२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठमेरो स्टार्टअप६०० बढीलाई सन्तान सुख दिएकी डा. अनुपमाले ल्याइन् ‘नेपाल आईभीएफ’

६०० बढीलाई सन्तान सुख दिएकी डा. अनुपमाले ल्याइन् ‘नेपाल आईभीएफ’


प्रजनन स्वास्थ्यमा डा. अनुपमा सुवाल गुरुङले काम गर्न थालेको ८ वर्ष भइसकेको छ । यो अवधिमा उनले हजारौं निःसन्तान समस्या भएका बिरामीको उपचार गरिन् । जसमध्ये ६ सय बढी दम्पत्तिले सन्तान सुख प्राप्त गरेको उनी बताउँछिन् । प्रजनन विज्ञका रुपमा उनले ग्रान्डी सिटी अस्पतालमा केही समयबिताइन् । भेनस अस्पतालमा आईभीएफ विज्ञको रुपमा लामो समय काम गरिन् ।

यही बीचमा डा. अनुपमाले बिरामीलाई अत्याधुनिक प्रविधी र उत्कृष्ट वातावरणमा सेवा दिने योजना बनाइन् । त्यही योजनालाई पूरा गर्न उनले हालै आफ्नै सेन्टर सञ्चालनमा ल्याएकी छन् ।

बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालको नयाँ भवनमा ‘नेपाल आईभीएफ सेन्टर’ अनौपचारिक रुपमा एक साउनबाट सञ्चालनमा आएको छ । ‘इसान अस्पतालले बाल र महिलाको मात्र नभएर सबै खालका सेवा दिने हिसाबले नयाँ भवन बनाउने कन्सेप्ट ल्यायो,’ डा. अनुपमाले भनिन्, ‘त्यही कारण यही आईभिएफ सेन्टर खोलेकी हुँ ।’ साउन महिनाभर सेन्टरले निःशुल्क ओपीडी र अल्ट्रासाउण्डको सुविधा बिरामीलाई दिनेछ ।

नेपाल आईभीएफको मुख्य उद्देश्य भनेको कम खर्चमा निःसन्तानको समस्या भोगिरहेका दम्पत्तिहरुलाई सेवा दिनु हो । ‘विश्वस्तरीय सेवा कम शुल्कमै दिने हाम्रो योजना छ,’ आईभीएफकी प्रमुख समेत रहेकी डा. अनुपमा भन्छिन्, ‘महगो शुल्कका कारण उपचारबाट वञ्चित नहुन भन्ने सोच हाम्रो छ । सबैभन्दा सस्तो शुल्कका रुपमा सेन्टरले १ लाख ९९ हजारमा आईभीएफ सेवा बिरामीलाई दिने बताइन् । यसले विपन्न वर्गका र उपचारमा लाखौं खर्च गरेर पनि राहत नपाएकाहरुलाई सहयोग पुग्ने विश्वास उनको छ । अन्य ठाउँमा आईभीएफ गर्दा झण्डै तीनदेखि साढे तीन लाख रुपैयाँसम्म खर्च गर्नुपर्छ ।

सुरुवाती लगानी नै झण्डै ढाइ करोड रहेको नेपाल आईभीएफमा निः सन्तान सम्बन्धि सबै आवश्यक अत्याधुनिक उपकरणहरु छन् । उपचारका हिसाबले पनि प्रजनन र निःसन्तानसँग सम्बन्धि सम्पूर्ण सेवाहरु सेन्टरमा उपलब्ध रहेको डा. अनुपमा बताउँछिन् । त्यसका लागि अहिले नेपाल आईभीएफमा १५ जनाको टिम सक्रिय छ ।

डा. ज्योति अग्रवाल

सेन्टरकी प्रजनन विशेषज्ञ डा. ज्योति अग्रवाल सेन्टरले न्यूनतम शुल्कमा आईभीएफ सेवा दिनुका साथै इशान अस्पतालमै आएका बिरामीहरुमा इनफर्लिटीको समस्या देखिएमा पनि सेन्टरमा उपचार गर्न सहज हुने बताउँछिन् । भुवनेश्वरमा इनफर्टिलिटी फेलोसीप गरेर आएकी उनी ढिलो विवाह, फ्यामिली प्लानिङ ढिलो गर्नुजस्ता कारणले निःसन्तानको समस्या देखिइरहेको बताउँछिन् । ‘निःसन्तानको समस्या अहिले कमन समस्याका रुपमा देखिइरहेको छ,’ उनले भनिन्, ‘अहिले महिला पनि करिअर ओरेन्टेड भएकाले लेट विवाह हुन थाल्यो । जति उमेर बढ्दै गयो त्यति प्रजनन क्षमता कम हुन्छ ।’

को हुन् डा. अनुपमा ?

डा. अनुपमाको जन्म काठमाडौंको ठमेलमा वि.सं. २०३७ सालमा भएको हो । उनको प्रारम्भिक शिक्षा स्थानीय स्कुलबाट भएको हो । त्यसपछि उनी थप शिक्षाका लागि सिद्धार्थ वनस्थली स्कुल गइन् । बाल्यकालमा आम बालबालिकाजस्तै उनको रुचि खेल्ने, कुद्ने, घुम्ने हुन्थ्यो । तर, उनी बढी पढाइमा नै केन्द्रित हुन्थिन् । सानैदेखि पढाइमा अब्बल भएकाले उनलाई घरपरिवारका सबैले डाक्टरी पढ्न प्रेरित गर्दै गए ।

सिद्धार्थ वनस्थलीबाट डा. अनुपमाले एसएलसी उत्तीर्ण गरिन् । त्यसपछि थप उच्च शिक्षाका लागि उनी क्याम्पेन एकेडेमीमा प्लस टु पढ्न थालिन् । क्याम्पेनबाट उनले कलेज टप गरेपछि छात्रवृत्तिमै प्लस टु सकिन् । ‘म अलि पढ्ने विद्यार्थी थिए । मैले छात्रवृतिमै पढेको हो,’ उनले सुनाइन् ।

विज्ञानमा प्लस टु सकेपछि उनी डाक्टरीको तयारीमा लागिन् । इन्ट्रान्समा नाम निस्किएपछि उनी एमबीबीएस पढ्नका लागि सिनामंगलस्थित काठमाडौंं मेडिकल कलेज गइन् । त्यहाँबाट एमबीबीएस सकेपछि उनले १ वर्ष काठमाडौं मोडल अस्पतालमा मेडिकल अधिकृतका रुपमा बिरामीको सेवा गरिन् ।

त्यसपछि डा. अनुपमा विशेषज्ञता हासिल गर्नका लागि कलेज अफ मेडिकल साइन्सेज भरतपुर गइन् । त्यहाँबाट स्त्री तथा प्रसुती रोगमा  पिजी गरिन् । त्यो अवधिमा उनले सयौं शल्यक्रियामा सहभागी हुने र गर्ने अवसर पाइन् ।

भरतपुरपछि लेक्चरर तथा विशेषज्ञ चिकित्सकका रुपमा काठमाडौं मेडिकल कलेज सिनामंगलमा केही समय काम गरिन् । त्यसपछि उनी जोरपाटीस्थित नेपाल मेडिकल कलेजमा ज्वाइन गरिन् । नेपाल मेडिकल कलेजमा लेक्चररका रुपमा एमबीबीएस र एमडीका विद्यार्थीलाई ५ वर्ष अध्यापन गराइन् ।

नेपाल मेडिकल कलेजमा काम गर्दा त्यहाँ एउटा इनफर्टिलिटीमा काम गर्ने युनिट बनाइएको थियो । ‘बेसिक इनफर्टिलिटीको काम गर्ने भनेर छुट्याइएको हाम्रो युनिटमा रहेका सिनियर डाक्टरबाट हौसला पाए ।,’ डा. अनुपमा भन्छिन् । अन्य अस्पतालमा पनि प्रजनन सम्बन्धि काम देखेपछि यसमा रुचि जाग्यो । अर्कोतर्फ स्त्री तथा प्रसुति रोग विशेषज्ञका रुपमा लामो समय काम गरिन् । सधैँ त्यही काम, गर्भवतीको काम, सेतो पानी बग्ने समस्या, पाठेघरको शल्यक्रिया, सिस्टको उपचार गर्दैमा समय जान थाल्यो । त्यसपछि उनलाई लाग्न थाल्यो—केही नयाँ र फरक गरौं । अर्कोतर्फ नेपाल मेडिकल कलेजमा काम गर्दा उनी आफ्नो स्तरवृत्तिप्रति पनि खासै सन्तुष्ट बन्न सकेकी थिइनन् ।

यी सबै कारणले डा. अनुपमाको रुचि क्रमसः प्रजनन तथा निःसन्तान क्षेत्रमा गयो । त्यसका लागि उनी फेलोसीप गर्न भारत गइन् । उनले इनफर्टिलिटीमा भारतबाट गरेर फर्किइन् । फेलोसीप सकेर आएपछि उनले आईभीएफ विशेषज्ञको रुपमा ग्राण्डी सिटी अस्पतालमा केही समय काम गरिन् । त्यसपछि उनी भेनस अस्पतालको आईभिएफमा लामो समय बिताइन् । ‘यो अवधिमा मैले हजारौं निःसन्तानहरुको उपचार गरे,’ उनले भनिन्, ‘त्यो मध्ये ६ सय बढीले त सन्तान सुख पाए ।’

भेनसमै काम गरिरहेका बेला उनी बसुन्धरास्थित इशान बाल तथा महिला अस्पतालमा स्त्री तथा प्रसुति रोग विशेषज्ञका रुपमा काम गर्न थालिन् । त्यहाँ काम गर्न थालेको १ वर्ष पुगेकै थियो । त्यही बेला इशान अस्पताल आफ्नो नयाँ भवनबाट सेवा दिन थाल्यो । त्यही नयाँ भवनमा आईभीएफ सेन्टर स्थापना गर्ने योजना पनि अस्पतालले बनाइरहेको थियो । त्यही योजनालाई मूर्त रुप दिन सक्रिय भइन्, डा. अनुपमा । त्यसैको परिणाम हो—नेपाल आईभीएफ सेन्टर ।

नेपाल आईभीएफ सेन्टर नेतृत्व लिएसँगै उनी जागिरको कन्फर्ट जोनबाट व्यवसायी पनि भएकी छन् । यो जोखिम लिन डा. अनुपमालाई के कुराले प्रेरित ग¥यो ? ‘मलाई यो जोखिम लिन डर त लागेको थियो,’ उनले भनिन्, ‘तर, रिस्क लिएपछि नै सफलता प्राप्त गर्न सकिन्छ । परिवारको सपोर्टले मैले जोखिम लिएकी हुँ ।’ यसमा उनलाई उनका विजनेशम्यान श्रीमान सुरज गुरुङले कार्यकारी निर्देशकका रुपमा सघाइरहेका छन् ।


क्याटेगोरी : मेरो स्टार्टअप
ट्याग : #इशान बाल तथा महिला अस्पताल, #काठमाडौ मेडिकल कलेज, #डा. अनुपमा सुवाल गुरुङ, #डा. ज्योति अग्रवाल, #नेपाल आईभीएफ सेन्टर, #नेपाल मेडिकल कलेज


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ