरो स्टार्टअप



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ